मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
२o८२ श्रावण २ शुक्रबार o९:३३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लिचीघारीको जग्गा विवाद : ‘बिचौलिया’ सुजनविरुद्ध  पाँचजनाको उजुरी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार o९:३३:oo

पोखराको लिचीघारीको जग्गा हत्याउन तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भएको घुस डिलका बिचौलिया पोखरा महानगरपालिका– २५ का सुजन लामाविरुद्ध कास्की प्रहरीमा पाँचवटा ठाडो उजुरी परेका छन् । लामाविरुद्ध जाहेरी दरखास्त नआए पनि आर्थिक लेनदेन र शान्तिसुरक्षाको माग गर्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शान्तिसुरक्षाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट समेत प्रहरीलाई पत्र आएको छ । लामाले करिब एक करोड ५० लाख रकम सापटी लगेको र माग्न जाँदा डर, धाक, धम्की दिने गरेको भन्दै पीडितहरू प्रहरीमा पुगेका हुन् । ‘जाहेरी दरखास्त आएको छैन । ठाडो उजुरी मात्र आएकाले बुझ्ने काम भइरहेको छ,’ कास्की प्रहरीका एक अधिकृतले भने । 

बिचौलिया लामालाई साक्षी राखेर ७० प्रतिशत जग्गा अरूलाई दिने गरी दुर्गाका नातिहरूले नै गरे करारनामा पोखरा महानगरपालिका– १६, बाटुलेचौरमा कम्तीमा १३५ रोपनी जग्गाको ७० प्रतिशत अरूलाई दिने गरी दुर्गादेवी शाहका नातिहरूले करारनामा गरेको पाइएको छ । तर, दुर्गाका नाति सुनील शाहले ०८० माघमा एक वर्षका लागि करारनामा भएको र हाल खारेज भइसकेको प्रतिक्रिया दिए । राणा परिवारकी शाहको ०५९ मा निधन भइसकेको छ । यो अवस्थामा अदालतको फैसलाको ४१ वर्षपछि नातिहरू जग्गाका लागि जागेका हुन् । यसअघि दुर्गाले ०४० देखि आफू जीवित रहुन्जेलसम्म जग्गाका लागि कुनै प्रक्रिया थालिनन् । तर, जसकारण जग्गा नामसारी हुन सकेको थिएन । त्यसमा सुजन लामासहितका बिचौलिया प्रवेश भएका हुन् ।

२४ माघ ०८० मा सुजन लामालाई साक्षी राखेर ७० प्रतिशत जग्गा अरूलाई दिने गरी दुर्गाका नातिहरूले गरेको करारनामाबाट प्रस्ट हुन्छ । करारनामा वडा कार्यालय पोखरा– १६ ले दुई सय दस्तुर लिएर प्रमाणीकरण पनि गरेको छ । जग्गा दर्ता हुन आउने कुल जग्गामध्येबाट ३३ प्रतिशत प्रथम पक्ष (शाह परिवार)ले पाउने र बाँकी ७० प्रतिशतमध्येको ४० प्रतिशत यमकुमारी गुरुङ र बाँकी २७ प्रतिशत देवबहादुर मल्लले पाउने गरी दुवै पक्षबिच मन्जुरीमा सहमति भएको उल्लेख छ । 

