मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format १२:३९:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

कोशी प्रदेशका दुई उपमहानगर : धरान र इटहरीले ल्याउन सकेनन् बजेट

दुबै उपमहानरमा ‘बजेट होलिडे’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कोशी प्रदेशका दुई उपमहानगरपालिका धरान र इटहरीको बजेट ल्याउन सकेका छैनन्। जसकारण दुवै उपमहानगरमा १ साउनबाट ‘बजेट होलिडे’को अवस्था सिर्जना भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले १० असारसम्ममा बजेट ल्याइसक्नुपर्ने र असार मसान्तसम्म पारित गरिसक्नुपर्ने हुन्छ।

धरानमा नगरप्रमुख हर्कराज राई र उपप्रमुख आइन्द्राविक्रम बेघाबिचको विवादले र इटहरीमा अनुसूचीविनाको बजेटलाई कार्यपालिका सदस्यहरूले स्वीकार नगर्दा दुवै उपमहानगरमा बजेट पारित हुन नसकेको हो। धरानमा लामो समयदेखि प्रमुख–उपप्रमुखबिच भएको विवाद र वडाध्यक्षहरूबिचको टकरावले गर्दा पटकपटक बसेको नगरसभाले पनि बजेट पास गर्न सकेको छैन। 

यसअघि जनप्रतिनिधिबिच बजेट र नीति तथा कार्यक्रममा नै विवाद भएर पटकपटक तोकिएको नगरसभा स्थगित हुँदै आएको थियो । छलफल तीव्र रूपमा भइरहेको र चाँडै सबै विवाद टुंग्एयर बजेट ल्याउने उपप्रमुख बेघाले जानकारी दिए। ‘विविध कारणले गर्दा ढिलो भयो,’ उनले भने, ‘हामी निरन्तर छलफल नै गरिरहेका छौँ, ३२ असारमा नि छलफल भयो अब २ साउन (शुक्रबार) पनि बाँकी छलफलले धेरै कुरो टुंगिन्छ।’ 

अघिल्लो वर्ष पनि नगरप्रमुख राई र वडाध्यक्षहरूबिचको विवादले निर्धारित समयमा बजेट पेस गर्न सकेको थिएन। यस वर्ष पनि आन्तरिक विवादका कारण बजेट निर्माण तथा छलफलमा समय लागिरहेको छ । यस वर्ष पनि गत असारको पहिलो हप्ता प्रमुख र उपप्रमुखबिच विवाद सिर्जना भएको थियो । श्रमदानमा प्रयोग गरिएको नगरको गाडीको चाबी उपप्रमुखले खोसेको र भुक्तानी रोकेको विषयमा दुई पक्षका समर्थकबिच पनि विरोध र नाराबाजी भएको थियो । वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले स्रोत अनुमान समितिको बैठक २ साउन (आज) बस्ने र समितिको बैठकचाहिँ सकिने उनले बताए । ‘शुक्रबार बस्ने समितिको बैठकले सम्भवतः सबै छलफल सक्छ,’ उनले भने, ‘त्यसपछि कार्यपालिकाको बैठकमा जान्छ र करिब १५–२० गतेसम्ममा बजेट पारित भइसक्छ ।’

इटहरीमा अनुसूचीविनाको बजेट पास भएन
त्यस्तै, इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष ०८२।८३ को बजेट पारित हुन सकेको छैन । ३२ असारमा बसेको १६औँ नगरसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । इटहरी उपमहानगरको बजेट अव्यवस्थित र कानुनी प्रावधानविपरित भएको तथा अनुसूची पनि नभएको बजेट उपप्रमुख संगीता चौधरीसहित केही कार्यपालिका सदस्यहरूले पास गरेनन् । 

अनुसूचीसहितको विधेयक ल्याउनुपर्ने जिम्मेवारी आफ्नै भए पनि सबैतिरबाट बजेट सिलिङ नआउँदा समस्या भएको उपप्रमुख चौधरीले जानकारी दिइन् । ‘२० मध्ये १५ वटा वार्डबाट र सबै शाखा–महाशाखाबाट बजेट सिलिङ प्राप्त भयो,’ उनले भनिन्, ‘तर, पाँचवटा वार्ड र प्रमुखज्यू संयोजक रहेका  शिक्षाबाट सिलिङ नआउँदा अनुसूची बनाउन समस्या भएको हो।’ उनले सो कारण अनुसूचीविनाको बजेट नगरसभाबाट पास नगरेको बताइन् ।

उता नगरप्रमुख हेमकर्ण पौडेलले संयुक्त छलफलपश्चात् बनेको बजेट एमालेका जनप्रतिनिधिहरूको कारण पास नभएको आरोप लगाएका छन् । उपुप्रमुख चौधरीले गत १० असारमा भएको नगरसभामा प्रस्तुत गरेको विवरणअनुसार कुल अनुमानित बजेट रकम दुई अर्ब ५५ करोड २१ लाख रहेको छ । 

नेकपा एमालेको पत्रकार सम्मेलन
नेकपा एमाले इटहरीलेले बिहीबार पत्रकार सम्मेलन गर्दै ३२ असारभित्र बजेट निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि नगर प्रमुखको गैरजिम्मेवार असंवेदनशील गतिविधि र क्रियाकलापका कारण यो परिस्थिति सिर्जना भएको जनाएको छ । उपप्रमुखसमेत रहेकी एमाले नेता चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतका वर्षहरूमा समेत अनुसूचीविना बजेट पास गर्दा बेरुजुसमेत धेरै देखिने गरेकोले यस वर्ष पनि विनियोजन विधेयक अनुसूचीसहितको ल्याउनुपर्ने जनाइएको छ ।

 विनियोजन विधेयक (अनुसूचीसहितको) ल्याउन पटकपटक प्रयत्न र अनुरोध गर्दा पनि शाखा, महाशाखा, वडा शिक्षालगायतको अनुसूची असार मसान्तसम्म उपलब्ध नगराएकाले अनुसूचीसहितको विनियोजन विधेयक तयार गर्न नसकिएकाले सभामा पेस गर्न असमर्थ रहेको चौधरीले बताइन् ।