
नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२औँ संस्करणमा आएर पहिलोपटक काठमाडौंबाहिर हुन लागेको हो।
अवार्डको आयोजनाका लागि शुक्रबार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजनसम्बन्धी सम्झौता भयो। सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्।
विगत १७ वर्षदेखि नियमित रूपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले पाँच वर्षको सम्झौता थप गरेको हो। सम्झौताअनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैयाँबराबरको प्रायोजन गर्नेछ।
मञ्चका अध्यक्ष अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्टस् अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको बताए। ‘काठमाडौँबाहिर लैजाने तयारी केही वर्षअगाडिदेखि नै भइरहेको थियो। सम्भावित केही सहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको वेला सबै पक्ष अनुकूल बनेपछि यसपालिको स्पोर्टस् अवार्ड पोखरा लान सफल भयौँ,’ उनले भने।
एनएसजेएफका महासचिव अञ्जन खड्काले यस वर्ष पनि स्पोर्टस् अवार्डमा १० विधा समावेश गरिएको जानकारी दिए। अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड र टिम अफ दी इयर विधा रहेको छ।
जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी पाँच विधाका खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। त्यस्तै, स्पेसल, लाइफटाइम अचिभमेन्ट, टिम अफ दी इयर र पारा एथलेट सम्मानका विजेताले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
महासचिव खड्काले भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए।