मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १९:४३:oo
Read Time : > 1 मिनेट
समाचार

पाेखरामा कोटीहोमका लागि रुख कटान विवाद : सातजनाविरुद्ध मुद्दा दायर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ती भनिने विजय भण्डारीको संकल्प एवं अगुवाइमा पोखरामा आयोजना गरिएको कोटीहोममा समिदाका लागि रुख कटान गरेको विषय अदालतमा प्रवेश गरेको छ ।

भण्डारी संस्थापक एवं सञ्चालक रहेको मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा १७ वैशाख देखि जेठमसान्त ०८२ सम्म पोखरामा आयोजना गरिएको ऐतिहासिक श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ०८२ मा आयोजकले हवनमा प्रयोग गर्ने समिदाका नाममा पोखरामा रहेका ऐतिहासिक चौतारा र सडक छेउका गरी बर, पिपल, समीलगायतका रुख गैरकानूनी रुपमा कटान गरेको विषय अदालत पुगेको हो । 

अनुमतीविनै रुख कटान गरेपछि डिभिजन वन कार्यालय कास्कीले अनुसन्धान सकेर १२ साउनका जिल्ला सरकारी वकीलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएकोमा सोही प्रतिवेदनअनुसार बिहीबार कास्की  जिल्ला अदालतमा सात जनाकाविरुद्ध अभियोग पत्र दर्ता भएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

अभियोगपत्र दर्ता गरिएकाहरूमा कोटीहोम आयोजक फाउण्डेसनका प्रबन्धक विष्णुराज गिरी, पोखरा महानगरपालिका–१४ स्थित शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, पोखरा–१४ राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, पोखरा–१४ स्थित साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल रहेका गौतमले जानकारी दिए ।

गौतमका अनुसार उनीहरुले वन ऐन, ०७६ र वन नियमावली, ०७९ को नियम (६) को प्रक्रिया नपुर्याई गैरकानूनी रुपमा रुख काटेको पुष्टि भएकाले वन ऐन, ०७६ को दफा ४९ (ध) बमोजिम कसुरमा सोही ऐनको दफा ५० को उपदफा (१४) अनुसार सजायको माग गर्दै अदालतमा बिहीबार अभियोग पत्र दार्ता गरिएको गौतमले जानकारी दिए । 

ऐनको दफा ५० को उपदफा (१४)अनुसार उनीहरूसँग बिगो र अधिकतम सजाय माग गरिएको छ । सोअनुसार बिगो असुल गरेर ६ महिना कैद वा १० हजार वा दुवै सजाय हुन् सक्ने व्यवस्था रहेको छ ।

सूचना अधिकारी गौतमका अनुसार अनुसन्धानका क्रममा पोखरा–१४ का विभिन्न तीन स्थानका गरी वर, पिपल र समीका गरी नौ रुखका हागाहरू प्रक्रिया नपु¥याई, आफूखुशी गैरकानूनी रुपमा काटिएको भेटिएको थियो । जसअनुसार शुभमार्गमा सात रुखका ५५, राधाकृष्ण टोलमा एक रुखको सात हागा र साधना मार्गको एक रुखको १२ हागा गैरकानूनी रुपमा काटिएको थियो ।

काटिएकामध्ये शुभमार्गमा १६ हजार मूल्य बराबरको चार चट्टा दाउरा फाण्डेशनले लगेको, राधाकृष्ण टोलमा २१ हजारको र साधना मार्गमा नौ हजारको दाउरा बेचबिखन गरेको बिल भेटिए पनि कसले खरिद गरेको भन्ने नखुलेको गौतमले जानकारी दिए ।

आरोपित सात जनासँग ऐनअनुसारको सजायसँगै ४६ हजार बिगो माग गरिएको गौतमले जानकारी दिए ।

कोटीहोम आयोजकले हवनमा प्रयोग गर्ने समिदाका नाममा पोखरामा रहेका ऐतिहासिक चौतारा र सडक छेउका वर, पिपल, समी र अन्य रुख केही पलाउने र केही नपलाउने गरी गैरकानूनी रुपमा काट्ने, मुठारने काम गरेपछि विवाद सुरु भएको थियो । तत्कालिन अवस्थामा समिदाका लागि पोखरामा काटिएका र केही अन्यत्रबाट ल्याईएका गरी ५० ट्रक काठ पोखरा महानगरले जफत समेत गरेको थियो ।