‘प्रथम पक्षले हजुरआमा दुर्गादेवी शाह वादी तथा प्रतिवादीहरू राजेन्द्र राणासमेत अन्य प्रतिवादी हरिप्रतापजंग राणासमेत रहेको एक थान र यसैगरी वादी लोकदिव्यश्वरी शाह र प्रतिवादी हरिप्रतापजंग राणा भएको २०२८, २०३१ र २०४० सालको अदालतको फैसलाबमोजिम हक कायम, जग्गा किचलोसमेत मुद्दामा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराबाट फैसला भएबमोजिम दुर्गादेवी शाहले पाउने ठहर भएको नक्सा नम्बर २५, २६ र २८ को जग्गा हालसम्म पनि हामी कानुनी हकदार प्रथम पक्षको नाममा दा.खा. दर्ता नामसारी गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा लिन बाँकी रहेको उक्त जग्गा गैरकानुनी रूपमा अन्य व्यक्ति तथा संस्थाले जालसाजीपूर्वक नापी गरेको विषय हालसालमा हामी पथम पक्षलाई थाहा हुन आएको हुँदा अब कानुनबमोजिम उक्त जग्गाको दर्ता, दा.खा. नामसारी र अदालतको फैसला कार्यान्वयन गर्ने गरी सम्पूर्ण कामको जिम्मा यो करारनामामा उल्लेखित प्रथम पक्षले दोस्रो पक्षलाई दिन सहमत भएको हो,’ करारनामामा उल्लेख छ । जग्गा नामसारी गर्दा लाग्ने सम्पूर्ण खर्च भने शाह परिवारले नव्यहोर्ने उल्लेख छ । 

करारनामा प्रथम पक्ष दुर्गाकी बुहारी गीतादेवीसँगै नातिहरू सुरज र सुनील शाह ठकुरीले ७० प्रतिशत जग्गा दोस्रो पक्ष स्याङ्जाकी यमकुमारी गुरुङ र स्याङ्जाका देवबहादुर मल्लसँग करारनामा सम्झौता गरेका छन् । करारनामामा साक्षीका रूपमा लामासँगै पोखरा– १६ की मनकुमारी शाह ठकुरी छिन् ।

‘दुई वर्षअघि नेताहरू घरमा आएपछि फैसलाबारे थाहा पायौँ’ 
दुर्गादेवीकी छोरी ७७ वर्षीया देवीमाया थापाले अदालतले गरेको फैसला आफ्नी आमालाई थाहा नहुँदा जग्गा दर्ता छुटेको बताइन् । तत्कालीन रानी पोखरा आउँदा आफ्नी आमा (मुवा)लाई सो जग्गा बिर्ता दिइएको उनको भनाइ छ । ‘०४० सालमा हामी सानै थियौँ, दाइहरू रोजगारीका लागि विदेश गएकाले अदालतले गरेको फैसला थाहा भएन, भएको भए त्यतिवेला नै आवश्यक प्रक्रिया पुर्‍याएर जग्गा मुमाको नाममा ल्याउँथ्यौँ, तर थाहा नै नभएपछि के गर्ने ?’ उनले प्रश्न गरिन् । 

दुई वर्षअघि घरमा दलका नेताहरू आएर अदालतको फैसलाबारे जानकारी गराएपछि मात्र आफूहरूले जग्गा मुमाको नाममा भएको थाहा पाएको र त्यसपछि अघि बढेको उनले बताइन् । तर, को नेता भनेर उनले खुलाइनन् । 

जग्गा विवादसँगै दर्ताका लागि लागेका र हाल मुख्य बिचौलियाको रूपमा देखिएका सुजन लामासँग मितसाइनो रहेको दुर्गाका नातिहरूले बताएका छन् । ‘लामा हाम्रो परिवारको मितसाइनोभित्रका परिवारका सदस्य हुनुहुन्छ । परिवारको सदस्यसँग सहयोग लिँदा बिचौलियाको आरोप लगाइएको छ,’ दुर्गाका नाति भीमसेन शाहले बताए । बिर्तामा पाएको वि.सं. २०१५ ताका राणा परिवारको स्वामित्व थियो । ०८० मा दुर्गादेवी शाह परिवार खलकका चारजनाले उक्त जग्गामा आफ्नो हक दाबी गरेका थिए । 

