
चुरे र महाभारत पर्वतको बिचभागमा निर्माण भएर सञ्चालनमा आएयता मदन भण्डारी लोकमार्गको उदयपुर खण्डको अर्थतन्त्रमा उभार आएको छ । लोकमार्ग सञ्चालनमा आएयता बाँसको खुट्टीमा टिनको छानो राखेर व्यापार गर्नेदेखि सुविधासम्पन्न होटेल सञ्चालन गर्नेको कारोबार बढेको छ भने विगतका साना बजारलाई सहरीकरणले छोपिसकेको छ ।
पूर्वबाट काठमाडौं जाने यात्रुवाहक तथा निजी सवारीसाधन बर्दीबास हुँदै घुमाउरो बाटो जानुको सट्टा उदयपुरबाट सिन्धुलीको भिमान निस्कने छोटो बाटो प्रयोग गर्ने गरेका छन् । काठमाडौंबाट पनि बिपी राजमार्ग हुँदै पूर्व जाने सवारीसाधन भिमान–उदयपुर–चतरा हुँदै इटहरी निस्कने गरेका छन् । जसकारण यात्रुको खाना–खाजा खाने स्थलको रोजाइमा उदयपुरको कटारी, नेपालटार, गाईघाट, बेल्टार, बसाहा, रामपुरलगायतका क्षेत्रका होटेल–रेस्टुरेन्ट पर्ने गरेका छन् ।
यी क्षेत्रमा मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएयता होटेल–रेस्टुरेन्टको संख्या पनि ठुलो अन्तरले बढेको छ । होटेल तथा पर्यटन व्यवसायी संघ, उदयपुरका महासचिव ईश्वर राईले लोकमार्ग सञ्चालनमा आएयता आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको बताए । तर, उदयपुरमा एक रात बस्ने गरी पर्यटकको बसाइ लम्ब्याउन भने अझै पनि नसकिएको उनको भनाइ छ । ‘दुई वर्षअघि लोकमार्गमा खाने र बस्ने सुविधाको होटेल सीमित ठाउँमा मात्र उपलब्ध थियो । अहिले रिसोर्ट, चिया–चौतारी र भोजनालय प्रशस्त खुलेका छन् । सवारीसाधन मर्मत केन्द्र, विद्युतीय सवारी चार्जिङ स्टेसनलगायतका अन्य सुविधा पनि धेरै खुलिसकेका छन्,’ उनले भने ।
लोकमार्गले पहाडी र तराई क्षेत्रलाई जोडेर व्यापार, पर्यटन र स्थानीय आवागमनलाई सहज बनाएको मुकुर्चीस्थित क्वालिटी होटेलका सञ्चालक रमेश कार्कीले बताए । ‘पूर्व र पश्चिमबाट आउने यात्रुको खाने र बस्ने व्यवस्था उदयपुर खण्डका होटेलमा हुने गरेको छ,’ उनले भने, ‘वर्षाको समयमा केही कमी भए पनि चाडपर्वका वेला चाप बढ्छ ।’ कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी गाउँपालिका क्षेत्रमा यो लोकमार्गले ठुलो परिवर्तन ल्याएको छ । ‘लोकमार्ग बनेपछि व्यापारमा ठुलो परिवर्तन आएको छ । पहिले बाहिरी मान्छे कम आउँथे, तर अहिले दैनिक सयौँ यात्रु आउँछन्,’ कार्कीले भने ।
उदयपुर उद्योग वाणिज्य संघ, कटारीका पूर्वउपाध्यक्ष मदन कटुवालले होटेल व्यवसायबाट प्राप्त राजस्वले स्थानीय तहको आयमा पनि ठुलो वृद्धि भएको बताए । ‘होटेलहरूले कर तिर्ने, स्थानीय उत्पादनको खपत गर्ने र रोजगारी सिर्जना गर्ने काम गरेका छन्,’ कटुवालले भने । होटेलहरूले स्थानीय कृषि उत्पादनहरू धान, मकै, कोदो, भटमास, तरकारी, फलफूल र मासुजन्य वस्तुको खपत बढाएका छन् । त्यसैले स्थानीय किसानलाई आफ्नो उत्पादन बेच्न सहज भएको गाईघाटका कृषक शिव दाहालले बताए । ‘हामीले उत्पादन गरेको तरकारी र फलफूल बिक्री गर्न टाढा बजार खोज्न जानुपर्दैन । गाउँमै होटेलवालाले किन्छन्,’ उनले भने ।
लोकमार्ग निर्माणले स्थानीय आर्थिक कारोबारमा नयाँ आयाम थपेको नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सदस्य रमन भट्टराई बताउँछन् । ‘लोकमार्ग सञ्चालनमा आएपछि होटेल व्यवसाय मात्र फस्टाएको छैन, कृषि क्षेत्र पनि व्यावसायिक बन्दै गएको छ । कृषिजन्य वस्तुले ठुला बजार पाएका छन्,’ भट्टराईले भने।
मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड हलेसी महादेव मन्दिर र सगरमाथाको प्रवेशद्वार तथा चुरे पर्वतको प्राकृतिक सौन्दर्यका लागि परिचित छ । त्यस्तै, बेलका नगरपालिकाको चतरा धाम पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । लोकमार्गको सुगम पहुँचले यी पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने पर्यटकको संख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले लोकमार्गले उदयपुरको आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याएको बताए । उनले गुणस्तर सुधारका लागि सचेत गराउन होटेल, रेस्टुरेन्ट, र विभिन्न फर्महरूमा निरन्तर अनुगमन भइरहेको बताए । ‘होटेलमा गुणस्तर कायम गर्न र करको दायरामा ल्याउन कटारीदेखि चतरासम्म अनुगमन भइरहेको छ । नयाँ व्यवसायलाई स्थानीय पालिका र करदाता सेवा कार्यालयमार्फत पनि अनुगमन भइरहेको छ,’ प्रजिअ लुइँटेलले भने ।
स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरेले मदन भण्डारी लोकमार्गले उदयपुरको यातायातमा मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा विकास गरेको बताए । उनले भने, ‘पश्चिम उदयपुरदेखि पूर्व उदयपुरसम्म पक्की सडक जोड्न सकस थियो । यो लोकमार्गले सहजै जोडिदिएको छ । यो सडक उदयपुरको आर्थिक विकासको मेरुदण्ड बनेको छ,’ उनले भने । पहाडी क्षेत्रबाट बसाइँसराइ गरेर आउने क्रम बढेकाले गाईघाट, कटारी, बेल्टारलगायतका क्षेत्रमा निजी विद्यालय र कलेजको संख्या पनि थपिएको छ ।