मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:४o:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : जमिनको घमण्ड किन ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:४o:oo

आल्सिबाइडिस एक सम्पन्न जमिनदार थिए । उनी प्रशस्त जमिनका मालिक थिए । घरमा नोकरचाकर प्रशस्त थिए । उनलाई आफ्नो सम्पत्ति र जमिनदारीमा बडो गर्व थियो । उनी जहाँ पुगे पनि आफ्नो सम्पत्तिको बढाइचढाइ गरिहाल्थे । उनका अगाडि उभिने जोकोहीले पनि उनको सम्पत्तिको बकबक नसुनी धरै पाउँदैनथे । 

एक दिन उनी महात्मा सुकरातकोमा गए । सुकरातसित भेट भएपछि सामान्य भलाकुसारीपछि उनी आफ्नो ऐश्वर्यको वर्णन गर्न थाले । उनको धनमहिमा नसकिउन्जेल सुकरातले चुपचाप उनका कुरा सुनिरहे । केही क्षणपछि उनको त्यो बकबक बन्द भयो । उनले आफूलाई निकै ठुलो जमिनदारका रूपमा चिनाउन खोजेको सुकरातले बुझिहाले । त्यसपछि सुकरातले पृथ्वीको एउटा नक्सा मगाए । त्यो नक्सा फैलाएर जमिनदारसँग सोधे, ‘महाशय, यसमा हाम्रो प्यारो देश ग्रिस कहाँ छ ?’ ‘यो रह्यो ग्रिस,’ जमिनदारले नक्सामा एक स्थानमा औँला राख्दै गर्वसाथ भने ।

‘अनि यो ग्रिसभित्र हाम्रो ऐटिका प्रान्त कहाँ छ ? के तपाईं बताउन सक्नुहुन्छ ?’ सुकरातले जमिनदारलाई सोधे । जमिनदारले आफ्नो सानो प्रान्तलाई बडो कठिनाइले खोजे र सुकरातलाई देखाए । सुकरातले फेरि उनीसँग सोधे, ‘यस ऐटिकाको सिमानाभित्र तपाईंको जमिनदारी कहाँदेखि कहाँसम्म पर्छ ?’

‘हजुर पनि कस्तो कुरा सोध्नुहुन्छ महात्मा ? एउटा विश्वको नक्सामा यति सानो जमिनदारी कसरी देख्न सकिन्छ ?’ जमिनदारले छक्क पर्दै प्रश्न गरे । उनको प्रश्न सुनेर सुकरातले गम्भीर हुँदै भने, ‘जुन जमिनका लागि यति ठुलो नक्सामा एउटा बिन्दु पनि राख्ने स्थान छैन, त्यति थोरै जमिनमाथि तपाईं किन यति धेरै गर्व गर्नुहुन्छ ?

यस सम्पूर्ण ब्रह्माण्डमा तपाईंको भूमि र तपाईं कहाँ हुनुहुन्छ, कति ठुला हुनुहुन्छ ? एकछिन सोच्नुहोस् त, यति थोरै जमिनमा के गर्व गर्नु ?’ सुकरातका कुरा सुनिसकेपछि जमिनदारका आँखा खुले । उनले आफ्नो गल्ती महसुस गरे । उनले सुकरातसित माफी मागे र त्यस दिनदेखि आफ्नो जमिनको बढाइचढाइ गर्न छाडिदिए ।