मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
झलनाथ खनाल
२o८२ श्रावण १७ शनिबार o७:३९:oo
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विभेदपूर्ण संस्कृति अन्त्य गर्ने चिनियाँ प्रयास

Read Time : > 7 मिनेट
झलनाथ खनाल
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार o७:३९:oo

विश्वभरिका पाँचै महाद्वीपका मुलुक ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको विश्व सम्मेलनमा सहभागी हुन चिनियाँ कम्युनिस्ट पार्टीले यही १०–११ जुलाई २०२५ मा चीनमा आमन्त्रण गरेको थियो । विशेष गरी नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार, स्टिमोरलगायत देशका नेतालाई मैले नेतृत्व गर्नुपर्ने थियो । त्यसैगरी, विश्वका विभिन्न देशका नेताहरूलाई विभिन्न स्थानबाट प्रवेश गराउने र भ्रमण गराउँदै ९ तारिख बेलुका बेइजिङ पुर्‍याउने, १० र ११ तारिखमा विश्व सम्मेलनमा सरिक गराउने भन्ने योजना रहेछ । त्यही सिलसिलामा मलाई हेनान प्रान्तमा बोलाइयो । हेनान प्रान्तमा म पुग्दा हाम्रो प्रतिनिधिमण्डलका सबै नेताहरू आइसक्नुभएको रहेछ । हामी त्यहाँ भेला भयौँ । हेनानमा तीन दिनसम्म विभिन्न उद्योगधन्दा, कलकारखानाहरू, विकासका महत्वपूर्ण क्षेत्रमा लगियो । जस्तो इलेक्ट्रिकल भेहिकलको विकास भइरहेको कारखाना, विभिन्न एग्रिकल्चरसँग सम्बन्धित अनुसन्धानका केन्द्रहरूमा लगियो । विभिन्न फलफूलको कसरी अनुसन्धान भइरहेको छ, विकास भइरहेको छ भन्ने पनि देखाउनुभयो । ठूलो मात्रामा एकदम छोटो समयमा विकास गर्न सकिएको छ भन्ने हेरियो । कृषि र उद्योगमा भएको नवप्रर्वतनबारे देखाउनुभयो । विश्वका विभिन्न क्षेत्रहरू र देशहरूमा आर्थिक, सामाजिक, सांस्कृतिकमा एकआपसमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल पनि भयो । चीन र नेपालका बिचमा पनि यस्ता सहयोग कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा सविस्तार छलफल गर्ने वातावरण पनि प्राप्त भयो ।

हेनानमा एउटा टु हर्स टेम्पल (दुईघोडे मन्दिर) रहेछ । त्यो चीनमा बनेको सबैभन्दा पहिलो बुद्ध मन्दिर रहेछ । त्यहाँबाट नै बुद्धिजम चीनमा फैलिन सुरु गरेको रहेछ । त्यो मन्दिर धेरै व्यापक र विशाल छ । हेनानमा नै पहरामा कपेर बनाइएका १४ सय बुद्ध रहेछन् त्यहाँ । त्यो एउटा ठुलो पहरामा कुँदीकुँदी थुप्रै केभ बनाएको रहेछ । ठुलठुला केभहरूभित्र बुद्धका ठुल्ठुला मूर्ति राखिएका रहेछन् । त्यो १३ सय वर्षअगाडि स्थापना भएको रहेछ ।

हाम्रा दुई देशबिचका सांस्कृतिक सम्बन्धहरू कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि भयो । नेपाल र चीनबिचको परम्परागत सम्बन्ध बुद्धिजमबाट पनि सुरु भएको प्रस्ट छ । यो कुरालाई पनि उहाँहरूले त्यहाँ हाइलाइट गर्नुभयो । यसरी हेनानमा हामी घुम्यौँ । हेनान चीनको अन्नभण्डारजस्तै रहेछ । हेनानको अर्थतन्त्र चीनका विभिन्न प्रान्तमध्ये पाँचौँ ठूलो अर्थतन्त्र रहेछ । यो प्रान्तले मात्र सिंगो चीनको १० प्रतिशत अन्न र एकचौथाई गहुँ उत्पादन गर्दो रहेछ । हेनानको मात्र जिडिपी गत वर्ष २०२४ मा मात्र पनि ५.५ ट्रिलियन युआन पुगेको रहेछ । यो प्रान्तमा मात्र अहिले ४२०० उच्च प्रविधिका उद्योग स्थापना भएका छन् । यातायातमा बुलेट टे«नले ठुलो भूमिका खेलिरहेको रहेछ । हेनान साँच्चि नै एउटा आधुनिक समाजवादी प्रान्तका रूपमा तीब्र रूपले विकसित भइरहेको रहेछ । यसरी तीन दिन घुमेर हेनानको भ्रमण सकेपछि जुलाई ९ को बेलुकीपख हामी बुलेट टे«न चढेर बेइजिङ लाग्यौँ ।

