
पछिल्ला केही वर्षदेखि आर्टिफिसियल इन्टिलिजेन्स(एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताबारे अनेकौँ चर्चा, प्रचार–प्रसार तथा दृष्टिकोण आइरहेका छन् । अहिले एआईको मानव समाजमा कैयौँ प्रभावबारे गरमागरम बहस चलिरहेको छ ।
कृत्रिम बुद्धिमत्तालाई कतिपयले ‘मानव जातिको भविष्यमाथि खतरा’, ‘मानिसमाथि मेसिनको विजय’, ‘करोडौँ श्रमजीवीको रोजगारी कटौती गर्ने आविष्कार’का रूपमा चित्रित गरेका छन् । तर, अर्को समूह पनि छ, जसले यसलाई ‘पूर्ण–स्वचालीकरणको युग प्रारम्भ’, ‘मानवको सहयोगी’का रूपमा व्याख्या गरिरहेका छन् । आखिर कुन दृष्टिकोण सत्य हो त ? कृत्रिम बुद्धिमत्ता र यसको पछिल्लो विकासलाई कसरी बुझ्ने ? यी प्रश्नहरूको सही उत्तर खोज्नु आवश्यक छ ।
के हो कृत्रिम बुद्धिमत्ता ? : व्यापक अर्थमा, कृत्रिम बुद्धिमत्ता यस्तो प्रविधि हो, जसले पूर्वनिर्धारित निर्देशअनुसार सूचनाको विशाल भण्डारदेखि ढाँचाको पहिचान तथा स्वयंलाई परिष्कृत गर्दै र परिस्थितिको विश्लेषण गरी निर्देशित सीमाभित्र एक हदसम्म स्वचालित रूपमा विशेष काम गर्ने, निर्णय लिने र उत्तर तथा सुझाव दिने गर्छ । यसले मुख्यत: हरेकपटकको मानवीय अन्तरक्रिया र नयाँ–नयाँ सूचना र नयाँ ढाँचालाई आधार बनाउँदै आफूलाई लगातार निश्चित परिधिभित्र निरन्तर परिष्कृत गर्ने गर्छ ।
यसको विकासक्रम आधुनिक कम्प्युटर, अर्थात् विद्युतीय कम्प्युटरको उभारसँगै, अर्थात् सन् १९५० को दशकदेखि प्रारम्भ हुन्छ । सन् ६० को दशकदेखि यसले गति लिएको देखिन्छ । एआईले आफ्नो विकासक्रममा अनेकौँ चरण, उपचरणहरू पार गरिसकेको छ, जुन क्रममा यो आधुनिक डिजिटल सूचनाको विशाल भण्डारबाट समृद्ध हुँदै ‘जेनरेटिभ एआई’सम्म विकास भएको छ । यसको यो विकासक्रम जारी छ । सूचना यसको ऊर्जा हो र जति–जति सूचना मानव जातिले उत्पादन र भण्डार गर्दै जान्छ, त्यति नै यसको विकासको सम्भावना रहन्छ ।
केही मानिस र साइन्स फिक्सन फिल्म तथा उपन्यासहरूले दाबी गरेझैँ कृत्रिम बुद्धिमत्ताले ‘मान्छेलाई विस्थापित’ नै गर्छ त ? निश्चय नै यसले उत्पादनका विभिन्न क्षेत्रका कामलाई स्वचालित बनाउने भएकाले सो क्षेत्रका कामदार तथा मजदुर विस्थापित हुनेछन् । यसअघि आधुनिक मेसिनको आविष्कारले पनि ठुलो संख्यामा मजदुरलाई बेरोजगार बनाएको थियो । क्यालकुलेटरको आविष्कार र आमप्रयोगले गणितको अन्त्य गरेन । बरु उल्टो गणितको थप विकास भयो । क्यालकुलेटरले मानिसलाई अंकगणितका जोड, घटाउ, गुणन र भागका दोहोरिइरहने समस्यादेखि मुक्त गर्यो र गणितका नयाँ शाखाहरूको अभ्युदय गर्न सहयोग गर्यो ।
