
जनस्वास्थ्य कार्यालय ललितपुरले स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ। विश्व स्तनपान सप्ताहको चलिरहेकोअवसरमा जनस्वास्थ्य कार्यालयले उक्त कक्ष सञ्चालनमा ल्याएको हो।
आमा र शिशुलाई सहज हुने गरी स्तनपान कक्ष सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख डा. भुवन पौडेलले बताए। स्तनपानलाई सहज बनाउन आरामदायी बेच्न तथा कुर्सीसहितको कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘हाल स्तनपान सप्ताह चलिरहेको छ, हामीकहाँ स्तनपान कक्ष थिएन, यसपटक बल्ल बनायौँ,’ उनले भने, ‘शिशु बोकेर कार्यालयमा आउने सेवाग्राही तथा महिला स्यंमसेविकाहरूका लागि यसले सहयोग पुग्नेछ।’ उनका अनुसार पछिल्लो समय स्तनपान गराउने महिलाहरूको संख्या घट्दो अवस्थामा देखिन्छ।
आमाको दुध नखुवाएर अन्य प्रतिस्थापन गर्ने वस्तुहरू खुवाउँदा त्यसले शिशुको स्वास्थ्यमा दीर्घकालीनसम्म असर पार्ने भएकोले डा. पौडेलले आमाको दुध शिशुका लागि अमृतसमान हुने भएकाले यसलाई सबै आमा, सबै पक्ष र निकायले बढीभन्दा बढी चासो दिन आवश्यक रहेको बताए।
उनका अनुसार हाल शिशुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्तनपान छायामा परेको र सरकारको पोषण नीति राम्रो भए पनि कार्यान्वयन हुन नसकेको डा. पौडेलले जानकारी दिए । ‘अहिले ल्याक्टोजिन तथा फर्मुला मिल्क अनधिकृत रूपमा बिक्री-वितरण हुने गरेको छ, यससम्बन्धी ऐन आएको उहिले हो, तर अहिलेसम्म कार्यान्वयनको अवस्था निकै कमजोर छ,’ डा. पौडेलले भने, ‘अहिले शिक्षित वर्गले स्तनपान गराउन छाडेका छन्, यो निकै दुखद हो।’
कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सिर्जना लिंथेपले स्नतपानले शिशुलाई रोगसित लड्ने क्षमता बढाउने भएकोले यसतर्फ बढीभन्दा बढी चासो दिनु आवश्यक रहेको बताइन्। ‘आमाको दुधमा बच्चालाई जस्तो चाहिने हो, त्यस्तै किसिमको प्रोटिन पाइन्छ, आमाको दुधले बच्चाको पाचन प्रक्रिया राम्रो हुन्छ, शारीरिक वृद्धि विकास राम्रो हुन्छ, तर बजारका फर्मुल मिल्क र गाईभैँसीको दुधमा चाहिनेभन्दा बढी प्रोटिन हुन्छ, त्यसले शिशुको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, जन्मदेखि दुई वर्षसम्मको शिशुलाई अनिवार्य आमाको दुध चाहिन्छ,’ उनले भनिन्, ‘हाल नेपालमा जन्मेको १ घन्टाभित्र ५५ प्रतिशतले मात्र स्तनपान गराएको तथ्यांक छ, यो डरलाग्दो स्थिति हो, अझ निजी अस्पतालहरूले अपरेसन गरेर बच्चा झिकेपछि सिधै फर्मुला वा ल्याक्टोजिन खुवाउँछ, यो निकै गलत र कानुनविपरीत हो, आमाको थोरै दुधले पनि भर्खर जन्मको बच्चाको शरीरलाई दीर्घकालसम्म निरोगी बनाउँछ, तर अहिले निजी अस्पतालहरूले दुधदानीबाट दुध खुवाउने गरेको पाइन्छ, यो लाजमर्दो विषय हो।’