मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
ओजगे जेन्क
२o८२ श्रावण ५ सोमबार o९:१७:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

शान्तिपूर्ण राजनीतिमा पिकेके

हतियार बिसाएर मूलधारको राजनीतिमा फर्किने सशस्त्र कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)को तयारीलाई टर्किएका राजनीतिक दलहरूले सावधानीपूर्वक स्वागत गरेका छन्

Read Time : > 3 मिनेट
ओजगे जेन्क
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o९:१७:oo

‘हामीले हाम्रा हतियार नष्ट गरेका छौँ,’ हालै एक लडाकु समूहको भेलालाई सम्बोधन गर्दै कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)का वरिष्ठ नेता बेसे होजातले भने । गत शुक्रबार उत्तरी इराकी सहर सुलेमानियाहमा खिचिएको एउटा भिडियो फुटेजमा लडाकुहरूको ठुलो जत्था देखाइएको छ । तिनीहरूमध्ये लगभग ३० जनाले आफ्ना हतियार एउटा कन्टेनरभित्र राखेर आगो लगाएका देखिन्छन् ।

समारोह प्रतीकात्मक हुन सक्छ, तर यसले टर्किएको हालको राजनीतिक इतिहासको सबैभन्दा परिणाममुखी अवधिमध्ये एकलाई दर्साउँछ । समारोहले इसारा र सन्देशको सावधानीपूर्वक योजनाबद्ध अनुक्रमलाई समेट्नुका साथै दुवै पक्ष प्रतीकात्मक रूपमा मात्र समन्वय गरिरहेका छैनन् बरु सशस्त्र द्वन्द्वबाट राजनीतिक संवादमा रूपान्तरण गर्ने आफ्नो उद्देश्यमा पंक्तिबद्ध छन् भन्ने कुरालाई देखाइरहेको छ ।

समारोहको तयारीको कोरियोग्राफी उल्लेखनीय सटिकताका साथ प्रस्तुत भएको थियो, जसले राजनीतिक समन्वय र अनुमान गरिएको संयमता दुवै प्रकट गर्‍यो । पिकेके र टर्किएबिच पारस्परिक मान्यताविना यस्तो पंक्तिबद्धता असम्भव हुने थियो । जुलाई ७ मा टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चार महिनामा दोस्रोपटक आफ्नो देशको कुर्द समर्थक डिइएम पार्टी प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । बैठकपछि मुस्कानसहितको सामूहिक तस्बिर व्यापक रूपमा प्रसारित भयो, जसले संवादको सामान्यीकरण र उच्चतम स्तरमा प्रक्रियाको प्रतीकात्मक अनुमोदन दुवैलाई संकेत गर्दछ ।

त्यसको दुई दिनपछि जुलाई ९ मा जेलमा रहेका पिकेके नेता मुहमद ओकालान पिकेकेसम्बद्ध मिडिया आउटलेट एएनएफले जारी गरेको सात मिनेट लामो भिडियोमा देखापरे । उनी २६ वर्षमा पहिलोपटक सार्वजनिक रूपमा देखिएका थिए । उनको उपस्थितिले एक सरल, तर ऐतिहासिक सन्देश बोकेको थियो : हतियारको युग समाप्त भएको छ ।

सन् १९७८ मा स्थापना भएदेखि यो समूहले कुर्दहरूको स्वायत्तता र अधिकारको माग गर्दै टर्किए राज्यविरुद्ध लामो सशस्त्र संघर्ष गर्दै आएको छ । तर, दशकौँको विद्रोहपछि क्षेत्रीय परिदृश्य परिवर्तन भएको छ । 

भिडियोमा ओकालनले आन्दोलनको मूल उद्देश्य कुर्दिश पहिचानको मान्यताप्राप्त भएको र राजनीतिक संलग्नताले अब सशस्त्र प्रतिरोधलाई प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिए । सन्देशले सर्वसाधारण र पिकेकेलाई उत्तिकै महत्व राख्थ्यो ।अन्तमा, जुलाई १३ मा एर्दोगानले सत्तारूढ एके पार्टीको भेलालाई सम्बोधन गर्ने क्रममा निशस्त्रीकरण प्रक्रियाप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै यसको कानुनी ढाँचालाई सम्बोधन गर्न संसदीय आयोग स्थापना गरिने घोषणा गरे । उनको सन्देशले ठुलो संख्यामा रहेका मानिस  विशेष गरी उनका समर्थकहरूलाई यो प्रक्रियाले राष्ट्रिय एकतालाई बलियो बनाउँनेछ र टर्किएका सबै नागरिकलाई फाइदा पु‍र्‍याउनेछ भन्ने कुरामा आश्वस्त पार्ने उद्देश्य राखेको थियो, चाहे तिनीहरूको जातीयता जेसुकै होस् ।

 सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिक यात्रा
ओकालनको दुर्लभ भिडियो सन्देशले आफ्ना कुर्दिश समर्थकलाई यो हार होइन, बरु पुनर्मूल्यांकन हो भनेर आश्वस्त पार्ने उद्देश्य राखेको थियो । सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिक यात्रा । सन्देशलाई सावधानीपूर्वक मूल्यांकन गरिएको थियो र विजयवादलाई हटाइएको थियो । सन्देशले विगतलाई महिमाको प्रस्तुत गर्नुको सट्टा पुनः परिभाषित गर्न खोजेको देखिन्थ्यो ।