त्यस्तै, सूक्ष्मदर्शकयन्त्र र दूरदर्शकयन्त्रदेखि चस्मासम्मले मान्छेको आँखालाई विस्थापित गरेनन् । बरु यी यन्त्रले सीमित मानवीय दृष्टिलाई साना कणदेखि बृहत् आकाशीय पिण्डसम्म देख्न सक्ने गरी विस्तार गरे । यसको उपयोग गरेर मान्छेले विभिन्न सूक्ष्म जीवदेखि सुदूर अन्तरिक्षसम्मका पिण्डबारे आफ्नो बुझाइलाई विस्तार गर्न सक्यो । विज्ञानमा कैयौँ नयाँ शाखा थपिए । पुराना शाखा समृद्ध बने । यहाँ यी उदाहरण दिनुको अर्थ कृत्रिम बुद्धिमत्ता क्यालकुलेटर, माइक्रोस्कोप, टेलिस्कोपसँग ठ्याक्कै समान छ भन्नु होइन । यसको अर्थ प्रविधिको विकास, नयाँ औजारको प्रयोग र यसले मानव जातिमा पार्ने प्रभावबारे सामान्य आगमन गर्नु अर्थात् समरूपका रूपमा बुझ्नु हो ।
मान्छेको श्रमशक्ति सीमित छ । यस सीमिततालाई हल गर्न मान्छेले विभिन्न प्रविधिको विकास गर्छ र प्रविधिको प्रयोगमार्फत विभिन्न औजार बनाउँछ । ऐतिहासिक दृष्टिकोणले औजार मान्छेको क्षमताको विस्तार हो । यसले मानवीय क्षमतालाई सबल बनाउँछ । विस्तार गर्छ । यो प्रक्रिया उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासको निश्चित स्थितिमा निर्भर गर्छ । यसले सामाजिक प्रणालीअनुसार परस्परविरोधी परिणाम दिने गर्छ । कृत्रिम बुद्धिमत्तालाई पनि यही वैज्ञानिक दृष्टिकोणअनुसार बुझ्नुपर्छ ।
कृत्रिम बुद्धिमत्तालाई लिएर प्रस्तुत गरिएका, प्रचारप्रसार गरिएका भ्रमात्मक दृष्टिकोणको स्रोत पुँजीवादी सामाजिक अस्तित्व हो । जसरी पलिहेको आविष्कार, आधुनिक यन्त्र र विज्ञानका आधुनिक फलको वास्तविक र पूर्ण उपभोग आमजनताले प्रयोग गर्न पाइरहेका छैनन् । त्यस्तै खतरा कृत्रिम बौद्धिकतामा पनि देखिने अवस्था आउँदै छ । त्यसैले एआईले निम्त्याउने खतरा एआई आफैँले ल्याउनेभन्दा पनि यसकोे स्वामित्व पुँजीपति वर्गको हातमा भएको कारणले भएको हुने हो । एआई मानव जातिको शत्रु हुने वा शासक बन्ने इच्छा राखेर समस्या आउने कुरामा त्यति सत्यता देखिँदैन ।
पुँजीवादी व्यवस्थाले स्वस्फूर्त रूपमा निर्माण गर्ने पुँजीवादी चेतनाले सूचना–प्राविधिको क्षेत्रमा क्रियाशील लगभग सबै प्राविधिक–इन्जिनियरलाई लपेटेको हुन्छ । मिथ्या चेतना जन्माउने पुँजीवादी ‘चेतना’ले वस्तुको विकासलाई विज्ञान तथा प्रविधि र समाजको सम्बन्धलाई, नयाँ प्रविधिको विकास र समाजको सम्बन्धबारे, अझै सरल रूपमा भन्दा विकासका आधारभूत नियमबारे सही समझ राख्न दिँदैन । त्यसैले, आफैँमा मानवीय मस्तिष्कको अपार क्षमताबाट जन्मिएको प्रविधि अभ्युदय र विकासलाई रहस्यमय रूपमा बुझ्ने र व्याख्या गरिरहेका छन् । पुँजीवादी चेतनाले विकासको सार्वभौम नियम नबुझ्ने भएकाले फरक चरित्रको विकासलाई खतराका रूपमा प्रस्तुत गर्छ ।
प्राविधिक फड्को र सामाजिक व्यवस्था : एआई एक क्रान्तिकारी सम्भावना भएको प्रविधि हो भन्नेमा कुनै द्विविधा हुनुहुँदैन । यो मानव जातिको लाखौँ वर्षको श्रमको एक ठोस अभिव्यक्ति हो । मानवजातिले हालसम्म सिर्जना गरेको सूचनाबाट पोषित हुने एआईले मानिसको निर्देशनको निश्चित सीमाभित्र रहेर केही हदसम्म आफैँले ‘निर्णय’ वा ‘काम’ गरेजस्तो गर्छ । यसले सामाजिक उत्पादनलाई विशाल मात्रामा बढाउने र मानव जातिको बृहत्तर हित गर्ने सम्भावना राखेको छ । तर, के यो समग्र मानव जातिको हितमा उपभोग हुन सक्छ ? यस प्रश्नको उत्तर भावनामा होइन, विद्यमान सामाजिक व्यवस्थामा खोजिनुपर्छ ।