अरू क्षेत्रका प्रतिनिधिमण्डल पनि त्यसरी नै विविध खालको अनुभव लिँदै बेइजिङ आइपुग्नुभयो । १० तारिखका दिन हामीले बिहान चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपप्रमुख सुन हैयानसँग भेट्यौँ । उहाँसँग लामो कुराकानी भयो । कसरी दुई देशबिचका सम्बन्धलाई हामीले विकास गर्न सक्छौँ ? भन्ने कुरादेखि आजको विश्व व्यवस्था, विभिन्न सभ्यता, संस्कृति, इतिहास, दर्शन, जीवनपद्धति, सामाजिक बनोट, विकासका बाटा आदिमा रहेका विविधता, केही मुलुकहरूको प्रभुत्ववादी चिन्तन, प्रभुत्ववाद, मनोध्रुवीकरण र बहुधु्रवीकरण आदिका बारेमा पनि छलफल भयो । त्यसका साथै प्रभुत्ववादी चिन्तनको विरोध गर्दै सबै देश, सभ्यता, संस्कृति, भाषा आदिलाई समान ठान्नुपर्ने, उनीहरूबिच सम्पर्क, संबाद, सहकार्य र मैत्रीपूर्ण सहसम्बन्ध विकास गर्नुपर्ने आवश्यकताका बारेमा पनि छलफल गर्‍यौँ ।

नेपालको कम्युनिस्ट आन्दोलन, देशको समग्र राष्ट्रिय परिस्थिति, राष्ट्रिय विकास र नेपाल तथा चीनका बिचमा के कुरामा नेपाललाई चीनले मद्दत गर्न आवश्यक छ भन्ने बारेमा उहाँहरूले जिज्ञासा राख्नुभयो । अन्य देशहरूसँग पनि उहाँहरूको जिज्ञासा थियो । नेपाल र चीनबिच बहुआयामिक क्षेत्रमा सहकार्य गर्न सकिने र कृषि, उद्योगका साथै अन्य विभिन्न इनोभेटिभ काममा पनि दुई देशबिच व्यापक विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको कुरा उहाँहरूसँग गरियो ।

कम्युनिस्ट आन्दोलनप्रति चासो
विदेश विभागका उपप्रमुखले नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा पनि चासो राख्नुभयो । नेपालमा ६० प्रतिशतभन्दा बढी जनता कम्युनिस्ट पार्टीप्रति आकर्षित भएको देखिन्छ, तर कम्युनिस्ट आन्दोलनचाहिँ किन यसरी विभाजित भएको भन्ने बडो चिन्ताजनक जिज्ञासा राख्नुभएको थियो । हामी देख्दा कुनै ठुलो सिद्धान्तको र नीतिको विवादजस्तो देख्दैनौँ, नेताहरूको स्वार्थको लडाइँ मात्रै हो कि भनेजस्तो हामीलाई लाग्छ भन्ने उहाँहरूको टिप्पणी थियो । यो टिप्पणीलाई नेपालका विद्वान् मानिने नेताहरूले बडो गम्भीरतापूर्वक बुझ्नु, सुन्नु आवश्यक छ भन्ने लाग्छ ।

सम्मेलनको सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य छाई ची, पोलिटब्युरो सदस्य लि सुले, विदेश विभाग प्रमुख लिउ जिया चाओसँग सामान्य भेटघाट भए । विदेश विभागकी उपविदेशमन्त्री मेडम सुनसँग भने लामो कुराकानी भयो । सारमा भन्दा चीन आफ्नानिकट छिमेकीहरूसँगका सम्बन्ध र सहयोगलाई गहिरो र व्यापक बनाउन विशेष प्राथमिकताका साथ लागिरहेको कुरा र छिमेकी सम्बन्धलाई घनिष्ठ बनाउन चाहेको कुरा उहाँहरूले बताउनुभएको थियो ।

