
एनसेलले अपट्रेन्ड्लीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जितेका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कारस्वरूप यो डिल हात पारेका हुन् । त्यस्तै, काठमाडौंकी प्रभा श्रेष्ठ द्वितीय र बागलुङका मनीष रुचेल तृतीय र बुटवलका प्रशान्त पाण्डे चौथो बनेका छन् । उनीहरूले क्रमश: पाँच लाख, अढाई लाख र एक लाखको ब्रान्ड डिल पुरस्कार जितेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरूलाई पुरस्कार प्रदान गरिएको एनसेलले जनाएको छ । देशैभरका डिजिटल स्टोरी टेलर्स (कथावाचक)लाई सशक्त बनाउने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा प्राप्त भएका भिडियोमध्येबाट उत्कृष्ट ५० जना क्रिएटरलाई पाँचजना मेन्टर सन्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरूलाई १०–१० जनाको समूहमा पाँचजना मेन्टरमार्फत विशेष प्रशिक्षण र मेन्टरसिप प्रदान गरिएको थियो । सहभागीले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतबारे प्रशिक्षण पाएका थिए ।