
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ५ चनौटेस्थित भोटेकोशी नदीकिनारमा नेपालमै पहिलोपटक ‘र्याफ्टिङ स्कुल’ सञ्चालन हुने भएको छ । जलस्रोतसँग सम्बन्धित आपत्कालीन उद्धारमा खटिने दक्ष जनशक्ति उत्पादन, र्याफ्टिङसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान, शैक्षिक अध्ययन तथा अनुसन्धान प्रवर्द्धनका साथै जलपर्यटनलाई आयआर्जनसँग जोड्ने उद्देश्यले विद्यालय सञ्चालनको तयारी गरिएको हो ।
पर्यटन विभागले भोटेकोशी नदीकिनारको भौगोलिक र भौतिक बनावट र्याफ्टिङ तालिमका लागि उपयुक्त रहेको ठहर गर्दै उक्त स्कुलमा लगानी गरेको छ । हाल नदीनजिकै झन्डै १३ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा करिब १३ करोड रुपैयाँको लागतमा आवश्यक संरचना निर्माण भइसकेको छ । आगामी असोजदेखि सञ्चालनमा ल्याइने विद्यालयमा कक्षाकोठा, प्रशिक्षण हल, पौडीपोखरीसहित र्याफ्टिङ तालिमका लागि आवश्यक अन्य पूर्वाधार तयार भइसकेका छन् ।
‘वाटर रेस्क्यु कसरी गर्ने, यसलाई पर्यटन र आयआर्जनसँग कसरी जोड्न सकिन्छ र पानीभित्र आधारित साहसिक खेलहरूमा केन्द्रित कोर्स तयार भइरहेको छ,’ सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले भने, ‘यो कोर्स विद्यालयस्तरका विद्यार्थीका लागि पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । केन्द्र सरकारको बजेटमा संरचना निर्माण भइसकेको छ । अब असोजदेखि बेसिक र एडभान्स तहका कोर्स सञ्चालनमा ल्याइन्छ ।’ श्रेष्ठका अनुसार रिभरगाइड र सम्बन्धित विज्ञहरूले तालिम सञ्चालन गर्नेछन् । प्रशिक्षणका लागि आवश्यक पाँचवटा कक्षाकोठा र एउटा सम्मेलन हलसहितका पूर्वाधार निर्माण भइसकेको उनले बताए ।
पछिल्लो समय र्याफ्टिङ तथा जलपर्यटनसम्बन्धी पेसामा युवाहरू बढी आकर्षित छन् । खोलाआसपासका माझी समुदाय तथा स्थानीयलाई आधिकारिक कक्षा सञ्चालन गरेर शैक्षिक प्रमाणपत्र दिँदा यसले र्याफ्टिङ तथा जलपर्यटनको विकासमा लाग्ने नेपाल पर्यटन तथा होटेल व्यवस्थापन समिति (नाथम)का सूचना अधिकारी ज्ञानेन्द्रराज पण्डितले बताए । ‘र्याफ्टिङ क्षेत्रमा स्थानीय मानिस बढी सक्रिय छन्, उनीहरूलाई तालिम तथा शैक्षिक ज्ञान दिएर दक्ष बनाउँदा यो पेसा नै भरपर्दो बन्छ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा बनेको संरचनामा युवाहरूलाई तालिम तथा शैक्षिक योग्यता दिन्छौँ ।’
स्थानीय सरकार, सरोकारवालाले पनि उक्त शैक्षिक कार्यक्रम सञ्चालनका लागि सहयोग गर्नेछन् । र्याफ्टिङ स्कुलमा मुख्यत: ६ महिनासम्मको कोर्स सञ्चालन गरिनेछ । तर, यहाँ भर्ना हुनका लागि दुई वर्षदेखि र्याप्टिङ तथा जलाशय क्षेत्रमा काम गरेको भने हुनुपर्नेछ ।
जलसम्बन्धी खेल र र्याफ्टिङको हब बनाउने गरी यो क्षेत्रमा एकेडेमिक कक्षा सञ्चालन गर्न लागिएको हो । कक्षा सञ्चालन भइसकेपछि पहिलो चरणमा १६० जना विद्यार्थी भर्ना लिइनेछ । भोटेकोशी क्षेत्रमा पानीसँग सम्बन्धित थुप्रै पेसा–व्यवसाय गर्न सकिने भएकाले यस योजनामा काम भइरहेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कोर्स सञ्चालनका लागि ‘नेसनल ह्वाइट वाटर स्कुल बलेफी’ कार्यविधि बनेको छ । नाथमले कार्यविधिकै आधारमा सञ्चालन समितिसमेत बनाइसकेको छ । सञ्चालन समितिमा नाथम, पर्र्यटन विभाग, स्थानीय सरकार, पर्यटन व्यवसायीलगायत छन् । सरकारी संरचना र नाथमले नै कक्षा सञ्चालन गर्ने भएकाले यो कोर्स तुलनात्मक सस्तो हुनेछ । सञ्चालनमा आउन लागेको र्याफ्टिङ स्कुलको पाठ्यक्रम डिजाइनकै चरणमा छ ।
र्याफ्टिङ कोर्स अध्ययनको लागि भिन्दै स्थायी संरचना बनेको पहिलोपटक हो । यद्यपि, नाथम, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट (नारा), नेपाली सेना र नेपाल प्रहरीले केही तालिम सञ्चालन भने गर्दै आइरहेका छन् । नयाँ स्कुलले नियमित रूपमा र्याफ्टिङ जनशक्ति उत्पादन गर्नेछ । ‘आजभन्दा ५० वर्ष पहिलेदेखि नेपाल र्याफ्टिङ सुरु भएको थियो, तर यससम्बन्धी अध्ययन, अनुसन्धान र यसलाई पर्यटन व्यवसायमा व्यवस्थित गर्न सकिएको छैन,’ नाथमका सूचना अधिकारी पण्डितले भने, ‘अब हामीले सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा यससम्बन्धी अध्ययन, अनुसन्धान र थुप्रै जलपर्यटनका कार्यक्रमहरू सञ्चालन गर्छौँ ।’
उनका अनुसार पहिले–पहिले नेपालमा र्याफ्टिङ तालिम दिनका लागि विदेशी बोलाइन्थ्यो । तर, पछिल्ला वर्षहरूमा नाथमले समयसमयमा तालिम दिएर केही जनशक्ति तयार पारिसकेको छ । तर, जनशक्ति पुग्दो भने छैन ।
विदेशमा १० लाखसम्म कमाइ
र्याफ्टिङ आफैँमा साहसिक र जोखिमपूर्ण व्यवसाय मानिन्छ । नाराका अनुसार हाल नेपालमा झन्डै सात हजार र्याफ्टिङ गाइड छन् । तालिम लिएका अधिकांश विदेश जाने हुँदा दक्ष जनशक्तिको अपुग छ । कतिपय ६ महिना नेपाल ६ महिना विदेशमा काम गर्छन् । नेपालमा हिउँदमा बस्ने र बर्खाका वेला र्याफ्टिङ तथा रिभरगाइड बनेर विदेश जान्छन् । हाल जापान, स्पेन, इटाली फ्रान्समा रिभरगाइडको माग बढ्दो छ । पछिल्लो समय दुबई, कतार, मलेसियाजस्ता देशहरूले कृत्रिम खोला बनाएरसमेत र्याफ्टिङ व्यवसाय गरिरहेका छन् । ‘मुख्यत: तलब पनि बढी हुने भएकाले नेपालमा तालिम लिएका विदेश जान्छन्,’ नाथमका सूचना अधिकारी पण्डितले भने, ‘नेपालमा ४० हजार कमाउँछन् । तर, तिनै रिभरगाइड विदेश गएर तीनदेखि १० लाख रुपैयाँसम्म कमाउँछन् ।’
तीन तहबिच समन्वय नहुँदा सञ्चालनबारे अझै अन्योल
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन समिति (नाथम)ले ‘नेसनल ह्वाइट वाटर स्कुल बलेफी’ कार्यविधि पास गरिसकेको छ । कार्यविधिकै आधारमा र्याफ्टिङ स्कुल सञ्चालक समिति बनेको छ । तीन तहका सरकारबिच नै समन्वयको कमी हुँदा सञ्चालनबारे अन्योल छ । पालिका, प्रदेश सरकार, स्थानीय व्यवसायी र नाथमबिच शैक्षिक संरचना कसले सञ्चालन गर्ने भन्नेबारे विवाद छ । पालिका, बागमती सरकार र स्थानीय व्यवसायीले सञ्चालनका लागि माग गरिरहेका छन् । तर, र्याफ्टिङ तथा पर्यटक क्षेत्रसम्बन्धी शैक्षिक क्रियाकलाप गर्दै आइरहेको आधिकारिक निकाय नाथम यो स्कुल आफैं सञ्चालन गर्न चाहन्छ । ‘यस्तो स्कुल नै बनाएर दक्षिण एसियामा र्याफ्टिङको शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छैन । त्यसैले नेपालमा पहिलोपटक बनेको यस्तो शैक्षिक कार्यक्रम व्यवस्थित र प्रभावकारी हुनुपर्छ,’ नाथमका सूचना अधिकारी ज्ञानेन्द्रराज पण्डितले भने, ‘र्याफ्टिङ तथा पर्यटन व्यवसायसँग सम्बन्धित शैक्षिक कार्यक्रम गर्ने मुख्य निकाय नाथम नै हो, तर कसले चलाउने भन्नेमा अन्योल छ ।’