
मंगलबार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई लामो दूरीको हतियार प्रदान गरेमा मस्कोमाथि आक्रमण गर्न सकिन्छ कि भनेर सोधेको समाचार बाहिरियो । तर, सो समाचार बाहिरिएको केही घण्टाभित्रै ट्रम्पले मस्कोलाई लक्षित गर्न नहुने सुझाब दिएका छन् ।
‘द फाइनान्सियल टाइम्स’ले मंगलबार अमेरिकी राष्ट्रपतिले जुलाई ४ मा जेलेन्स्कीसँग भएको फोनवार्तामा रुसको भित्रसम्म आक्रमण गर्न प्रोत्साहित गरेको समाचार प्रकाशित गरेको थियो । सो खबर छापिएको केहीपछि नै ट्रम्पले आक्रमण नगर्न सार्वजनिक टिप्पणी गरेका छन् । द फाइनान्सियन टाइम्सले फोनवार्ताबारे जानकार दुई नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा ‘ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई पर्याप्त दूरीको हतियार प्रदान गरेमा मस्को र सेन्ट पिटर्सवर्गमा आक्रमण गर्न सक्छन् कि सक्दैनन्’ भनेर सोधेका थिए ।
तर, मंगलबार जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुहुन्छ कि हुँदैन भनेर पत्रकारले गरेको प्रश्नमा ट्रम्पले त्यस्तो कदम चाल्न नहुने बताए । ट्रम्पले पत्रकारलाई ‘किभलाई लामो दूरीको क्षेप्यास्त्र प्रदान गर्नेबारे’ नसोचेको बताए । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले मिडिया आउटलेटलाई प्रदान गरिएको एक विज्ञप्तिमा फोनवार्तामा मस्कोमाथि मिसाइल हान्ने विषय उठेको पुष्टि गरेकी छन् ।
‘राष्ट्रपति ट्रम्पले प्रश्न मात्र सोधेका थिए, आक्रमणका लागि प्रोत्साहन गरेका थिएनन्,’ लेभिटले एबिसी न्युज र युएसए टुडेलगायत आउटलेटलाई प्रदान गरिएको विज्ञप्तिमा भनिएको छ । युद्धमा आफ्नो अडानमा परिवर्तन गर्दै ट्रम्पले सोमबार युक्रेनलाई थप हतियार आपूर्ति गर्ने बताएका थिए । त्यस क्रममा ट्रम्पले ५० दिनभित्र शान्ति सम्झौता नभएमा रुससँग व्यापार गर्ने साझेदारमाथि समेत भारी सहायक कर लगाउने धम्की दिए ।