मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
अशोक स्वैन
२o८२ श्रावण ५ सोमबार o९:४o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युद्धको क्षति लुकाउँदा लोकतन्त्रलाई क्षति

Read Time : > 2 मिनेट
अशोक स्वैन
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o९:४o:oo

मे महिनामा एकअर्कासँगको भिडन्तपछि भारत र पाकिस्तान भाष्यको नियन्त्रणको प्रतिस्पर्धामा उत्रिए । पाकिस्तानले ‘अपरेसन सिन्दुर’अन्तर्गत तीन रफालसहित पाँच भारतीय लडाकु विमान खसालेको दाबी गर्‍यो । र, रोयटर्स, सिएनएन र बिबिसी भेरिफाईले पाकिस्तानको दाबीलाई केही हदसम्म पुष्टि गरे । तर, भारतले हालसम्म क्षतिको कुनै स्पष्ट विवरण दिएको छैन । यस सम्बन्धमा सेनाका अधिकारीहरूबाट केही अस्पष्ट अभिव्यक्ति मात्र बाहिरिएको छ ।

भारतको मौनताले पाकिस्तानलाई भाष्य निर्माणमा अग्रता दिलायो । साथै, यसले जनताको सुसूचित हुने अधिकारलाई कमजोर बनायो, रणनीतिक मूल्यांकनलाई विकृत बनायो भने सैन्य सबकमा अवरोध पुर्‍यायो । भारतको मौनताले धेरै अड्कलबाजीलाई जन्म दियो : झारिएको रफाल एउटा थियो वा दुईवटा वा तीनवटा ? 

भूउपग्रहीय निगरानी र खुला स्रोत सूचनाको युगमा युद्धका तथ्य लुकाउनु असम्भवजस्तै छ । तर, धेरै राष्ट्र अझै पनि आफ्नो क्षति ढाक्छन् । रुस, इजरायल र भारतले यही प्रवृत्ति देखाएका छन् । दृश्य नियन्त्रणको चाहनाले घरेलु मनोबल र राजनीतिक संरक्षण त दिन सक्छ, तर यसको असर दीर्घकालीन र गम्भीर हुन सक्छ । युक्रेन युद्धमा रुसको प्रोपगान्डा र यथार्थबिचको अन्तर झनै स्पष्ट देखियो । सन् २०२२ मा आक्रमण सुरु भएदेखि नै क्रेमलिनले योजनाअनुरूप नै प्रगति भएको दाबी गरिरह्यो, युक्रेनी प्रतिरोधलाई कमजोर देखाइरह्यो, र क्षतिको विवरण लुकाइरह्यो । तर, स्वतन्त्र स्रोतले हजारौँ मृतक, कमजोर तयारी र नेतृत्व संकटको उजागर गरेको छ । कठोर सञ्चार नियन्त्रणका बाबजुद रुसी जनताले युद्धको यथार्थ बुझ्न थालेका छन् । 

नेताहरू आफ्नै प्रोपगान्डामा विश्वास गर्न थालेका छन् र जोखिम नबुझी विनाशतर्फ अघि बढिरहेका छन्

इजरायलले पनि इरानको मिसाइल आक्रमणपछि सफलताको मात्र भाष्य प्रवाह गर्‍यो । अधिकांश मिसाइल रोकिएको र साझेदारी सशक्त भएको भनियो, तर स्वतन्त्र रिपोर्टिङले वास्तविक क्षति र घाइते वा मृतकको संख्या बढी देखायो । सरकारको आत्मविश्वासपूर्ण छविले कमजोरी ढाक्न प्रयास भयो, तर सफल भएन । 

भारतले पाकिस्तानसँगको पछिल्लो तनावमा पनि यही शैली अपनायो । कारबाही सफल भएको भनिए पनि क्षतिको स्वीकारोक्ति बाहिर आएन । तर, स्वतन्त्र स्रोतले दुवै पक्षले क्षति व्यहोरेको र कोही पनि स्पष्ट विजेता नभएको संकेत गरे । भारतको मौनताले सैन्य सुधारका लागि आवश्यक आत्मसमीक्षाको क्षमतामाथि प्रश्न उठाएको छ ।

युद्धमा असफलता लुकाउने प्रवृत्ति नयाँ होइन । भियतनाम युद्धमा पनि अमेरिकी सेनाले ‘प्रगति भइरहेको छ’ भन्दै प्रतिवेदन बुझाउँथ्यो । तर, सन् १९६८ को टेट आक्रमणपछि भाष्य र यथार्थबिचको अन्तर स्पष्ट भयो । ‘विश्वसनीयताको खाडल’ले जनआस्था तोड्यो र युद्ध रणनीतिमा पुनर्मूल्यांकन गर्न बाध्य बनायो ।

