
ललितपुरमा एक श्रीमानले श्रीमतीको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। शनिबार बिहान करिब पौने ७ बजेको समयमा गोदावरी नगरपालिका १३ झरुवारासी स्थित पुस्कर बस्नेतको घरमा डेरा गरी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानले २० वर्षीया श्रीमती डोल्मा वाइवाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायव उपरिक्षक यम कुमार श्रेष्ठको कमाण्डमा ७ जना प्रहरी टोली पुगेको छ । सामान्य विषयमा विवाद हुँदा उनले हत्या गरेको बुझिएको छ। मृतक वाइवा मकवानपुरकी र श्रीमान स्याङ्तान सिन्धुलीका हुन् । वाइवा स्याङ्तानको कान्छी श्रीमती रहेको खुलेको छ। श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
घटनास्थलबाट चक्कु बरामद भएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।