सामान्यत: प्रविधि वर्गीय हुँदैन । तर, वर्गीय समाजमा यसको वर्गीय पक्ष हुन्छ । एउटै प्रविधिले पनि परस्परविरोधी सामाजिक व्यवस्थामा परस्परविरोधी भूमिका निर्वाह गर्छ । प्रविधिले तय गर्ने भूमिका यसको स्वामित्व कुन वर्गसँग छ भन्ने कुरामा निर्भर रहन्छ । अहिलेको सामाजिक व्यवस्था पुँजीवादी व्यवस्था हो । यसमा उत्पादनका गतिविधिको उद्देश्य मानवीय आवश्यकता पूर्ति होइन, मुनाफा आर्जन हो । पुँजीवादी व्यवस्थाले हरेक नयाँ प्रविधिलाई आफ्नो मुनाफाको दर बढाउन उपभोगमा ल्याउने गर्छ ।
ब्रिटिस रसायनशास्त्री विलियम राम्सेले विकास गरेको कोइला खानीबाट ग्यास निकाल्ने विधिको खोजको प्रशंसा गर्दै लेनिनले यस खोजले ‘उद्योगमा एक ठुलो क्रान्ति ल्याउने’ बताएका थिए । नयाँ आविष्कारले उत्पादनमा ल्याउने क्रान्तिको उपभोग भने व्यवस्थाअनुसार फरक पर्छ । जस्तो, पुँजीवादी व्यवस्थामा कोइला उत्खननमा स्वचालित प्रविधि भित्रिँदा त्यहाँ पहिलेदेखि काम गर्ने लाखौँ खानी मजदुरहरू बेरोजगार हुनेछन् । गरिबीमा ठुलो मात्रामा वृद्धि हुनेछ । मजदुर कामविहीन हुँदा नयाँ आविष्कारबाट मोर्गन, रोकफेलर, र्याबुसिन्स्की, मोरोझोभजस्ता व्यवसायी भने धनाढ्य भएको इतिहास छ । तर, समाजवादअन्तर्गत उही र्याम्सेको प्रविधिबाट लाखौँ खानी मजदुर कठोर श्रमबाट ‘मुक्त’ हुन्छन् । श्रमिकहरू कामबाट निकालिने भन्दा तिनको काम गर्ने समय घटाएर आठ घण्टाबाट सात घण्टा वा अझै कम बनाउने सम्भावना सिर्जना हुनेछ । त्यस्तै, कारखाना र रेलमार्गको ‘विद्युतीकरण’ले कामले वातावरणलाई सफा र स्वास्थ्यकर बनाउनेछ । लाखौँ मजदुरलाई धुवाँ, धुलो र फोहोरबाट मुक्ति दिनेछ । फोहोर तथा घृणित कार्यशाला सफा, उज्यालो स्वस्थकर क्षेत्रमा रूपान्तरण हुने प्रक्रियालाई तीव्र बनाउनेछ । पुँजीवादी व्यवस्थामा हरेक नयाँ प्रविधिले मजदुरलाई बेरोजगार बनाउने वा उसको काम गर्ने वातावरणलाई थप जटिल बनाउने गर्छ ।
कृत्रिम बुद्धिमत्ताको सन्दर्भमा पनि पुँजीवादी र समाजवादी व्यवस्थामा जस्तो कोइला उद्योगमा स्वचालन प्रवेश हुँदाको भिन्नता देखिन सक्छ । अहिले मानिसले घन्टौँसम्म काम गर्नुपर्ने क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले मानिसलाई सहायता गर्न सक्छ । सामाजिक उत्पादनको उत्पादकत्वलाई ठुलो मात्रामा बढाउन सहयोग गर्छ । तर, यसको परिणाम पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थामा परस्परविरोधी हुनेछ । कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै जाँदा करोडौँ मजदुरलाई बेरोजगार हुनेछन् भन्ने डर यसैको उपज हो । समयकालमा पुँजीवादी ज्यालादारी दासत्व थप सुदृढ बन्ने माध्यम बन्नेछ, एआई । मजदुरमाथि मालिकको निगरानी हदैसम्म बढाउनेछ । तर, समाजवादी व्यवस्थामा यसको ठिक उल्टो हरेक नयाँ प्रविधिले मजदुरलाई श्रमभार घटाउने र कार्यस्थल अनुभव सहज बनाउनेछ । आवश्यक सामाजिक श्रमको मात्रा घटाएर मानिसलाई कला, साहित्य र विज्ञानलगायत आफ्ना रुचिका क्षेत्रमा लाग्न समय प्रदान गर्नेछ ।
