मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Saturday, 09 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २३ शुक्रबार ११:o७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रविलाई भेटेका नेताहरू भन्छन्– कारागारमा रविलाई न्यूनतम मानव अधिकार पनि छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार ११:o७:oo

रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा पुगेर विभिन्न दलका नेताहरूले भेटेका छन् । भेटेर फर्किएपछि उनीहरूले कारागारमा उनलाई न्यूनतम मानव अधिकार पनि नभएको सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष भट्टराईले जस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, माओवादी सांसद माधव सापकोटा, एमाले सांसद वासुदेव घिमिरेलगायतले भेटेका थिए ।

जनमतका अध्यक्ष राउतले देशकै चौथो ठुलो दलको नेतासमेत रहेका जनप्रतिनिधिमाथि राज्यले गरेको व्यवहार दयनीय रहेको बताए । ‘रविको कारागार जीवन भौतिक रूपमा दयनीय छ । कोठाभित्र बन्द राखेको अवस्था छ । एउटा राजनीतिक बन्दी, २१ सिटको दलको नेतालाई थुनेर राख्नु नै उचित लागेन । त्यहाँ त हत्या, कुटपिटजस्ता अपराध गर्ला भनेर राख्ने हो,’ राउतले भने, ‘मैले भेट्दा उहाँलाई सरुवा गरेर डिल्लीबजार कारागार आउनुस् भनेको थिएँ । तर, सरकारले सरुवा नगरेको सुनेको छु ।’ 

जनता प्रगतिशीत पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि रविमाथि राज्यले न्यूनतम मानवीयता पनि प्रदर्शन नगरेको महसुस भएको बताए । ‘जेसुकै मुद्दा लगाए पनि उहाँ त राजबन्दी नै हो । तर, मैले भेट्दा राज्यले न्यूनतम मानवीय व्यवहार पनि नदेखाएको पाएँ,’ उनले भने, ‘कारागारको अवस्था नै दयनीय छ ।’

माओवादी सांसद माधव सापकोटाले देशको चौथो ठुलो दलको सभापतिमाथि अमानवीयता देखाएको बताए । ‘म भेट्न जाँदा अँध्यारो कोठामा उहाँलाई एक्लै राखिएको थियो । एक्लै राख्नु त्यसै पनि राम्रो होइन । मैले यो विषय रविजीको सचिवालयलाई पनि भनेको थिएँ,’ उनले भने, ‘राज्यबाट अमानवीय व्यवहार प्रदर्शन भएको छ ।’

एमाले सांसद वासुदेव घिमिरेले रवि राखिएको कारागार भौतिक रूपमा दयनीय रहेकाले राज्यले मानव अधिकारको ख्याल नगरेको बताए । ‘म मानवताको नाताले भेट्न गएको थिएँ । कारागारको भौतिक अवस्था दयनीय रहेछ । राज्यले मानव अधिकारको ख्याल गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

रास्वपाको सचिवालय हेरिरहेका अभिनाश आचार्यले कारागार प्रशासनबाट सभापति लामिछानेमाथि सहयोग नभएको गुनासो गरे । ‘कारागारमा अन्य कैदीहरूसँग भेट गर्ने, गफ गर्ने अधिकार हुन्छ । तर, उहाँलाई चार महिनादेखि एउटा बन्द कोठाबाट बाहिर निस्किन दिइएको छैन । चार महिनामा तीनपटक कपाल काट्न बाहिर निस्किएकोबाहेक बाहिरी वातावरण देख्न पाउनुभएको छैन,’ उनले भने, ‘कोठामा रहेका भेन्टिलेसन पनि बन्द छ । अँध्यारो मात्रै होइन, चरम गर्मीमा अत्याचार भएको छ । अदालतले थुनुवाको सहमतिमा अर्को कारागारमा स्थानान्तरण गर्न आदेश दिँदा पनि सरकारले सहयोग गरेको छैन ।’

कारागार प्रशासनले पनि लामिछानेले पत्रपत्रिका पढ्न नपाएको स्वीकार गरेको छ । कारागार प्रमुख सुरेश भण्डारीले बजेट अभावका कारण पत्रपत्रिका किन्न नसकिएकाले दिन नसकेको दाबी गरे । ‘बजेट अभावका कारण पत्रपत्रिका खरिद गर्न सक्ने अवस्था नै छैन । त्यसैले उहाँलाई दिन नसकिएको हो,’ उनले भने, ‘हामीसँग उपलब्ध गराउन सकिने जति  सुविधा दिएका छौँ । त्यो भन्दा धेरै कसरी गरुँ ?’

यही अँध्यारो कोठामा चार महिनादेखि छन् रवि

२५० जना अट्ने क्षमताको कारागारमा ६२६ कैदी । कर्तव्य ज्यानसम्बन्धी ७३ कैदी, एउटैले सातजनाको हत्या गरेकासम्म ।

१२ बाई ३५ फुटको अँध्यारो कोठा, फलामे बार, बन्द झ्यालहरू र भैरहवाको ४२ डिग्री तापक्रम । यही बनेको छ रवि लामिछानेको चार महिनादेखिको संसार । सिद्धार्थ राजमार्गबाट भित्र पस्ने आवारोडको झन्डै ८० मिटरको दूरीमा भैरहवाको बाक्लो बस्तीबिच रहेको छ एउटा जेल । जुन, रूपन्देही जिल्लाभरकै पुरुष थुनुवा र कैदीका लागि एक मात्र थलो हो ।

गणेश मन्दिरको छेउमै रहेको मुख्य ढोकाबाट भित्र छिर्नासाथ देखिन्छ कार्यालयको सानो भवन । त्यहीँबाट केही पाइला अगाडि बढेपछि बायाँपट्टि देखिन्छन् ब्लक नम्बर २ र ३ ।

दायाँपट्टि छ– ब्लक नम्बर ४ । तर, यसलाई ‘ब्लक’ भन्नु आफैँमा अतिशयोक्ति लाग्न सक्छ । किनकि यो वास्तवमा एउटा साँघुरो कोठा हो । करिब १२ फुट चौडाइ र ३५ फुट लम्बाइ भएको कोठाको ढोकामा फलामे बार लगाइएको छ जहाँ विगत चार महिनादेखि बन्द छन् पूर्वउपप्रधानमन्त्री तथा रास्वपा सभापति लामिछाने ।

यो कोठामा बाहिरी संसारसँग जोडिने माध्यमका नाममा एउटा सानो झ्यालजस्तो संरचना छ । तर, त्यो पनि प्लाइउडले टालेर बन्द गरिएको छ– न त राम्ररी हावा आउन सक्ने, न त उज्यालो । छानातिर बनाइएको अर्को भेन्टिलेसन झ्यालमा पनि उस्तै छ नियति— प्लाई ठोकिएको । कोठाभित्र उज्यालो पस्ने कुनै बाटो छैन ।