
पूर्वी पहाडी जिल्ला संखुवासभामा नेवार समुदायको संस्कृतिसँग जोडिएको लाखेजात्रा सुरु भएको छ ।
‘मेरो सम्पदा, मेरो सांस्कृतिक परम्परा, मेरो पहिचान’ भन्ने नाराका साथ यो बर्षको लाखेजात्रा सुरु गरिएको छ । नेवाः देय दवू खाँदबारी नगरसमितिको आयोजना र नेवाः मिसाः दबू खाँदबारी, नेवाः ल्यायम्ड दबू खाँदबारीको सहआयोजनामा मंगलबार खाँदबारी नगरपालिका–१ मा रहेको भिमसेन मन्दिरमा पुजाआजा गरी विधिवत रुपमा लाखेजात्रा सुरु गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भिमसेन मन्दिरमा पूजा गरेर लाखेजात्रा सुरु भएको उद्घोष गर्दै सांस्कृतिक पर्वको संरक्षणमा सबै जुटन आग्रह गरे । लाखेजात्राले स्थानीय समुदायमा संस्कृति र परम्पराप्रतिको गर्व झन् बढाएको बताए ।
यसैगरि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले नेवार समुदाय बेग्लै पहिचानको रुपमा लाखेजात्रा रहेको बताउँदै संरक्षणका लागि निरन्तरता दिन आग्रह गरे । उनले नेपाल बहुसांस्कृतिक, बहुभाषिक र परम्परागत संस्कारहरूले भरिएको मुलुक भएकाले प्रत्येक जातजातिको आफ्नै मौलिकता रहेको बताउँदै यस्तै मौलिकता बोकेको नेवार समुदायको समृद्ध परम्परा मध्येको लाखे नाच भएको बताए ।
नेवाः देयः दबू संखुवासभाका अध्यक्ष सीता श्रेष्ठ शाक्यले बाबुबाजेको पालादेखि चल्र्दै आएको लाखेजात्रालाई पछिल्लो नयाँ पुस्ताले समेत लोप हुनबाट बचाउनका लागि निरन्तरता दिइरहेको बताइन् ।
यसैगरि नेवाः देयः दबू खाँदबारी नगर समितिका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले लाखे आधा मानव र आधा राक्षम भएपनि यसले मानिसहरुलाई विभिन्न रोगब्याधी र महामारीबाट बचाउन महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै लाखेजात्राले स्थानीय बालबालिका र युवाहरूलाई समेत सांस्कृतिक चेतना जगाउन प्रेरित गरेको बताए ।
नेवाः देय दवूको आयोजनामा जिल्लाभर लाखेजात्रा आज देखी शुरु भएको छ । नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै नाच प्रदर्शन गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंश बीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै नेवार समुदायले लाखे नाच निकाल्ने प्रचलन छ ।
जिल्लामा नेवार समुदायको वसोवास रहेको मुख्य बस्तीहरु सदरमुकाम खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे, मानेभञ्जाङ्ग, तुम्लिङ्टार लगायतका क्षेत्रहरुमा नागपञ्चमी देखि विधिवत् रुपमा लाखे जात्रा सुरु भएको हो । नेवार समुदायको कुलदेवता भिमसेनको पुजासँगै ढोल, ढोलकी, झ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायत सामग्रीहरुको पुजा गरी खाँदबारी लगायतका बजारहरुमा खाले नाच शुरु गरिने गर्दछ । यि क्षेत्रहरुमा बर्सेनि लाखे नाच देखाउने गरिन्छ । विधिवत रुपमा लाखे सुरु भए पछि विभिन्न क्लब तथा समुहहरुले समेत लाखे नाच निकाल्ने गरेका छन् । आजभोली लाखे नाच जिल्लाका विभिन्न गाउँ–गाउँ सम्म पुर्याउने गरिन्छ ।