मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण २९ बिहीबार १३:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका सञ्चालक आन्दोलित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १३:४६:oo

सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनविरुद्धमा निजी विद्यालयका सञ्चालक आन्दोलित भएका छन् । संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरिएका केही बुँदाहरूमा असहमति जनाएर निजी विद्यालयका सञ्चालकहरू आन्दोलित भएका हुन् । कञ्चनपुरसहित देशभर निजी विद्यालयहरूका साझा संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा आन्दोलन थालेको जनाएका छन् । विधेयकमा निजी विद्यालय क्रमशः गैरनाफामूलक बनाइनेछ । पूर्ण छात्रवृत्ति राखेपछि प्याब्सन र एन प्याब्सनले उक्त मुद्दा खारेजीको माग अघि सारेर देशभर आन्दोलनमा उत्रिएको जनाएको छ । 

देशभर आन्दोलनका कार्यक्रमअन्तर्गत कञ्चनपुुरमा पनि पहिलो दिन स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले केन्द्रीय कार्यक्रमअनुरूप कञ्चनपुरका नौवटै पालिकामा संयुक्त रूपमा पालिका प्रमुख र शिक्षा शाखा प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको बताए । ‘अहिले हामीले प्याब्सन र एन प्याब्सन दुवै समितिमार्फत पालिका तहमा ज्ञापनपत्र बुझाएका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि निरन्तर आन्दोलन गर्छौँ, विद्यालय बन्द नै गरेर आन्दोलन गर्नुपर्ने बाध्यता नआओस् भन्ने हाम्रो चाहना छ ।’ एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येशबहादुर चन्दले निजी विद्यालयमाथि राज्यले अन्याय गरेपछि विगतका वर्षहरू जस्तै यस वर्ष पनि आन्दोलनमा उत्रिएको बताए । 

प्याब्सन भीमदत्त नगरका अध्यक्ष उपेन्द्रप्रसाद जोशीले विधेयकमा समावेश गरिएका बुँदा नहटाउन्जेलसम्म आन्दोलन जारी राख्ने बताए। उनका अनुसार निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने, हाल अभ्यासमा रहेको कुल विद्यार्थी संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने, छात्रवृत्तिअन्तर्गत भर्ना, शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने बताए ।

एन प्याब्सन भीमदत्त नगरका अध्यक्ष दिजराज भट्टले शैक्षिक गुणस्तर प्रदान  गर्दै आएका निजी विद्यालयमाथि सरकारबाट अन्याय भएको हुँदा बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । प्याब्सन नेपालका केन्द्रीय सदस्य अम्मराज भट्टले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनुपर्ने जोड दिनुपर्ने बताए । उक्त समयसीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापनपत्र बुझाउने, अन्तर्क्रिया र छलफलबाट निकास ननिस्किए विद्यालय बन्दसम्म गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।