एआई सत्तारुढ पुँजीपति वर्गको हातमा पर्दा त्यो आममानिसमाथिको शोषण बढाउन प्रयोग हुने जोखिम छ । यसको पछिल्लो उदाहरण इजरायलमा देखिसकेको छ । इजरायले जारी गाजा युद्धमा कृत्रिम बुद्धिमत्तालाई व्यापक प्रयोगमा ल्याएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । अमेरिका एवं पश्चिमा देशको सक्रिय सहयोग र समर्थनमा इजरायलले आमप्यालेस्टाइनीको निगरानी र नरसंहारका लागि एआईलाई उपभोगमा ल्याएको छ । यसको मुख्य निसाना बालबालिका, महिला र वृद्धवृद्धा परेका छन् ।
कृत्रिम बुद्धिमत्ता या कृत्रिम अज्ञानता ? : कृत्रिम बुद्धिमत्ताले संकलित सूचनाको विशाल भण्डारभित्र निश्चित ढाँचा पहिचान गरेर त्यही सीमाभित्र रही मानिसले खोजेको परिणाम दिने गर्छ । अर्थात्, मानवले सिर्जना गरेको सूचनामा त्यो निर्भर रहन्छ, जुन विनाकृत्रिम बुद्धिमत्ताले आफैँले केही गर्न सक्दैन । माथि नै भनियो, एआईले काम र निर्णय गर्न प्रयोग गर्ने सूचनाको विशाल भण्डारको स्रोत मानिस नै हो ।
आज हामी पुँजीवादी समाजमा बाँचिरहेका छौँ । पुँजीवादले आफ्नो सम्पूर्ण प्रगतिशील दृष्टिकोण गुमाइसकेको छ । यसले आफ्नो आयु लम्ब्याउन हरसम्भव प्रयत्न गर्दै छ । यसले पुँजीवादी व्यवस्थालाई जीवित राख्न आवश्यक श्रमजीवी उत्पादन गर्न एकातर्फ शिक्षा र विश्वविद्यालय ज्ञान त प्रदान गर्छ, तर अर्कोतर्फ आममानिसको चेतनालाई बन्ध्याकरण गर्न पुँजीवादी प्रोपोगन्डा, विज्ञापन र भ्रममा ठुलो लगानी गर्दै आएको छ । यस लगानीले पुँजीवादी समाजमा मिथ्या चेतनाको बोलवाला सिर्जना गरिएको छ । सम्भवत: यसैले गर्दा मानवीय सूचनाको विशाल भण्डार पनि स्वभावत: मिथ्या चेतनाले नै भरिएको छ, जुन कृत्रिम बुद्धिमत्ताको विकाससँगै निरन्तर बढ्दै गइरहेको छ । परिणामस्वरूप, कृत्रिम बुद्धिमत्ताले पुँजीवादी सामाजिक अस्तित्वले जन्माउने मिथ्या चेतनालाई लगातार पुन: उत्पादन गर्दै ‘कृत्रिम अज्ञानता’को सिर्जना गरिरहेको छ ।
यसले सत्य र झुटको सीमारेखालाई धुमिल्याउँदै छ, मानव जातिले अहिलेसम्म सिर्जना गरेको समृद्ध ज्ञान परम्परालाई भत्काउन खोजिरहेको छ । यस सामाजिक महामारीका कारण कृत्रिम बुद्धिमत्ता नभई पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थालाई आफ्नो लुटको स्वर्गको रक्षा गर्नुछ भने आमजनतालाई आफूमाथि पुँजीपतिबाट भइरहेको शोषणलाई बुझ्न दिन रोक्नुपर्छ । यो वर्गसंघर्षको इतिहासमा कुनै नयाँ कुरा होइन । तर, कृत्रिम बुद्धिमत्ताले यसलाई हजारौँ गुणा सहज र प्रभावकारी बनाइदिएको छ ।
यसरी कृत्रिम बुद्धिमत्ता पुँजीवादी व्यवस्थामा श्रमजीवी जनता र मानव जातिको बृहत्तर हितविरुद्ध केही मुठीभर धनाढ्यको उपयोगी साधन बन्दै छ । यसकारण, कृत्रिम बुद्धिमत्ताजस्ता नयाँ प्रविधिको गुणात्मक विकास र यसलाई मानव जातिको बृहत्तर हितमा लगाउने कुराको बाधक पुँजीवादी व्यवस्था हो भनेर बुझ्न ढिलो गर्नुहुँदैन ।