
बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको प्रादेशिक कृषि थोक बजारको आइतबार उद्घाटन गरीएको छ ।
उद्घाटन गरेसङ्गै कृषि थोक बजार आइतबार नै उपमहानगरलाई हस्तान्तरण समेत गरिएको छ । थोक बजारको प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
३८ करोड ८८ लाख ६७ हजार ५८२ रुपैयाँ लागत अनुमान गरिएको पाँच तल्ले भवन निर्माणका लागि हालसम्म ३२ करोड १० लाख ५० हजार ७१५ रुपैयाँमा बेसमेन्टसहित तीन तल्लामा निर्माण सम्पन्न भएको छ ।
थोक बजारको संरचनामा बेसमेन्टमा कार र मोटरसाइकल पार्किङ सुविधा, भुईतल्लामा २० वटा सटर, ४ वटा कार्गो र २ वटा प्यासेन्जर लिफ्ट, र पहिलो तल्लामा थप २० सटर निर्माण गरिएका छन् ।
यस्तै खुद्रा बजारतर्फ भुईतल्लामा ११ वटा सटर, २ वटा कार्गो लिफ्ट र २० सटर रहेका छन् भने पहिलो तल्लामा १२ सटर र किसानका लागि २३२ वर्गमिटर क्षेत्रफलको टहरा निर्माण गरिएको छ। साथै, ४३७.२ वर्गमिटर क्षेत्रफलमा ५०० मेट्रिक टन क्षमताको कोल्ड स्टोरेज समेत निर्माण गरिएको छ ।
थोक बजारले प्रदेशभरका किसानहरूले उत्पादन गरेका कृषि उपजको व्यवस्थित बजारीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।
उद्घाटन कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, महाशाखा प्रमुखहरू, कृषि क्षेत्रमा क्रियाशील संघ–संस्थाका प्रमुख, व्यापारी तथा कृषकहरूको सहभागिता रहेको थियो ।