सन् १९७३ को योम किपुर युद्धमा अप्रत्याशित आक्रमण भोगेका इजरायली फौजले प्रारम्भिक चरणमै ठुलो जनधन र भूभाग गुमायो । सुरुमा सरकारको सन्देश ‘अन्ततः विजय प्राप्त भयो’ भन्ने थियो । तर, घरेलु आक्रोश चर्किएपछि ‘अग्रानत आयोग’ गठन गरियो । आयोगले गुप्तचर र सैन्य रणनीतिमा भएका गम्भीर त्रुटि उजागर गर्‍यो । यही पीडादायी आत्मसमीक्षाले दशकौँसम्म इजरायली सेनामा सुधारको मार्गप्रशस्त गरेको छ ।

भारतको सन् १९६२ मा चीनसँग भएको युद्ध ‘अस्वीकारको मूल्यबोध’ गराउने अर्को उदाहरण हो । लज्जास्पद हारपछि भारतीय सत्ताले असफलता ढाक्न खोज्यो । रासनपानी बन्दोबस्तीमा भएका विफलता र रणनीतिक त्रुटिका प्रतिवेदन लुकाइए र दबाइए । यसले संस्थागत सिकाइमा अवरोध निम्त्यायो । तिनै कमजोरीपछि फेरि चीनसँगका अन्य सीमा संघर्षमा दोहोरिए ।

वास्तवमा सैन्य संगठन तब मात्र बलियो बन्छन्, जब उनीहरू असफलताबाट सिक्न तयार हुन्छन् । प्रभावकारी युद्ध क्षमता इमानदार आत्ममूल्यांकनमा निर्भर हुन्छ । अर्थात्, के गलत भयो ? प्रणाली कहाँ चुक्यो ? कसरी सुधार गर्ने ? जस्ता प्रश्नको उत्तर खोज्न तयार हुनुपर्छ । तर, जब क्षति लुकाइन्छ सिकाइ प्रक्रिया नै अवरुद्ध हुन्छ । यसले क्षमतामा देखिएको भ्रम, झुटा आत्मविश्वास र रणनीतिक जडता निम्त्याउँछ ।

लोकतन्त्र कमजोर हुने आधार : यो प्रवृत्तिका राजनीतिक असर गम्भीर छन् । लोकतान्त्रिक समाजमा सैन्य क्षति लुकाउँदा नागरिक नियन्त्रण र जनविश्वास कमजोर हुन्छ । नागरिकले आफ्नो नाममा लडिएको युद्धको सत्य विवरण जान्न पाउने हक राख्छन् । अधिनायकवादी सत्तामा यो प्रवृत्ति अझ खतरनाक हुन्छ, जहाँ सार्वजनिक निगरानीको अभावले गलत रणनीति ज्युँका त्युँ रहन्छ र असन्तोष दबाइन्छन् ।

नतिजा सेना पटक–पटक उही गल्ती दोहो¥याउँछ । रणनीतिक हिसाबले पनि ‘केही गलत भएन’ भन्ने ढोंगले प्रत्युत्पादक असर पार्छ । शत्रुहरूले भग्नावशेष विश्लेषण, सञ्चार निगरानी र सैन्य गतिविधिको ट्र्याकिङ गर्छन् । जब सार्वजनिक भाष्य यथार्थसँग मेल खाँदैन राष्ट्रले विश्वसनीयता गुमाउँछ र यही विश्वसनीयता नै वास्तवमा मुलुकको प्रतिरोधी शक्तिको आधार हो । थप खतरनाक कुरा के हो भने, नेताहरू आफैँले बनाएको प्रोपगान्डामा विश्वास गर्न थालेका छन् उनीहरूले जोखिम नबुझी विनाशतर्फ कदम चालिरहेका छन् ।

सैन्य कारबाहीमा गोपनीयता आवश्यक भए पनि कारबाही रोकिँदा पारदर्शिता अनिवार्य हुन्छ । यसले स्वतन्त्र समीक्षा, अग्रपंक्तिका सैनिकको अनुभव सुन्ने, निष्कर्ष सार्वजनिक गर्ने र सेनामा इमानदारीको संस्कार विकास गर्ने माग गर्छ । जुन राष्ट्र युद्धपछि बलियो रूपमा उदाएको छ त्यो असफलतालाई बोझ नभई सिकाइ मान्छन् । युद्धमा केवल हतियार मात्र नभई राष्ट्रका संस्थाको लचिलोपन र सामथ्र्यको पनि परीक्षा हुन्छ । गल्ती स्विकार्ने, सुधार्ने क्षमता नै परिपक्व राष्ट्रको पहिचान हो । अस्थिर छिमेक भएको भारत, बहुआघातको सामना गरिरहेको इजरायल, वा दीर्घकालीन द्वन्द्वमा अल्झिएको रुसजस्ता राष्ट्रका लागि ‘अजेयताको भ्रम’ शक्ति नभई धोका हो । साँचो सुरक्षा अस्वीकृतिमा नभई सत्य स्विकार्न सक्ने साहसबाट प्राप्त हुन्छ ।

(स्वैन उप्सला विश्वविद्यालयका शान्ति एवं द्वन्द्वका प्राध्यापक हुन् ।) स्क्रोलबाट