
पहिलोपटक एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ काठमाडौंभन्दा बाहिर हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले २२औँ संस्करणको अवार्ड २९ भदौमा पोखरामा हुने घोषणा गरेको छ । यसपटक पनि अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप रहनेछ । गोल्छा ग्रुप र मञ्चबिच शुक्रबार प्रायोजकसम्बन्धी सम्झौता भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लगातार १७ वर्षदेखि मुख्य प्रायोजकको भूमिका निर्वाह गरेकोे गोल्छा ग्रुपले अवार्डका लागि थप पाँच वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार गोल्छा ग्रुपले नगदसँगै ४० लाख रुपैयाँबराबरको प्रायोजन गर्नेछ ।
मञ्चका अध्यक्ष अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्टस् अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिएका छन् । ‘काठमाडौंबाहिर लैजाने तयारी केही वर्षअगाडिदेखि भइरहेको थियो । हामीले केही मुख्य सहरका प्रतिनिधिसँग पनि कुराकानी गर्यौँ,’ उनले भने, ‘यस क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेका वेला सबै पक्ष अनुकूल बनेपछि अवार्ड पोखरामा गर्ने निर्णय गर्यौँ ।’
गोल्छा ग्रुपका कार्यकारी निर्देशक गोल्छाले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताए । ‘यसले दुई संस्थाबिचको प्रतिबद्धता र विश्वास देखाउँछ । त्यसैले पनि एनएसजेएफसँग आबद्ध हुन पाउँदा गर्व महसुस हुन्छ,’ अभिमन्युले भने ।
मञ्चका महासचिव अन्जन खड्काले अवार्डमा १० विधा समावेश भएको जानकारी दिए । वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, एसियन स्पोर्टस् जर्नालिस्ट र टिम अफ दी इयर विधा रहेको खड्काले बताए ।
पाँच विधाका विजेतालाई मोटरसाइकल
दशमध्ये पाँच विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले साइकल प्राप्त गर्ने महासचिव खड्काले बताए । स्पेसल, लाइफटाइम अचिभमेन्ट, टिम अफ दी इयर र पारा एथलेट सम्मानका विजेताले समान एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि एक संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम गर्नु र एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुर्लभ रहेको बताए ।