बेइजिङ यात्रा
१० तारिखको बिहान हामीलाई बेइजिङवरिपरि घुमाउनुभयो । यो बडो रोचक घुमाइ भयो । त्यसपछि दिउँसो उद्घाटन समारोहमा लानुभयो । चीनको राष्ट्रिय गेस्ट हाउसमा उद्घाटन समारोह भव्य रूपले सम्पन्न भयो । उद्घाटन समारोहलाई बडो गज्जबको म्युजिकको धुनबाट सुरु गर्नुभयो । त्यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको तर्फबाट शुभकामना सन्देश दिइयो । त्यसपछि दोस्रो शुभकामना सन्देश संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबाट दिइयो । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी कमिटीका सदस्य छाइचीले किनोट भाषण दिनुभयो । अहिलेको अवस्थामा विश्व सभ्यता संवादको आवश्यकता किन र त्यसको औचित्य के हो भन्ने विषयमा सविस्तार व्याख्या गर्नुभयो । उहाँको वक्तव्य पढ्नलायकको छ । विश्वमा धेरै सभ्यता छन् । प्रत्येक सभ्यतामा आ–आफ्नै पहिचान र विशिष्टता छन् । त्यसभित्र धेरै विविधता छन् । त्यही नै विश्व सभ्यताको विशेषता हो । तर, जति धेरै विविधता भए पनि ती सभ्यताबिचमा एकआपसमा समानता पनि छन् । हामीले ती सबै सभ्यतालाई समान ढंगले हेर्नुपर्छ । कुनै सभ्यताचाहिँ एकदम सुपेरियर भएको अरूचाहिँ जुनियर भएको, कुनै सभ्यताचाहिँ एकदम विकसित भएको अरूचाहिँ एकदम अविकसित भएको र कुनै सभ्यताचाहिँ बढी मात्रामा अरूलाई डिक्टेट गर्न सक्ने, प्रभुत्व स्थापित गर्न सक्ने अधिकार रहेको र अरूले अधीनस्थजस्तो हुनुपर्ने भन्ने होइन । अहिले संसारमा जुन प्रकारले केही देश वा पक्षले संस्कृतिमा, सभ्यतामा पनि प्रभुत्ववाद स्थापना गर्ने प्रयत्न गरिरहेका छन् खासगरी पश्चिमी जगत्बाट । त्यो सर्वथा गलत हो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका, युरोप यी सबै क्षेत्रमा विश्व मानव सभ्यताका आ–आफ्नै शृंखला विकसित भएका छन् । ती विविधता नै हाम्रो विश्वका पँुजी हुन् । त्यो विविधता नै आजको यथार्थता पनि हो । यो विश्वको विविधतालाई हामी सबैले स्वीकार गर्नुपर्छ र त्यो विविधताभित्र एकआपसमा एकले अर्कालाई समान मानेर सम्मान वार्ता, संवाद र सहकार्य गर्दै एकले अर्काबाट सिक्नुपर्छ । हामीले एकआपसमा अन्तत्र्रिmया गर्नुपर्छ र यो अन्तक्र्रिया र संवादको क्रममा नै हामीले शान्ति, विकास र समृद्धिको यात्रा अगाडि बढाउनुपर्छ ।

अहिले केही समयअगाडि पश्चिमा जगत्का केही मानिसले अब संसार सभ्यताको द्वन्द्वतिर जान्छ भने । एउटा विद्वान्ले त एउटा किताब नै लेखे । त्यसलाई धेरैले चर्चा पनि गरे । साँच्चै नै अब सभ्यताको ठुलो द्वन्द्व सुरु हुन्छ कि भनेर । तर, अहिले हुँदाहँुदै यहाँसम्म आइपुग्दा सभ्यताको बिचमा द्वन्द्व होइन, संवाद सुरु भएको छ । यथार्थमा सबै सभ्यताको बिचमा एकआपसमा समान ढंगले अन्तत्र्रिmया हुनुपर्छ । उनीहरूले एकअर्काबाट सिक्नुपर्छ र त्यो सिक्ने क्रममा नै संसारमा अग्रगति र प्रगति हुन्छ । त्यसले विश्वमा शान्ति, विकास र समृद्धि पनि सम्भव हुन्छ भन्ने कुरा अहिले स्थापित भएर गएको छ र त्यो अवधारणा गलत सिद्ध भएको छ । कमरेड छाइचीको प्रमुख संभाषणको सारतत्व पनि यही थियो ।