हतियार जलाउने समारोहको मर्यादित स्वरले पिकेके र राज्य दुवैको सहअस्तित्वलाई स्वीकार गरेको छ । यसले पिकेकेको संघर्षका लागि बलिदान दिनेहरूलाई (कार्यकर्ता, जेल वा निर्वासनमा रहेका राजनीतिज्ञ, र बेपत्ता पारिएकाहरूका परिवारहरूलाई) अलग गरेन । बरु, यसले उनीहरूको आवाज सुनिएको संकेत गर्‍यो । 

वर्षौँदेखि एक्लोपनमा बिताएका भए पनि ओकालनका शब्दले अझै पनि महत्व राख्छ । उनको प्रतीकात्मक विज्ञताको कारणले मात्र होइन, बरु उनको सन्देशले धेरै कुर्दहरूले अहिले खोजेको कुरालाई प्रतिबिम्बित गर्दछः सहिदविनाको सम्मान, हिंसाविनाको आवाज र सशस्त्र संघर्षभन्दा बाहिरको भविष्य ।

राज्यको अभिप्रायमा लामो समयदेखि शंका गर्नेहरूमा पनि निशस्त्रीकरणका लागि सार्वजनिक समर्थन बढ्दै गएको छ । ९० प्रतिशतभन्दा बढी डिइएम मतदाताका साथै टर्किएमा कुर्द वा जाजा (कुर्दिसछेउछाउको अल्पसंख्यक समूह)ले पनि हतियार बिसाउने प्रक्रियालाई समर्थन गरेका हालैका सर्वेक्षणहरूले देखाएका छन् । पिकेकेले पूर्ण रूपमा निशस्त्रीकरण गर्नेछ भन्ने विश्वास पनि औसतभन्दा उल्लेखनीय रूपमा उच्च छ ।

पिकेकेको निशस्त्रीकरण गर्ने निर्णय प्रस्थान होइन, बरु पुनर्संरचना हो । सन् १९७८ मा स्थापना भएदेखि यो समूहले कुर्दहरूका लागि स्वायत्तता र अधिकारको माग गर्दै टर्की राज्यविरुद्ध लामो सशस्त्र संघर्ष गर्दै आएको छ । तर, दशकौँको विद्रोेहपछि क्षेत्रीय परिदृश्य परिवर्तन भएको छ । उत्तरी इराक र सिरियामा पिकेकेको सञ्चालन क्षेत्रमा परिवर्तन भएको छ । पिकेकेसँग सम्बन्धित एक प्रमुख समूह सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ) उत्तरपूर्वी सिरियामा सक्रिय रहेको छ । 

इरानको कमजोर हुँदै गएको क्षेत्रीय प्रभाव, टर्कीको निरन्तर सैन्य दबाब र स्थिर टर्किएका लागि पश्चिमी खेलाडी बिचको शान्त तर बढ्दो प्राथमिकताले पिकेके समूहको रणनीतिक गणनालाई पुनः आकार दिन योगदान पु¥याएको छ ।यस पृष्ठभूमिमा टर्किएमा निशस्त्र र राजनीतिक रूपमा संलग्न कुर्दिश आन्दोलन कुनै पृथक् विसंगति होइन । यस सन्दर्भमा पिकेकेले युद्धभूमि छोडेर राजनीतिक क्षेत्रमा प्रवेश गर्ने छनोट गरेको छ । ओकालनले जुलाई ९ को आफ्नो सन्देशमा भनेका छन्, ‘म हतियारको बलमा होइन, शान्तिको बलमा विश्वास गर्छु ।’

हतियार जलाउने समारोह निशस्त्रीकरण प्रक्रियाको अन्त्य होइन । टर्कीको संसदीय आयोगले टर्किएमा नागरिक र राजनीतिक जीवनमा पिकेके लडाकुको पुनः एकीकरणका लागि सर्त परिभाषित गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, टर्कीको सशस्त्र बल र गुप्तचर एजेन्सीसहितो प्रमाणीकरण संयन्त्रले निशस्त्रीकरणको निगरानी गर्नेछ र थप कदम निर्देशित गर्न प्रतिवेदन जारी गर्नेछ ।

पिकेकेका वरिष्ठ नेता होजातले समारोहलाई राजनीतिक कोसेढुंगाको रूपमा प्रस्तुत गरे र टर्कीमा कुर्दिशहरूको प्रमुख केन्द्र अमेद दियारबाकिरे, अंकारा र इस्तानबुलमा लोकतान्त्रिक राजनीतिको अग्रगामी बन्ने लक्ष्य व्यक्त गर्दै नागरिक राजनीतिमा प्रवेश गर्ने समूहको महत्वाकांक्षालाई पुनः पुष्टि गरे । तैपनि, यो संक्रमण सामाजिक तथा राजनीतिक रूपमा व्यावहारिक हुन विश्वसनीय सुनिश्चिततामा निर्भर रहन्छ । र, टर्कीमा नागरिक समाज समूह र मानवीय संस्थाले पूर्ण निशस्त्रीकरणको आगामी चरणमा सक्रिय भूमिका खेल्ने सम्भावना छ ।