मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o९:o५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा र मुख्य प्रशिक्षकबिच विवाद : एन्फासँग किन असन्तुष्ट छन् वाइल्ड ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o५:oo

नेपाली फुटबल फेरि विवादमा फसेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डबिचको विवाद सतहमा देखिएको छ । वाइल्डले एन्फाको कार्यशैली चित्तबुझ्दो नभएको र त्यसलाई सच्याएर मात्र नेपाल फर्किएर काम गर्ने अडान राखेका छन् ।

वाइल्डले उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोट प्रतियोगितामा टोलीका स्टाफ, पदाधिकारी र खेलाडीबिचको मतभेदको प्रसंग जोडेर एन्फाका पदाधिकारीको शैली परिवर्तन हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । एसिया कपमा छनोट नभएपछि घर फर्किएको नेपाली टोलीसँगै वाइल्ड आएनन् । उनी उज्वेकिस्तानबाटै बेल्जियम लागेका थिए । उनी टोलीसँगै नआउनुलाई एन्फाले पारिवारिक कारण भनेको थियो ।

तर, वाइल्डले एन्फाको कार्यशैलीले दिक्क लागेर नेपाल नफर्किएको प्रस्ट पारेका छन् । उनले कप्तान चयनदेखि अन्य प्राविधिक पक्षमा तेस्रो पक्षको हस्तक्षेप आफूलाई स्वीकार्य नहुने जनाएका छन् । त्यसपछि एन्फा र प्रशिक्षकबिचको विवाद छताछुल्ल भएको हो । एन्फाले बुधबार पत्रकार सम्मेलन गरी सामान्य अवस्थालाई जटिल बनाउने काम प्रशिक्षक वाइल्डले गरेको दाबी गरेको छ ।

नेपाली महिला फुटबलले पहिलोपटक प्रो लाइसेन्स प्रशिक्षक पाएको हो । तर, एन्फाले प्रो लाइसेन्स प्रशिक्षक वाइल्डसँग गतिलो सम्बन्ध बनाउन सकेन । वाइल्डले महिला टोली सम्हालेको एक महिनाभित्र नै विवाद भएको छ । एन्फाको अव्यवस्थित कार्यशैलीका कारण उनको सम्झौता छोटो हुने देखिन्छ । उज्वेकिस्तानमा नेपाली टोलीसँगै गएकी व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलनमा वाइल्डले कप्तानको नाम नदिएका कारण आफूहरूले एएफसीका अफिसियललाई कप्तानको नाम पठाएको बताइन् ।

छनोटअन्तर्गत पहिलो खेलअघि टोलीको कप्तान एक घण्टाभित्र परिवर्तन भएको थियो । सुरुमा रेनुका नगरकोटीलाई कप्तानको जिम्मेवारी दिए पनि त्यसको एक घण्टा नबित्दै सावित्रालाई कप्तानको आर्मब्यान्ड लगाइएको थियो । एन्फा र प्रशिक्षकबिचको विवाद कप्तान चयनबाटै भएको मानिन्छ ।

काममा हस्तक्षेप अस्वीकार्य
एन्फाले कप्तानको चयन नगरी उज्वेकिस्तानमा टोलीको बिदाइ गरेको थियो । अन्तर्राष्ट्रिय चलनअनुसार कप्तानसँगै टोलीको घोषणा हुन्छ । तर, एन्फाले पहिलोपटक कप्तान छनोट नगरी टोलीको घोषणा गर्‍यो । वाइल्डले लाओसविरुद्ध सिनियर खेलाडीलाई कप्तानी दिने प्रयास गरेका थिए । व्यवस्थापन, पदाधिकारीसँगको छलफलले कसले कप्तानी गर्ने भन्ने निर्णय भएन । जसकारण एक घण्टाको अन्तरमा नेपालले दुई फरक कप्तानको नाम पायो ।

प्रशिक्षक वाइल्डले यसलाई हस्तक्षेपका रूपमा लिएका छन् । उनले आफ्नो काममा कसैको हस्तक्षेप स्वीकार नभएको जनाएका छन् । ‘म अरूजस्तो प्रशिक्षक होइन, अरू कफी खाएर खेलाडीलाई निर्देशन मात्र दिने गर्छन्,’ उनले भने, ‘म फरक छु । एन्फाले यस्तो गर्नू र उस्तो गर्नू भनेर दबाब दिनु फुटबलका लागि राम्रो होइन ।’

प्रतियोगिताका दौरान एन्फासँग सामान्य किट्स माग्दा पनि प्राप्त नगरेको खुलासा पनि उनले गरे । ‘मैले एन्फासँग सामान्य किट्स मागेको थिएँ, तर केही प्रतिक्रिया नै आएन । यसले खेलाडी स्तब्ध बनेका थिए । खेलाडीभन्दा मलाई अलग होटेलमा राखियो । मैले सबै एउटै होटेलमा हुनुपर्छ भनेको थिएँ,’ उनले भने ।

प्रशिक्षकलाई तलब दिन नसकेको एन्फा
एन्फाले अहिलेसम्म वाइल्डलाई पारिश्रमिक उपलब्ध गराएको छैन । उनले एक महिना टोलीलाई प्रशिक्षण दिइसकेका छन् । एक महिनासम्म आफ्नो पारिश्रमिक नपाउँदा वाइल्ड दु:खी बनेका छन् । यद्यपि, एन्फाले उनको पारिश्रमिक कति भनी सार्वजनिक गरेको छैन । एन्फा र वाइल्डबिच एक वर्षको सम्झौता भएको हो । एन्फाले स्रोत व्यवस्थापन नहुँदासम्म उनलाई भोलेन्टियर (स्वयंसेवक) प्रशिक्षकका रूपमा काम गर्न भनेको थियो । ‘फिफा कनेक्टमा देखाउनुपर्ने भएका कारण वाइल्डसँग सम्झौता गर्‍यौँ, तर तलब कति दिने भन्ने स्पष्ट भइसकेको छैन,’ एन्फाका पदाधिकारीले भने, ‘व्यवस्थापन नहुँदासम्म उहाँलाई स्वयंसेवकका रूपमा काम गर्न आग्रह गरेका हौँ, त्यसवेला उहाँले हाम्रो प्रस्ताव सहजै मान्नुभयो, तर अहिले किन तलब माग गरेको हो थाहा भएन ।’

यसअघि पुरुष टोलीका पूर्वप्रशिक्षक भिसेन्जोलाई दक्षिण कोरियाको सहयोगबाट एन्फाले तलब खुवाएको थियो । उनीभन्दा अगाडिका विदेशी प्रशिक्षक अब्दुल्ला अलमुताइरीले लगभग प्रतिमहिना १० लाख रुपैयाँ थापेका थिए । एन्फाले वाइल्डसँग सम्झौतामा पारिश्रमिकबारे उल्लेख नभएको जनाएको छ । ‘एन्फासँग विदेशी प्रशिक्षकलाई तलब खुवाउन बलियो स्रोत छैन,’ एन्फाका ती पदाधिकारीले भने, ‘यसअघिका विदेशी प्रशिक्षकहरूले स्वयंसेवी भएर काम गरेका थिए ।’