
पछिल्लो समय तराई–मधेशका जिल्लाहरूमा वर्षा नभएर सुक्खा हुँदा सिँचाइदेखि पिउनेपानीको समेत अभाव छ। पानी अभावकै कारण सर्वसाधारणले खेतमा धान बाली लगाउन सकेका छैनन् भने माछापोखरीहरू सुकेर माछापालक कृषकहरूले लाखौँको घाटा व्यहोरिरहेका छन्। विभिन्न पालिकाहरूले दैनिक रूपमा पानीको ट्यांकर बस्ती पठाएपछि त्यसैले स्थानीय प्यास मेटाइरहेका छन्। यता जिल्लामा रहेका नेपाल सरकारका विभिन्न तह तथा कार्यालयसँगै विभिन्न एनजिओ र आइएनजिओबाट जिल्लामा निर्माण भएका ओभरहेड ट्यांकीहरूबाट आमसर्वसाधारणले अपेक्षाकृत राहत पाउन सकेका छैनन्।
धनुषा र महोत्तरी गरी दुई जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वर डिभिजन नं. २ मातहतमा खानेपानीका योजना महोत्तरीमा मात्रै ४१ वटा छन् । तर, सञ्चालित योजनाहरूमध्ये अधिकांश सञ्चालनमा छैनन्। ती ठडिएका ठुलाठुला पानीको ट्यांकीबाट पानी आउँदैन। पानीकै लागि हाहाकारको अवस्था हुँदा सर्वसाधारणहरूले ओभरहेड ट्यांकी सञ्चालनको माग गर्दै आएका छन्।
पिपरा गाउँपालिका– ४ निवासी राजकिशोर पासवानले हाल बस्तीमा एउटा चापाकल सञ्चालनमा रहेको बताउँदै सोही चापाकलबाट सयाैँ उपभोक्ताले पानी पिउनुपरेको बताए । छेउमै ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि स्थानीयले सो ट्यांकीको पानी चाख्न नपाएको उनी बताउँछन्।
सरकारको कमजोर कार्य सञ्चालन प्रणालीले वर्षौँदेखि अधुरो अवस्थामै अधिकांश योजनाहरू हुँदा सोको उपभोग सर्वसाधारणले गर्न नपाएका हुन् । केही योजनामा जग्गा उपलब्ध हुन सकेको छैन भने केही योजना आंशिक रूपमा सञ्चालनमा छन्। केही भने पाइप ओछ्याउन बाँकी, मिटर जडान गर्न बाँकी, बोरिङ सञ्चालन गर्न बाँकी, केहीमा बोरिङ सम्पन्न भई ट्यांकी निर्माणलगायतका कार्य बाँकी र केही भने गार्डघरबाहेक सबै निर्माण कार्य बाँकीलगायतको अवस्थामा रहेका छन्।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख ई. सञ्वीवकुमार साह भने सरकारको ठुला योजनाहरूमा बढी लागत लाग्ने भए पनि सरकारले योजनाअनुसार रकम नपठाई प्रत्येक वर्ष थोरै–थोरै बजेट दिँदा एउटै योजना लामो समयसम्म अल्झने गरेको बताए।उनले कामअनुसार पैसा आए निकै पहिले धेरै योजनाहरू सम्पन्न भई सर्वसाधारणले सोबाट सेवासमेत लिन सक्ने भए पनि मागभन्दा पनि थोरै बजेट आउँदा योजनाहरू अलपत्र पर्ने गरेको बताए । तथापि, केही योजनाहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र केही आंशिक सञ्चालनमा रहेको उनले थपे।
यता महोत्तरीमै आठभन्दा बढी खानेपानी ट्यांकी निर्माण सम्पन्न गरिसकेको रतौली युवा क्लबका प्रबन्ध–निर्देशक वैद्यनाथ चौधरीले महोत्तरीकै माथिल्लो क्षेत्रमा निर्माण भएका प्रायः सबै योजना सञ्चालनमा रहे पनि तल्लो क्षेत्रमा भने सञ्चालनमा विविध समस्या रहेको बताए। उनी दुई–तीन वर्ष पहिलेसम्म सहज रूपमै जमिनमुनिकै पानी चापाकल तथा मोटरहरूमा उपलब्ध हुने गरेकोमा जनताले तत्कालीन अवस्थामा ओभरहेड ट्यांकबाट धाराको कनेक्सन लिन चासो नलिएको, विभिन्न सडक निर्माणको क्रममा पाइपहरू तोडफोड भएकोलगायतका विविध समस्याहरू रहेको बताउँछन् । उनले योजना सञ्चालन गरेर छोडिएको ट्यांकीहरू उपभोक्ताकै चासो र सरकारकै निकायहरूले त्यसको अभिभावकत्व नलिँदा सञ्चालनमै आएको ओभरहेड ट्यांकीहरूसमेत अहिले बन्द रहेको बताउँछन्।
महोत्तरीको मनरा सिस्वा नगरपालिका, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र पिपरा गाउँपालिकालगायतका अन्य स्थानीय तहहरूले सानो ट्यांकीमार्फत पानी वितरणलाई निरन्तरता दिएका छन्। पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पालिकाको विपत् व्यवस्थापन समितिको नियमित बैठकबाट समेत केही ठोस निर्णयहरू गरेर जनताको समस्या तत्काल तथा दीर्घकालीन योजनाहरूमार्फत समाधानको प्रयास भइरहेको बताए ।