यो विश्व सम्मेलनमा वक्ताहरू जतिले बोल्नुभयो, उहाँहरूले वास्तवमा सभ्यताहरूको बिचमा एकआपसमा संवाद गर्ने र शान्ति र प्रगतिको यात्रामा अगाडि बढाउने कुरालाई नै जोड दिनुभयो । विभिन्न सभ्यताबिच द्वन्द्व मात्र हुन्छ भन्ने कुराचाहिँ गलत अवधारणा हो । यो एउटाले अर्कोलाई डोमिनेट गर्ने धारणा हो । एउटालाई सुपेरियर ठान्ने र अरूलाई जुनियर ठान्ने धारणा हो । त्यसैले हामी सबैले सभ्यता र संस्कृतिबिच समानता स्थापना गर्नुपर्छ, उनीहरूबिच निरन्तर सम्पर्क, संवाद, सहकार्य, अन्तक्र्रिया गर्नुपर्छ, एकअर्काबाट लगातार सिक्नुपर्छ र सहअस्तित्व, संवाद, शान्ति र विकासबाट समृद्धितिर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो । छाइचीले जुन भाषण गर्नुभयो, त्यसपछि विभिन्न देशका पूर्वप्रधानमन्त्री र राष्ट्रपतिहरूले सम्बोधन गर्नुभयो । इन्डोनेसियाका पूर्वराष्ट्रपति, जापानका पूर्वप्रधानमन्त्री, बेल्जियमका पूर्वप्रधानमन्त्री, नामिबियाका पूर्वराष्ट्रपतिले बोलेपछि उद्घाटन समारोह सकियो ।

त्यसपछि प्लेनरी सेसन सुरु भयो । त्यो सेसनको मूल वक्ताका रूपमा मैले सभ्यताको शृंखला कसरी विकास हुँदै आयो भन्ने विषयमा सविस्तार प्रस्तुति गरे । आजभन्दा १२ हजार वर्षअगाडिदेखि मानव सभ्यता सिकारी युगलाई पार गरेर कृषियुगमा आयो । कृषि युगमा नआउन्जेल मानव सभ्यता मोबाइल थियो । तर, कृषिमा आइसकेपछि मानव सभ्यता स्थिर रूपमा अघि बढ्न थाल्यो । किनभने कृषि बोकेर हिँड्न सकिँदैनथ्यो । कृषि स्थिर थियो । त्यसकारण कृषि कार्यमा लाग्ने क्रममा मान्छेहरूले बस्ती विकास गर्न थाले, सहर विकास हुनथाल्यो र नयाँ सभ्यताको विकास हुनथाल्यो । यो क्रम एक ठाउँमा मात्र होइन, संसारका धेरै ठुल्ठुला नदीका किनारामा र समुद्र किनाराबाट सभ्यता शृंखला सुरु भए । ती प्रत्येक सभ्यताभित्र विविधताहरू थिए । ती विविधताकै बिचबाट सभ्यता, इतिहास, भाषा, संस्कृति, वेशभूषा, रीतिथिति, चाडपर्व, नाचगान, उत्पादन, व्यापार आदिको विकास सुरु भयो । 

मानव सभ्यताको यो विकासका बारेमा हामीले गहन ढंगले अध्ययन गर्नुपर्छ । यी सबै विविधतापूर्ण सभ्यताहरूलाई समान मान्नुपर्छ । सबैप्रति मैत्रीपूर्ण हुनुपर्छ । घृणाको राजनीतिलाई समाप्त गर्नुपर्छ । एउटा जाति र अर्को जाति, एउटा समुदाय र अर्को समुदायको बिचमा घृणा गर्ने जुन मनोवृत्ति कतिपय कम्युनिटीभित्र छ, त्यो गलत र अमानवीय प्रवृत्तिको कुरा हो । पश्चिमाहरूमा यो बढी मात्रामा छ र देखिन्छ । यस्ता कुराबाट सम्पूर्ण मानवजातिलाई मुक्त बनाउनुपर्छ । नयाँ र समानतापूर्ण दृष्टिकोणको विकास गर्न जरुरी छ ।

बुद्धिजमबारे प्रस्ट पार्ने मौका
मैले नेपालको उदाहरण पनि दिएँ । दुइटा ठुला छिमेकी भारत र चीनको तुलनामा नेपाल अलि सानै छ, तर हामीसँग १२६ जातिका जनता छन् । हाम्रो देशमा मिथिला सभ्यता, लुम्बिनी सभ्यता, किराँत सभ्यता, मगरात सभ्यता, सिन्जा सभ्यतालगायत विविध सभ्यताको विकास भयो । त्यही क्रममा हिजोका विभिन्न मानव प्रजातिहरू घुमन्ते युगमा नेपाल भूमिसम्म आए । उनीहरूका कतिपय शाखा यहीँ बसोवास गरे र तिनीहरूबाट विभिन्न कबिलाहरू विकास भए । कबिलाबाट जातिको विकास भयो । जातिहरूबाट नेपाल राष्ट्रको विकास भयो । त्यसो हुनाले यो सभ्यता शृंखला एउटा लामो ऐतिहासिक प्रक्रियाबाट अगाडि बढेर आएको छ । नेपालमा एक करोड ४० लाख वर्षअगाडिका रामापिथेकसका अवशेष पनि यहाँ फेला परेका छन् । अर्कोतर्फ, देशभरि नै धेरै ठाउँमा ढुंगेयुगका हातहतियार पनि फेला परेका छन् । केही समयअगाडि महोत्तरीमा एउटा ठुलो नयाँ ढुंगेयुगको मानव बसोवास गरेको एउटा ठाउँ फेला परेको छ । त्यहाँ ढुंगे हतियार धेरै संख्यामा फेला परेका छन् । त्यहाँ एउटा कारखाना नै रहेको कुरा विज्ञहरू बताइरहेका छन् । यसले पनि नेपाल इतिहासपूर्वदेखि नै मानव सभ्यताको एउटा मूल थलो रहेको थियो भन्ने कुरालाई प्रमाणित गर्छ ।

