
सर्लाही र नवलपुरमा भएका सवारी दुर्घटनामा चारजनाले ज्यान गुमाएका छन् । आइतबार सर्लाहीमा दुई र नवलपुरमा दुई गरी चारजनाले ज्यान गुमाएका हुन् ।
आइतबार बरहथवा र हरिवनमा छुट्टाछुट्टै घटनामा परेर दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार बरहथवा नगरपालिका– १६ मा लखन्देही खोलाले बगाएर कविलासी नगरपालिका– १, पिपरियाका ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । त्यस्तै, हरिवन नगरपालिकास्थित सुकेपोखरीमा मोटरसाइकलको ठक्करबाट १४ वर्षीया दीपिका बुढाथोकीको मृत्यु भएको हो ।
उता, नवलपुरको गैँडाकोटमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना.५ख ८४१७ नम्बरको ट्रकले लु.५५प ३१३४ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । दुर्घटनामा ट्रकचालक बारा परवानीपुर गाउँपालिका– १ का ३५ वर्षीय रिजवान मियाँ र स्कुटरचालक कावासोती– ३ का ५२ वर्षीय दलबहादुर सुनार विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।