
ज्योति विकास बैंकले १७औँ वार्षिकोत्सवको अवसर पारी अन्तरबैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको छ । जसअनुसार ज्योति विकास बैंकमा खाता नभएका व्यक्तिले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एपमार्फत ज्योति विकासका जुनसुकै शाखामा गई रकम निकाल्न सक्नेछन् । यो सुविधाले आमनागरिकलाई थप सहजता हुने विश्वास बैंकले लिएको छ ।
सेवा उपयोग गर्न ग्राहकले जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ सुविधा सक्रिय गरेको हुनुपर्नेछ । बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही यो सेवा पनि थप गरेको जनाएको छ । भविष्यमा अझ प्रभावकारी र नवीनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता रहेको छ ।
हालै मात्र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस)द्वारा अन्तर्राष्ट्रिय मान्यताप्राप्त आइएसो २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको बैंकले हाल देशभरका एक सय २१ वटा शाखा, तीन विस्तारित काउन्टर र ७५ एटिएममार्फत सेवा दिँदै आएको छ ।