मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format २१:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खडेरीले पानीको अभाव, विपन्न र दलितबस्तीमा खानेपानी वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४९:oo

खडेरीले गाउँका इनार, कल सुकेर बस्ती नै अप्ठ्यारोमा परेपछि सिराहाको चुरे क्षेत्रमा पर्ने लहान नगरपालिका– २४ स्थित खेस्राहा गाउँमा शुद्ध खानेपानी वितरण गरिएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले शुक्रबार अपराह्न खेस्राहा गाउँका ६० घरधुरी मगर र मुसहर बस्तीमा स्वच्छ खानेपानी वितरण गरेका हुन् ।

ट्याक्टरमा लोड गरिएको एक–एक हजार लिटर दरको ट्यांकीमा जडान गरिएको पाइपबाट पानी वितरण गर्दै नगरप्रमुख चौधरीले भने, ‘खडेरीको कारणले नगरवासीले झेलिरहेको खानेपानीको अभाव हटाउन तत्काल ट्यांकीबाट भएपनि बाँड्न थालेका हौँ । नगरवासीको समस्यासँग जुध्न स्थानीय सरकार पनि सँगसँगै छौँ,’ उनले भने, ‘पानीको चरम अभाव रहेका दलित तथा अन्य बस्तीमा खानेपानी वितरणलाई निरन्तरता दिनेछौँ ।’ नेपाल खानेपानी संस्थानको समन्वयमा प्रयोगशाला परीक्षण गरी प्रतिपरिवार ३० लिटरको दरले स्वच्छ खानेपानी वितरण गरिएको हो । पानी अभाव झेलिरहेका बस्तीका हरेक परिवारलाई स्वच्छ पानी पुर्‍याउन नगरपालिकाले विशेष प्राथमिकता दिएको उनले बताए । 

खानेपानी वितरणसँगै नगरप्रमुख चौधरीले स्थानीय बासिन्दासँग खडेरीले निम्त्याएका समस्या र नगरपालिकाले गर्नुपर्ने कामबारे छलफलसमेत गरे । स्थानीय बासिन्दाले घरायसी प्रयोग र चौपायाका लागि पानीको अभाव रहेको गुनासो गर्दै दैनिक आवश्यकताका लागि पर्याप्त पानीको व्यवस्था गर्न माग गरे ।

 ‘पछिल्लो केही दिनदेखि खानेपानीको अभाव हुन थालेपछि करिब एक घण्टाको दूरीमा रहेको छिमेकी गाउँबाट समेत पानी ल्याएर प्रयोग गर्न बाध्य थियौँ,’ स्थानीय कृष्णमाया सार्कीले भनिन्, ‘नगरपालिकाले कम्तीमा एक दिनसम्म खान पुग्ने पानी दिएपछि थोरै भए पनि राहत भएको छ ।’ द विकन परियोजनाअन्तर्गत एंगलियन वाटर र वाटर एड नेपालको सहयोग तथा लहानस्थित दलित जनकल्याण युवा क्लबको सहकार्यमा खानेपानी अभाव भएका बस्तीहरूमा स्वच्छ खानेपानी बाँड्न थालिएको हो । 

पानीको सहजता नहुन्जेल बस्तीहरूमा खानेपानी वितरणलाई निरन्तरता दिइने क्लबका अध्यक्ष उमेशकुमार विसुंकेले बताए । उनका अनुसार शनिबारदेखि क्रमशः लहान नगर क्षेत्रमा पानीको अभाव रहेका १५, १६, १८ र २४ नं. वडा क्षेत्रका बस्तीहरूमा खानेपानीको विरतण गरिनेछ । 

आगामी पाँच वर्षमा हरेक घरमा खानेपानी

नगरप्रमुख चौधरीले आगामी सन् २०३० भित्र नगर क्षेत्रका हरेक वडाका हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने कार्ययोजनासहित खानेपानीको काम थालिएको बताए ।

वाटर एडसँगको सम्झौताबमोजिम चालू आर्थिक वर्षमै नगरको १३, १४, १६ र २४ नं. वडामा खानेपानीको पाइपलाइन विस्तार गरिने जानकारी दिँदै उनले भने, ‘आगामी आ.व.मा ११, १२, १८, २० र २२ नं. वडामा पाइपलाइन विस्तार गरी धारा जडान गरिनेछ ।’ उनका अनुसार नगर क्षेत्रका चार सय घरधुरी दलित तथा विपन्न परिवारका लागि निःशुल्क धारा जडान गरिनेछ । परियोजनाअन्तर्गत यसअघि नगर क्षेत्रका ३९ वटा बस्तीमा ५८७ वटा खानेपानीको धारा जडान गरिएको छ ।

कार्यक्रम प्रबन्धक राजेश लोहनीका अनुसार नगरपालिकाको तीन हजार ७२०, क्लबको तीन हजार २२० रुपैयाँ अनुदान र सम्बन्धित परिवारको तीन हजार १७० रुपैयाँ लागतमा खानेपानीको धारा जडान हुँदै आएको छ । ‘त्यो सुविधा दलितहरूलाई मात्र दिइएको छ,’ उनले भने, ‘दलितहरूको आयस्राेत न्यून भएकाले खानेपानीका लागि सघाइएको हो ।’