दुर्गाका नातिहरू भन्छन्– हकदारको नाममा दर्ता कायम गरियोस् 
लिचीघारीको जग्गा हकदारको नाममा दर्ता कायम गरिदिन दुगादेवी शाहका नातिहरूले सार्वजनिक रूपमा अपिल गरेका छन् । लिचीघारीको जग्गा सम्बन्धमा अदालतको फैसला कार्यान्वयन गरियोस् भन्दै दुर्गाका दुई नातिहरू भीमसेन शाह र सुरज शाहले कानुन कार्यान्वयन संघर्ष समिति गठन गरेका छन् । हकदारको नाममा जग्गा दर्ता कायम गर्न सार्वजनिक रूपमा सरोकारवाला निकायहरूलाई अपिल एवं आग्रह गरेका हुन् । 

आफ्नी स्वर्गीय हजुरआमा दुर्गादेवीको पक्षमा नक्सा नम्बर २५, २६ र २८ को जग्गा अदालतले गरेको फैसलाअनुसार हकदारको नाममा दर्ता गरिदिन सरोकारवाला निकायले अटेर गरेको उनीहरूको भनाइ छ । फैसलाअनुसार जग्गाको भोगचलन आफूहरूले गर्न नपाउँदा हाल सुकुम्बासी भएर बस्नुपरेको गुनासो उनीहरूको छ । 

सुरजका अनुसार तत्कालीन अवस्थामा ०३९ सालमा नै पुनरावेदन भएको र पश्चिमाञ्चल क्षेत्रीय अदालतले पनि जिल्ला अदालतको फैसलाअनुसार दुर्गाको हकभोगमा रहेको नक्सा नम्बर २५, २६ र २८ को जग्गा हक कायम हुने गरी ठहर फैसला भएको थियो । तर, फैसलाबमोजिम हकदारले आफ्नो नाममा दर्ता कायम गर्नका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्दासमेत राज्यका निकायले अदालतको फैसला कायम नगरी पीडितलाई थप पीडा दिएको उनको भनाइ छ । जग्गाको यकिन छैन

दुर्गादेवी शाह र राजेन्द्रजंग राणाबिचको जग्गा खिचलो तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराबाट ०४० मा फैसला भएको देखिन्छ ।

लिखत बदर मुद्दा जग्गा जालसाजी मुद्दामा तत्कालीन गण्डकी अञ्चल अदालत पोखराको फैसला क्षेत्रीय अदालतबाट सदर भएपछि नक्सा नम्बर २५, २६ र २८ को जग्गा दुर्गादेवीको हक कायम हुने भनिएको छ । तर, जग्गा कता पर्छ भनेर यकिन छैन ।

हाल विवादमा रहेको लिचीघारी क्षेत्रमा दुर्गाका परिवार वि.सं. २०१०/११ तिर पर्वतबाट आएका हुन् भने गौचन परिवार ०१६/१७ मा आएर बसेको थियो । गौचन परिवारले ०१९ मा स्थानीय भण्डारी परिवारसँग ३९ र अन्यसँग ८० रोपनी जग्गा खरिद गरेका थिए । त्यसको करिब २१ वर्षपछि मात्र अदालतले नक्सा नम्बर २५, २६ र २८ उल्लेख गरेर सो जग्गा दुर्गाको हुने ठहर गरेको थियो । 

लिचीघारी क्षेत्रमा ०१९ सालदेखि बसोबास गर्दै आएका गौचन परिवारका एक इन्द्र गौचनले आफूहरूका बुवा र काकाले स्थानीयसँग जग्गा किनेर बसोबास गर्दै आएको बताए । हाल आफूहरूको जग्गासमेतलाई देखाएर विवादमा पारिएको भनाइ उनको छ । आफूहरूको जग्गाकै आडमा आफूहरूभन्दा पहिला नै दुर्गादेवी पर्वतबाट आएर बसेको र हाल उनका छोरासमेत सोही स्थानमा बस्दै आएको उनले बताए । ‘अदालतले उल्लेख गरेको नक्सा नम्बरको जग्गा नै कता हो कुनै पत्तो छैन । हामीले ०१९ सालमा किनेको जग्गालाई देखाएर हाल आएर विवाद सिर्जना गरिएको छ,’ उनले भने ।