यस्ता शृंखला हुँदै हाम्रो देशको सभ्यता विकास भएको छ । यही विकास हुने क्रममा नेपालमा मातृतन्त्री र पितृतन्त्री गणराज्यहरूको विकास हुँदै जाने क्रममा कोलीय गणराज्य र शाक्य गणराज्यको विकास भयो । त्यही शाक्य गणराज्यका गणप्रमुखका सुपुत्र सिद्धार्थ गौतमबाट बुद्धिजमको विकास भयो । सबैले प्रस्ट हुनुपर्छ– यो शाक्य गणराज्य भनेको नेपालमा थियो । यहीँबाट बुद्धिजमको उत्पत्ति भएको हो । अहिले पनि केही मानिस बुद्ध भारतमा जन्मेका र बुद्धिजम भारतबाट उत्पत्ति भएको भन्ने गर्छन् । यस सन्दर्भमा मलाई १४० देशका प्रतिनिधिहरू बिचमा त्यसका बारेमा प्रस्ट पार्ने मौका पनि मिल्यो । नेपालबाट विकास भएको बुद्धिजम सबैभन्दा पहिला भारत र चीनमा फैलियो । त्यही क्रममा चीनमा बनेको पहिलो टु हर्स बुद्धिस्ट टेम्पल रहेछ । त्यो टेम्पलमा भ्रमण गर्ने र दर्शन गर्ने मौका मिल्यो । त्यही टेम्पलबाट विस्तारै चीनमा बुद्धिजम फैलिँदै गएको रहेछ ।

पछि सातौँ शताब्दीमा बुद्धभद्र कपिलवस्तुमा जन्मेका विद्वान् चीनमा गए । उनले चीनमै बसेर त्यहाँका विद्वान् भिक्षुहरूसँग बसेर बुद्धधर्मका ग्रन्थ चिनियाँ भाषामा उल्था गर्न सहयोग गरेका थिए । उनले ठुल्ठुला १४–१५ वटा ग्रन्थ उल्था गरे । यसरी बुद्धिजम चीनमा फैलियो । भृकुटीको विवाह भएपछि अरनिको गए । यी सबै कारणले गर्दा चीन र नेपालको बिचमा सांस्कृतिक सम्बन्ध पनि विकास भयो । यो दुई देशबिचको संस्कृतिको गाँठो धेरै गहिरो छ ।

यसरी सम्मेलनमा १० र ११ तारिखमा व्यापक बहस, छलफल चल्यो । त्यसपछि बेइजिङ घोषणापत्र जारी भएको छ । यो एउटा ऐतिहासिक घोषणापत्र हो । त्यही सिलसिलामा चीनले १०० वटा प्रोजेक्ट पाँच वर्षभित्रमा सांस्कृतिक क्षेत्रमा लागू गर्ने घोषणासमेत गरेको छ । ती परियोजनाबाट सांस्कृतिक क्षेत्रमा एकआपसमा सरसहयोग गर्ने, त्यसलाई समुन्नतीकरण गर्ने कार्य हुनेछ । ती प्रोजेक्ट पाँच वर्षभित्रमा सक्ने घोषणा चीनले गरेको छ । यसले विश्वको सांस्कृतिक विकासमा विभेदपूर्ण संस्कृतिलाई अन्त्य गर्ने, प्रभुत्ववादका विरुद्ध लड्ने र सबै संस्कृति समान हुन् भन्ने ढंगले त्यसलाई स्थापित गर्न भूमिका खेल्ने विश्वास गरिएको छ । साथै, त्यसले विश्व सभ्यता र संस्कृतिको विकासमा ठुलो योगदान गर्नेछ भन्ने मलाई विश्वास छ ।

प्रस्तुति: प्रेम गौतम