
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले निर्धारित समयअगावै नेपाल ग्रे लिस्टबाट बाहिर निस्कने बताएका हुन् ।
सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले गत फागुनमा नेपाललाई ‘गे्र’ सूचीमा राखेको छ । नेपाल दुई वर्षका लागि ग्रे लिस्टमा परेको हो । त्यसपछि सरकार ग्रे लिस्टबाट बाहिर निस्कन कार्ययोजना नै बनाएर अघि बढेको छ ।
अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा कार्ययोजना दराजमा थन्क्याउन नभई कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारेको बताए । उनले ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, ०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको बताए ।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ जारी गरी कार्यान्वयनमा आएको, सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रणनीति तथा कार्ययोजना (०८१/८२–०८५/८६) कार्यान्वयनमा रहेको जानकारी गराए ।