
रौतहटको दुर्गाभगवती गाउँपालिका– ४ का वडाध्यक्ष रामानन्द प्रसादसँग नेपाल र भारतको नागरिकता भएको खुलेको छ । जनप्रतिनिधि नै दुवै देशको नागरिक रहेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले रामानन्दसँग गत ७ साउनमा सदरमुकाम गौरस्थित कार्यालयमै बोलाएर बयानसमेत लिएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार वडाध्यक्ष रामानन्दसँग नेपालसहित भारतस्थित बिहार पूर्वी चम्परानको पनि नागरिकता छ ।
खड्काले दोहोरो नागरिकताका सम्बन्धमा रामानन्दसँग बयान लिएको बताए । ‘दुर्गाभगवती गाउँपालिका– ४ का वडाध्यक्ष रामानन्द प्रसादलाई मातहतको मुद्दा फाँटमा बोलाएको जस्तो लाग्छ । उनको फाँटमै बयान लिने काम भयो होला । डिटेलमा मैले पनि बुझ्न सकेको छैन,’ उनले भने ।
नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार रामानन्दले भारत बिहारको पूर्वी चम्परानबाट पप्पु यादवका नाममा नागरिकता लिएका छन् । सोही नागरिकताबाट उनले भारत निर्वाचन आयोगले मतदाता परिचयपत्रसमेत लिएका छन् । परिचयपत्रमा उनले बुवाको नाम सियारामप्रसाद यादव उल्लेख गरेका छन् । २३ मार्च ००९ मा जारी भएको मतदाता परिचयपत्रमा जन्ममिति भने सन् १९८२ उल्लेख छ । परिचयपत्रमा उल्लेख भएअनुसार उनको ठेगाना ‘परेवा सहर÷गाँव–परेई, अञ्चल–चिरैया, जिल्ला– पूर्वी चम्पारन– ८४५४१८’ उल्लेख छ । मतदाता परिचयपत्र नम्बर भने वाइडब्लुएक्स ०११५०३१ लेखिएको छ । परिचयपत्रको सिरानमा उनको फोटो टाँसिएको छ ।
नेपालमा भने उनले रौतहटबाट नागरिकता लिएका छन् । जसमा उनको पिताको नाम रामचन्द्र कापड यादव उल्लेख छ । २३ जेठ ०४७ मा जिल्ला प्रशासन कार्यालय रौतहटबाट जारी उनको नागरिकता नम्बर ३२० हो । ठेगाना पञ्चरुखी गाविस– ३ हो । सोही नागरिकताबाट उनको नाममा निर्वाचन आयोगबाट मतदाता परिचयपत्र पनि जारी भएको छ । जसमा उनको नाम रामानन्द प्रसाद लेखिएको छ भने पिताको नाम रामचन्द्र कापड र आमाको नाम कान्तीदेवी लेखिएको छ । नागरिकता र परिचयपत्रको सिरानमा फोटो टाँसिएको छ । जसमध्ये नागरिकतामा टाँसिएको फोटो भारतीय मतदाता परिचयपत्रमा टाँसिएको फोटोसँग मेल खान्छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार रामानन्दविरुद्ध दुई महिनाअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले उजुरीबारे आवश्यक कारबाहीका निम्ति गृह मन्त्रालय पठाएको थियो । गृहले उजुरीलाई जिल्ला प्रशासन कार्यालय रौतहट पठाएको थियो । सोही उजुरीलाई लिएर गत ७ साउनमा जिप्रकाले रामानन्दसँग बयान लिएको थियो । प्रजिअ खड्काका अनुसार घटना सम्बन्धमा तथ्य बुझ्न नेपालस्थित भारतीय दूतावाससँग पनि पत्राचार गरिएको छ ।
वडाध्यक्ष रामानन्द प्रसादले नागरिकताका सम्बन्धमा जिप्रकाले आफूसँग बयान लिएको स्वीकार गरे । तर, उजुरीमा उल्लेख भएजस्तो आफूसँग दोहोरो नागरिकता नभएको दाबी गरे । ‘नागरिकताको सम्बन्धमा सिडिओ कार्यालयले मसँग बयान लिएको हो । तर, उजुरीमा उल्लेख भएजस्तो मसँग दोहोरो नागरिकता छैन । मेरो पुस्तौँपुस्ता नेपाली नागरिक हुन् ।