मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–२० महिला च्याम्पियनसिप, नेपालले गर्‍यो चार खेलमा २२ गोल

राउन्ड रोबिन लिगको चार खेल समाप्तिसम्म नेपालले श्रीलंकालाई दुवै अवसरमा समान ७–० ले हरायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o४:oo

बंगलादेशले आयोजना गरिरहेको साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिनिसिङ लाइन अप बलियो हुँदा नेपालले विपक्षी पोस्टमा लगातार गोल गरिरहेको छ । चार खेलमा नेपालले सर्वाधिक २२ गोल गरेको छ । राउन्ड रोबिन लिगमा सहभागी टोलीमध्ये नेपालले सर्वाधिक गोल गरे पनि अंक–तालिकाको दोस्रो स्थानमा छ । 

नेपालले तीन खेलमा आधा दर्जनभन्दा माथि गोलअन्तरको जित निकाले पनि बंगलादेशसँग भने ३–२ ले पराजित भयो । राउन्ड रोबिन लिगको दोस्रो खेलमा नेपाली खेलाडी सम्हालिन नसक्दा बंगलादेशले इन्जुरी समयको अन्तिम सेकेन्डमा विजयी गोल गरेको थियो । यही हार नेपालका लागि महँगो साबित हुन सक्छ । बंगलादेश प्रतियोगिताको एक मात्र अपराजित टोली हो । उसले चार खेलमा शतप्रतिशत जित निकाली १२ अंक जोडेको छ । गोलअन्तरमा भने बंगलादेश नेपालभन्दा पछि छ । बंगलादेशले चार खेलमा १९ गोल गरेको छ । 

बंगलादेशको पोस्टमा विपक्षीले चार गोल लगाएको छ । चारमध्ये दुई गोल नेपालले बंगलादेशको पोस्टमा गरेको थियो । तेस्रो स्थानमा रहेको भुटानले पनि फिसिनिङ लाइन बिस्तारै बलियो बनाएको छ । भुटानले चार खेलमा सात गोल गर्दा १३ गोल व्यहोरेको छ । श्रीलंका भने डिफेन्स र फिनिसिङमा निकै कमजोर देखिन्छ । श्रीलंकाले विपक्षी पोस्टमा एक गोल गर्दा २८ गोल व्यहोरेको छ । राउन्ड रोबिन लिगमा सर्वाधिक अंक जोड्न टोली नै च्याम्पियन बन्नेछ । पहिलोपटक उपाधि जित्न दोस्रो चरणमा बंगलादेशलाई नेपालले हराउनुपर्नेछ । बराबरी नतिजाले बंगलादेश सहजै विजेता बन्नेछ । उसले लगातार उपाधि हात पार्नेछ । 

गोलकर्ता सूचीको शीर्ष स्थानमा पूर्णिमा
नेपालकी स्ट्राइकर पूर्णिमा राई प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । उनले चार खेलमा सात गोल गरेकी छिन् । प्रतियोगिताको पहिलो खेलमा उनले भुटानविरुद्ध चार गोल गरेकी थिइन् । उनले बंगलादेशसँगको महत्वपूर्ण खेलमा गोल गर्न सकिनन् । यसबाहेक अन्य तीन खेलमा उनले गोल गरेकी छिन् ।  धेरै गोल गर्ने सूचीमा नेपालकै मीना देउवा दोस्रो स्थानमा छिन् । उनले चार खेलमा चार गोल गरेकी छिन् । पहिलो चरणमा श्रीलंकासँगको प्रतिस्पर्धामा उनले ह्याट्रिक गरेकी थिइन् । बंगलादेशकी सागोरिका चार गोलका साथ दोस्रो स्थानमै छिन् । नेपालका सेनु परियार, कुष्मा खतिवडा, सरिताकुमारी नाथ तथा समीक्षा मगरले समान दुई गोल गरेका छन् । साफ च्याम्पियनसिपको आठ खेल समाप्तिसम्म समग्रमा ४९ गोल भएको आयोजकले जनाएको छ । प्रतिखेलमा ६.१२ गोल औसत रहेको छ । 

श्रीलंका फेरि ७–० ले पराजित 
नेपालले लगातार श्रीलंकाविरुद्धको खेलमा समान ७–० को जित निकालेको छ । यसअघि पहिलो चरणमा पनि श्रीलंका नेपालसँग सोही गोलअन्तरमा पराजित भएको थियो । ढाकास्थित बसुन्धारा मैदानमा नेपालको सानदार जितमा समीक्षा मगर र कुुसुम खतिवडा चम्किएका थिए । दुवैले समान दुई गोल गरे । समीक्षा र कुसुम वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । श्रीलंकाको पोस्टमा पूर्णिमा, सरिताकुमारी नाथ र बिर्सना चौधरीले समान एक गोल गरे । सुशीला केसीले पेनाल्टी चुकाउँदा नेपालले अग्रता बढाउने अवसर गुमायो । 

नेपालले अब भुटान र बंगलादेशसँग खेल्न बाँकी छ । प्रतियोगितामा भारत र पाकिस्तान तथा माल्दिभ्सले भने सहभागिता जनाएनन् । श्रीलंकाविरुद्धको खेलमा म्यान अफ दी म्याच भएकी समीक्षाले प्रशिक्षणको रणनीतिअनुसार खेल्दा सहज जित निकालेको बताइन् । ‘प्रशिक्षकको रणनीतिअनुसार खेल्यौँ । त्यसैले पनि सहज जित निस्कियो,’ उनले भनिन्, ‘हामीहरूको मुख्य लक्ष्य नै महत्वपूर्ण खेलमा बंगलादेशलाई हराउनु हो ।’ 

चम्किए समीक्षा र कुसुम 
नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गर्‍यो । कुसुम खेलको ३३औँ मिनेटमा सुक्रिया मियाँको स्थानमा मैदान प्रवेश गरिन् । समीक्षा ६५औँ मिनेटमा पूर्णिमाको स्थानमा मैदान छिरेकी थिइन् । खेलको १६औँ मिनेटमा स्ट्राइकर पूर्णिमाले नेपाललाई १–० को अग्रता दिलाइन् । अट्याकिङ मिडफिल्डर सेनुको क्रस रिबाउन्ड भएको थियो । डिबक्सभित्रै रहेकी पूर्णिमाले नजिकैबाट गोल गरिन् । कुसुमले ३५औँ मिनेटमा नेपाललाई २–० को स्थितिमा राखिन् । उनले डिबक्सबाट वान टचमै गोल गरेकी हुन् । 

खेलको ४२औँ मिनेटमा सरिताकुमारीले पोस्टभन्दा ३० यार्ड टाढाबाट गोल गरिन् । सेनुलाई फल गरेपछि नेपालले फ्रिकिक पाएको थियो । खेलको ६७औँ मिनेटमा कप्तान बिर्सनाले नेपाललाई ५–० को अग्रता दिलाइन् । 

समीक्षालाई श्रीलंकाकी डुलिनी आराकिलाजेले लडाएपछि नेपालले पेनाल्टी पाएको हो । खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गरिन् । मिडफिल्डर सुशीला केसीले दायाँ साइडबाट दिएको सुन्दर क्रसमा समीक्षाले बंगलादेशी डिफेन्डरबिच गोल गरेकी हुन् ।