मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format ११:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मधेशमा विपक्षी दलको बहिष्कारबिच प्रदेश सभाबाट बजेट पारित

अर्थमन्त्री सुनीलकुमार यादवले ल्याएको ४६ अर्ब ९८ करोड ३३ लाखको बजेट आवश्यक छलफल र प्रक्रिया नै पूरा नगरी पास

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format ११:५७:oo
  • विपक्षी ६ दलका ३५ सांसदले बहिष्कार गरेको विषयलाई सभामुख रामचन्द्र मण्डलले नजरअन्दाज गरेर विनियोजन विधेयकमाथि छलफल चलाए, ध्वनिमतका आधारमा सर्वसम्मतिले बजेट पारित भएको घोषणा गरे

विपक्षी दलहरूले बहिष्कार गरेको प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको अगामी आर्थिक वर्ष ०८२/८३ को बजेट पारित भएको छ । बजेटमा रहेको कमजोरी तथा त्रुटि सच्याउन गरेको सहमति सरकारले कार्यान्वयन नगरेपछि सोमबार दोस्रोपटक बसेको प्रदेश सभाको बैठक ६ विपक्षी दलहरूले बहिष्कार गरेका थिए । सभामुख रामचन्द्र मण्डलले प्रतिपक्षीको बहिष्कारलाई बेवास्ता गर्दै विनियोजन विधेयकमाथिको छलफल गर्ने कार्यसूची अगाडि बढाएलगत्तै बहुमतले बजेट पारितको घोषणासमेत गरे ।

सुनीलकुमार यादव, अर्थमन्त्री

पूरै रेडबुक अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको अवस्थामा योजना लुकाउने काम हुँदैन । सूत्रमा आइसकेका योजना कार्यान्वयनमा गएपछि सबैले जानकारी पाउने नै हो । अहिले पनि रेडबुकमा छुटेका योजनाको सूची तयार गरी सबै सांसदलाई बाँडिएको छ । यो अभ्यास नयाँ होइन, यो संघीय सरकारमा पनि विगतदेखि हुँदै आएको अभ्यास हो । 

प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले १ असारमा प्रदेश सभामा प्रस्तुत गरेको ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट आवश्यक छलफल र प्रक्रिया पूरा नै नगरी पारित गरिएको हो । प्रतिपक्ष दलले बजेटमा बिचौलिया हाबी भएको तथा मन्त्रीहरूले आफ्ना जिल्लामा जबर्जस्ती बढी बजेट राखेको आरोप लगाएका छन् । सरकारले नै बजेटमा त्रुटि भएको स्वीकार गरे पनि सच्याउन दुईपटक कार्यदल गठन भए पनि कुनै निकास ननिस्किएपछि सोमबार बिहान कार्यदल भंग गरिएको थियो ।

सुरुमा सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको थियो । तर, समितिमा मन्त्रीसमेत राखेपछि प्रतिपक्षी दलले मानेनन् । त्यसपछि  उपसभामुख बबिताकुमारी राउतको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको थियो । तर, सांसदलाई बजेटको रेडबुक नै फरक बाँडिएपछि प्रतिपक्षले आपत्ति जनाए । त्यसपछि सरकारले समिति नै भंग गरिदिएको हो ।

आय–व्यय अनुमान समेटिएको रेडबुक नै फरक पारेको विपक्षीको आरोप

आय र व्यय अनुमान समेटिएको बजेटको रेडबुक ७५५ पृष्ठको छ । तर, सांसदलाई ४६१ पृष्ठको रेडबुक वितरण गरिएकोप्रति प्रतिपक्षी सांसदले अर्थमन्त्री यादवको राजीनामासमेत मागेका छन् । सरकारले रेडबुकको २९४ पृष्ठ गायब गरेर तीन अर्बको आठ हजारका योजना लुकाएको प्रमुख प्रतिपक्षी जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले आरोप लगाए ।

अधुरो रेडबुक प्रदेश सभामा प्रस्तुत गरिएको दाबी गर्दै उनले भने, ‘यस्तो कहीँ हुँदैन, सरकारले रेडबुकको पृष्ठ नै गायब गरी आर्थिक अपराध गरेको छ । त्यसकारण हामी विपक्षी दलहरूले सभाको बैठक बहिष्कार गरेका थियौँ । बहुमत भएको सरकारले पूरा बजेट नै गायब गर्दा हुन्थ्यो नि । किन सभामा बजेट ल्याउनुपर्‍यो ।’ मधेश प्रदेश सभामा १० दल रहेकामा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ । बाँकी रहेका ६ दल जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा रहेका छन् ।