
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाललाई सन् २०२४ को आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड प्रदान गरेको छ । सिंगापुरमा शनिबार राति भएको आइसिसीको साधारणसभामा नेपालले लगातार दोस्रोपटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर उपाधि जितेको हो । एसिया क्षेत्रको विजेता भएर नेपाल ग्लोबल छनोटमा परेको थियो ।
क्षेत्रीय विजेताका रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए । वार्षिक साधारणसभामा आइसिसीका अध्यक्ष जय साहले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई ट्रफी प्रदान गरेका थिए । आइसिसीले इन्टरनेटमा नेपाली क्रिकेट समर्थकको बाक्लो उपस्थितिको प्रशंसा गर्दै आएको छ । भौतिक रूपमा पनि नेपाली क्रिकेट टोलीले खेलेका हरेक खेलमा नेपाली समर्थकको उपस्थिति बलियो हुने गरेको आइसिसीले जनाएको छ ।
टेस्ट राष्ट्र बन्ने नेपालको लक्ष्य
साधारणसभामा क्यानका सचिव पारस खड्काले नेपालको आगामी लक्ष्य टेस्ट टोली बन्ने बताएका छन् । खड्काले आफ्नो प्रिजेन्टेसनमा नेपाल प्रिमियर लिग (एनपिएल) र नेपाल क्रिकेटबारे दश मिनेट लामो प्रस्तुति दिएका थिए । ‘नेपालको नयाँ लक्ष्य नै टेस्ट राष्ट्र बन्नु हो,’ खड्काले भने, ‘यो लक्ष्य प्राप्तिका नेपाली घरेलु संरचनामा त्यस्तै खालका प्रतियोगिता आयोजना थालिएको छ ।’ गत वर्षको एकदिवसीय प्रतियोगिताका शीर्ष चार टोलीबिच जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । उनले गत वर्ष भएको पहिलो संस्करणको एनपिएललाई अभूतपूर्व सफलताका रूपमा मानेका छन् । एनपिएलको प्रभावले देशभित्र एकताको भवना सिर्जना भएको उनको भनाइ थियो ।
‘पहिलो संस्करणको एनपिएलमा पूर्वदेखि पश्चिमसम्मका आठ टोलीबिचको प्रतिस्पर्धाले विश्व क्रिकेटको ध्यान केन्द्रित भएको महसुस गरेका छौँ,’ खड्काले भने । साधारणसभामा उनले आफूले नेपालको क्रिकेट यात्रामा दुई दशक बिताएको स्मरण गरेका थिए । आइसिसी डिभिजन ५ देखि एकदिवसीय मान्यता राष्ट्र बन्नसम्म खड्काले नै नेपालको कप्तानी गरेका थिए ।
साधारणसभामा नेपालका पूर्वकप्तानसमेत रहेका खड्काले एनपिएलमाथि विशेष जोड दिएका थिए । ‘गत वर्ष भएको लिगमा भारतका शिखर धवन र विश्वभरका फ्रेन्चाइज क्रिकेट खेलेका न्युजिल्यान्डका जिमी निसमजस्ता स्टार खेलाडी सहभागी भए । वेस्ट इन्डिजका लिजेन्ड ब्रायन लारा एनपिएल हेर्न उपस्थित भए,’ उनले भने, ‘नेपाली क्रिकेटको भविष्यका लागि एनपिएलले ठूलो सम्भावना बोकेको छ । यसको सफलतापछि सरकारले खेलकुद र विशेषगरी क्रिकेटका लागि बजेट दोब्बर बनाएको छ ।’