
गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनै पूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय धुन्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुन्चेसम्म जोडिएका सबै सडक मार्ग राम्रो भएको, यातायातका साधन निर्वाध रूपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि समस्या नरहेको र जिल्लास्थित सुरक्षा संयन्त्रबाट जनै पूर्णिमाको अवसरमा हुने भक्तजन एवं तीर्थयात्रीको चापलाई समेत दृष्टिगत गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त भएकाले निर्धक्क भई मेला भर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भोटेकोशीमा अप्रत्याशित रूपमा असार महिनामा आएको बाढीले उत्तरतर्फ करिब ३० किलोमिटर टाढाको रसुवागढी क्षेत्रमा धनजनको अपूरणीय क्षति भएको घटनालाई जोडेर पूरै रसुवा जिल्ला नै बाढीले प्रभावित भएको भन्ने अफवाह फैलाइएकोमा दुःख व्यक्त गर्दै सदरमुकाम धुन्चेसहित गोसाइँकुण्डसम्म जाने बाटोमा कहीँ केही नभएको स्पष्ट पारे।
जनै पूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्रीलाई जिम्मेवारी बोधसहित आवश्यक सहयोग एवं स्वागत गर्न जिल्ला प्रशासन कार्यालय, निकुञ्ज कार्यालय र अस्पालतसहित स्थानीय स्वास्थ्य चौकी, गाउँपालिकाको कार्यालय, नागरिक समाज, धार्मिक तथा पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्था स्वस्फूर्त रूपमा आतुर देखिएकाले ढुक्क हुन उनले अनुरोध गरे।
प्रजिअ पौडेलले गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि, तीर्थस्थलसम्म सुरक्षाको विशेष व्यवस्था मिलाइसकिएको जानकारी दिँदै भयरहित वातावरणमा यात्रा गर्न अनुरोध गरे।
समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्ड जाने क्रममा ‘लेक’ लाग्न सक्ने समस्याबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिँदै कथंकदाचित स्वास्थ्य, सुरक्षालगायत कुनै पनि समस्या देखिए स्थानीय सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराई सहयोग लिन सकिने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बद्ध यातायात व्यवसायी र होटेल तथा ‘लज’ सञ्चालकबाट बढी रकम लिएको भन्नेजस्तो लागेमा तत्काल जानकारी दिन अनुरोध गर्दै सामान्य अवस्थाको जस्तै निर्धारित सेवा शुल्क लिन र तीर्थयात्रीलाई राम्रो व्यवहार गर्न होटेल तथा यातायात व्यवसायीसँग अनुरोध गरेको छ।
यसपटक धुन्चेबाट गोसाइँकुण्डसम्मको पैदल यात्राका क्रममा भेटिने पसलहरूमा चिया, कफी, खाना, नास्ता आदिको दररेट निर्धारण गरी सबैले देख्ने स्थानमा राखेको र यसअघि जस्तै उकालो हिँड्न गाह्रो हुनेहरूका लागि वाहनका रूपमा ‘घोडा’ को समेत व्यवस्था गरेका समितिले स्पष्ट गरेको छ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गत असार २४ गतेको बाढीले रसुवागढी क्षेत्रमा मात्र नोक्सान पुर्याएको, पृथ्वी राजमार्गको गल्छीसहित काठमाडौंदेखि त्रिशूली–धुन्चे हुँदै गोसाइँकुण्डसम्मको तीर्थमार्ग सुरक्षित रहेको छ।
सनातन हिन्दूधर्म संस्कृतिअनुसार यही साउन शुक्ल पूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्नाले एकैसाथ सम्पूर्ण देवी-देवताको दर्शन मिल्ने र सबै मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ। सोही धार्मिक आस्था र विश्वासका आधारमा हरेक वर्ष जनै पूर्णिमा पर्वका अवसरमा हजारौँ भक्तजन त्यसतर्फ जाने गर्दछन्।
यस वर्ष यही साउन २४ गते जनै पूर्णिमा पर्व परेको र नागपञ्चमीदेखि नै भक्तजन त्यसतर्फ जाने भएकाले सोहीअनुसार आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, रसुवा जिल्ला अस्पताल, रेडक्रस, आयुर्वेद, ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी निकाय आवश्यक तयारीमा जुटेको व्यवस्थापन समितिले जनाएको छ ।
बाटोको सरसफाइ, ट्राफिक व्यवस्थापन, शुद्ध खानेपानीको धारा, सडक बत्ती, फोहर व्यवस्थापन, कालो बजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने, ठाउँ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामी परेकालाई उद्धारलगायतका व्यवस्थापकीय कार्य क्रमशः अघि बढाइने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए । विगत २५ वर्षदेखि गोसाइँकुण्डमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको हिमालय उद्धार सङ्घले ‘पुत्रदा एकादशी’देखि जनै पूर्णिमा पर्वसम्म अक्सिजनसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालका अनुसार यस वर्ष छ जना एमबिबिसएस चिकित्सकसहित सातजना स्वास्थ्यकर्मी सम्मिलित समूहले माथि गोसाइँकुण्डमा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । जिल्लास्तरका अस्पताल, गोसाइँकुण्ड गाउँपालिका, जनस्वास्थ्य कार्यालय, नेपाली सेना रेडक्रससमेतका निकायले उँभो लाग्ने क्रममा बाटोमा पर्ने चन्दनबारी, लौरी विनायक, बुद्ध मन्दिरलगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्।
समितिका अध्यक्ष सञ्जीव डिएमले काठमाडौंको बालाजुदेखि धुन्चेसम्मको एक सय २० किलोमिटर सडक यात्राका क्रममा कुनै समस्या नभएको र धुन्चेबाट करिब डेढ दिनको पैदल यात्रापछि सहज रूपमा गोसाईंकुण्ड पुग्न सकिने भएकाले निर्धक्क भई तीर्थयात्रामा आउन सबैसँग अनुरोध गरे।
जनै पूर्णिमा पर्व व्यवस्थापनकै सन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङको अध्यक्षतामा बसेको बैठकले स्थानीय निकायका जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्य चिकित्सक, होटेल व्यवसायी, जिल्लास्थित सुरक्षा अंगका प्रमुख, सञ्चारकर्मी, स्थानीय व्यवसायीसमेतको सहभागितामा एकीकृत सेवा प्रदान गर्ने विषयमा छलफल भई सम्बद्ध सबैको जिम्मेवारी तोकिएको छ।
यस वर्ष १५ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ आवश्यक गरिएको छ। गोसाइँकुण्ड जाँदा पूजाको लागि तामाको दियो, एउटा बसाह र त्रिशूल तथा धुपबत्ती साथमा लिई चढाउनुपर्ने मान्यता रहेको पुरोहित टंकसाद ढकाल बताउँछन्।