मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
२o८२ श्रावण ९ शुक्रबार o६:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वचर्चित क्रिकेटरले पारिश्रमिक पाएनन् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार o६:४७:oo
  • केम्यान टी–१० फ्रेन्चाइजमा पारिश्रमिक नपाउँदा डेभिड वार्नर, सकिब अल हसन, एलेक्स हल्स र कार्लोस ब्राथवेट हडतालमा उत्रिँदा पाँच खेल रद्द

केम्यान टी–१० फ्रेन्चाइज लिगमा सहभागी विश्वचर्चित खेलाडीले नियमित पारिश्रमिक पाएका छैनन् । डेभिड वार्नर, सकिब अल हसन, एलेक्स हालेस तथा कार्लोस बाथवेटजस्ता खेलाडीले पारिश्रमिक नपाएको एजेन्सीले खुलासा गरेको छ । पारिश्रमिकका लागि खेलाडीहरू हडतालमा उत्रिँदा एकै दिन पाँच खेल रद्द भएका छन् । जसकारण यो प्रतियोगिताको भविष्य नै अनिश्चित बनेको छ ।

गत वर्ष म्याक्स ६० क्यारेबियन नामबाट टी–१० लिग सुरु भएको थियो । अहिले दोस्रो संस्करण चलिरहेको छ । टी–१० को व्यवस्थापक र खेलाडीबिचको सम्झौताअनुसार प्रतियोगिता सुरु हुनु एक महिनाअघि नै पारिश्रमिक प्रदान गरिनुपर्ने थियो । तर, अधिकांश खेलाडीले सर्तअनुसार पारिश्रमिक नपाएपछि हडताल गरेका हुन् । खेलाडी मैदानभित्र प्रवेश नगरेकै कारण एकै दिन पाँचवटा खेल रद्द भएको क्लिकइन्फोले जनाएको छ । 

‘मैदानबाहिरका समस्याले यसको असर सबैमा परेको छ,’ क्लिकइन्फोले उल्लेख गरेको छ । खेलाडीहरूको हडताललाई विश्व क्रिकेटर संघले समर्थन गरेको छ । फ्रेन्चाइज लिगमा खेलाडीमाथि खेलबाड भएको भन्दै संघले विरोध जनाएको छ । ‘खलाडीले सम्झौताअनुसार पारिश्रमिक पाउनुपर्छ । उनीहरूले अझैसम्म रकम नपाउँदा हामीलाई दु:ख लागेको छ,’ संघका प्रमुख कार्यकारी टम मोफटले भने, ‘खेलाडीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका छन्, तर सम्झौताको कुनै पालना भएन ।’ 

दुबईको बिएमपीको लगानी
दुबईको बिएमपी स्पोर्टस् टी–१० फ्रेन्चाइज लिगको आयोजक हो । यो कम्पनीले पछिल्लो समयमा अबुधाबी, जिम्बावे र श्रीलंका टी–१० लिगमा समेत लगानी गरेको छ । बिएमपीले खेलाडीको समस्याबारे केही जवाफ फर्काएको छैन । कम्पनीका पदाधिकारीले खेलाडीलाई छलफलका लागि नबोलाएको संघका अध्यक्ष टमले बताए । 

विनापारिश्रमिक खेलाडी मैदानमा नजानु उनीहरूको अधिकार भएको उनले बताए । ‘नियमित रूपमा पारिश्रमिक पाउँदा खेलाडीले आफ्नो जिम्मेवारी इमानदारपूर्वक पूरा गर्छन्, जब सम्झौताविपरीत काम हुन्छ, त्यसवेला उनीहरू मैदानमा आएर खेल्छन् भन्ने अपेक्षा गर्नु बेकार हो,’ उनले भने । आइसिसीको मान्यताप्राप्त लिगहरूमा फ्रेन्चाइज लिगको व्यवस्थापकको बदनियतपूर्ण कार्यको सबैबाट विरोध हुनुपर्ने उनले बताए । ‘आइसिसीबाट मान्यताप्राप्त यस किसिमको प्रतियोगितामा खेलाडीले पारिश्रमिक पाउँदैनन् भने योभन्दा ठूलो हास्यास्पद के हुन सक्छ,’ उनले भने, ‘समस्याको सरल समाधान छ । केवल सम्बन्धित पक्षले इमानदारिता देखाउनुपर्छ ।’