मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ९ शुक्रबार ११:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिभुवन विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्न ६ अर्ब ५४ करोड लागत अनुमान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार ११:३६:oo

त्रिभुवन विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माणका लागि ६ अर्ब ५४ करोड २९ लाख पाँच हजार ५७ रुपैयाँ लागत अनुमान गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको कन्सल्टेन्सी सेवा विभागले बिहीबार आयल निगमलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हस्तान्तरण गर्दै सो लागत अनुमान पेस गरेको हो।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका क्रममा अहिलेको डिपो भएको स्थानमा ‘ट्याक्सी वे’ बनाउने गरी गुरुयोजना तयार गरेको छ । त्यसैले सिनामंगल चोकमा रहेको अहिलेको डिपो गुहेश्वरीस्थित आर्मीको गल्फ कोर्समा स्थानान्तरण गर्न मन्त्रिपरिषद्ले समेत निर्णय गरिसकेको छ । सिनामंगलस्थित निगमले डिपो क्षेत्रमा भोगचलन गरेमध्येको केही जग्गामा तारबार गरेर प्राधिकरणले ट्याक्सी वे निर्माणसमेत गरिसकेको छ ।

प्राधिकरणले आगामी दुई वर्षभित्र नयाँ स्थानमा डिपो निर्माण सक्ने गरी काम गर्न निगमलाई दबाबसमेत दिएको छ । तर, जग्गा प्राप्तिका लागि प्राधिकरणले नै लिज सम्झौता गर्न ढिलाइ गरिरहेको निगमको आरोप छ । डिपो निर्माणस्थल खाली गरेर जग्गा भाडासम्बन्धी सम्झौता भए आगामी भदौमा टेन्डर प्रकाशित गरेर मंसिरदेखि निर्माण थाल्ने योजना रहेको निगमका उपनिर्देशक प्रदीप यादवले जानकारी दिए ।

‘गुहेश्वरीस्थित नयाँ जग्गाा खाली गराएर निगमलाई उपलब्ध गराउन प्राधिकरणबाटै ढिलाइ भइरहेको छ,’ नयाँ डिपो निर्माणको संयोजकसमेत रहेका यादवले भने, ‘जग्गा भाडा सम्झौता चाँडो भए दुई वर्षभित्रै निर्माण सक्ने गरी अगाडि बढ्ने थियौँ ।’

आयल निगमको सिनामंगल डिपोमा कार्यरत इन्जिनियर अनुपम पराजुलीले सुरक्षाको जोखिम र आधुनिक प्रविधियुक्त संरचनाको आवश्यकता भएकाले नयाँ डिपो निर्माण गर्न लागिएको बताए । ‘एक वर्षअघि सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि सिनामंगल चोकमै रहेको डिपोले सुरक्षा जोखिम निम्त्याउन सक्नेबारे धेरैतिरबाट चिन्ता प्रकट भयो,’ उनले भने, ‘अर्कातिर, अटोमेसनसहितको नयाँ प्रविधियुक्त संरचना आवश्यक भइसकेको छ । त्यसैले आगामी ५० वर्षको माग धान्न सक्ने क्षमताको नयाँ डिपो बनाउन लागिएको हो ।’

करिब दुई करोडमा डिपिआर तयार

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको कन्सल्टेन्सी सेवा विभागले एक करोड ९८ लाख रुपैयाँमा डिपिआर तयार गरेको हो । ठुला परियोजनाको डिपिआर गर्न टेन्डरमार्फत विदेशी कम्पनीलाई दिने गरेकोमा निगमले पहिलोपटक स्वदेशी प्राविधिकलाई विश्वास गरेर जिम्मेवारी दिएको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका सहायक डिन सुरज लामिछानेले जानकारी दिए । ‘हामीसँग भएको सिप र ज्ञानको उच्च प्रयोग गरेर समयमै डिपिआर तयार गरेका छौँ,’ उनले भने, ‘स्वदेशी जनशक्तिमा ज्ञानको कमी नभएको पनि प्रीट पार्न चाहन्छु ।’

१५ हजार लिटरको भण्डारण बन्ने
नयाँ डिपोमा निगमले १५ हजार किलोलिटर क्षमताको भण्डारणगृह बनाउने भएको छ । थप नौ हजार किलोलिटर क्षमताका तीनवटा भण्डारणगृह बनाउन सक्ने स्थानसमेत खाली छाडिने भएको छ । त्यस्तै, २१ सय किलोलिटर क्षमताका दुईवटा पानीट्यांकी र अटोमेसनमा आधारित फायर फाइटिङ प्रणाली नयाँ डिपोमा जडान हुने भएको छ । अहिले ट्यांकरबाट रिफ्युलरमा हवाई इन्धन ओसारेर सेवा दिने गरेकोमा नयाँ डिपोमा भने विमान पार्किङ गरेकै स्थानसम्म पाइपलाइनबाट तेल लगिने उपनिर्देशक प्रदीप यादवले जानकारी दिए । ‘विमान जहाँ पार्किङ गरेर राखिएको हुन्छ, त्यहीँसम्म अन्डरग्राउन्ड पाइपलाइनबाट तेल लैजाने र पाइपकै सहायतले विमानमा तेल हाल्ने हाइड्रेन्ट रिफ्युलिङ सिस्टम जडान हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय विमानलाई दिइने यो सेवा नेपालमै पहिलोपटक जडान हुन लागेको हो ।’