मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
Invalid date format २o:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका चार पालिकामा आइतबार सार्वजनिक बिदा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५o:oo

कञ्चनपुरका चारवटा पालिकाले आइतबार सार्वजनिक बिदा दिएका छन्। रानाथारू समुदायको प्रमुख पर्व तिजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले रानाथारूको प्रमुख पर्व तिजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।

‘बहुधार्मिक, बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वहरूले सामाजिक एकता तथा भ्रातृत्वलाई कसिलो बनाउँछ,’ उहाँले भने, ‘पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययी बनाउन आग्रह गर्दछु।’

लालझाडी गाउँपालिकाले साउन ११ र १३ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाले रानाथारू समुदायका महिलाको तिज पर्व र थारू समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको बताए। बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएका छन्।

रानाथारू समुदायका महिलाले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने गरेका छन्। रानाथारू समुदायका जानकारहरूका अनुसार तिज आउनुअगावै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्छन्।

‘अन्य समुदायले श्रीमानकाे दीर्घायुका लागि तिजको व्रत बस्छन्, तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायुका लागि तिजको व्रत बस्छन्,’ रानाथारू समुदायकी अगुवा प्रेमवती रानाले भनिन्, ‘हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन्।’ उनका अनुसार रानाथारू समुदायका महिलाले माइतीघरमा व्रत बसेर तिज मनाउने प्रचलन छ।

तिज रानाथारू समुदायको महान् पर्व हो। हिन्दु धर्मावलम्बीहरूले भाद्र शुक्ल तृतीयाका दिन तिज मनाउने चलन रहिआएको छ भने रानाथारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने प्रचलन छ। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तिज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उनको भनाइ छ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको स्थानीय चेतराम रानाले बताए। तिज आउनुपूर्व नै मनोरञ्जनका रूपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन छ। यो पर्वमा रानाथारू समुदायका दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै मांगलिक गीत गाउने गर्छन्। तिजमा महिला दिनभरि पानीसमेत नखाएर आफ्नो दाजुभाइको दीर्घायुका कामना गर्दै व्रत बस्ने गर्दछन्।