१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
२o८२ असार २४ मंगलबार १o:४८:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

लामो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् सी जिनपिङ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार १o:४८:oo

के चीनमा कुनै उथलपुथल भइरहेको छ ? चिनियाँ राष्ट्रपति सी जिनपिङ केही दिनयता सार्वजनिक कार्यकममा नदेखिँदा र एक दशकभन्दा बढी समयपछि पहिलोपटक २०२५ को रियो शिखर सम्मेलनमा सहभागी नहुँदा उनीबारे विभिन्न अड्कलबाजी उठ्न थालेको छ ।  सी जुन २४ यता सर्वाजनिक कार्यक्रममा देखिएका छैनन् । राज्य सञ्चालित मिडियाले जारी गरेको भिडियोमा उनी जुन ४ मा बेलारुसका राष्ट्रपति अलेक्सान्दर लुकासेन्कोसँग भेटघाटका क्रममा सार्वजनिक रूपमा देखिएका थिए । लुकासेन्कोसँगको भेटघाटमा उनी कमजोर र उनको सुरक्षा विवरण उल्लेखनीय रूपमा घटाइएको  थियो । बेलारुसी प्रेस सेवाले पनि सीलाई ‘थकित, विचलित र सामान्यतया अस्वस्थ’ देखिएको वर्णन गरेको थियो । यसअघि, चिनियाँ राष्ट्रपतिको कमान्डिङ उपस्थिति सजिलै देखिन्थ्यो ।  त्यसपछि उनी अर्को एक कार्यक्रममा पनि देखिएका थिए ।

लामो समयसम्म उनको अनुपस्थितिले विभिन्न प्रश्न उठेका छन्– के चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) भित्र सबै ठिकठाक छ ? सैन्य शुद्धीकरण र पूर्वराष्ट्रपति हु जिन्ताओका सहयोगीले सर्वशक्तिमान सिसिपीमा प्रभाव बढाएको रिपोर्टको पृष्ठभूमिमा यो प्रश्न अर्थपूर्ण छ ।

सीको सट्टा प्रधानमन्त्री ली छियाङ  सार्वजनिक कार्यक्रममा देखिने गरेका छन् । सरकारी मिडिया कभरेजबाट यसरी टाढा रहनु सीका लागि असामान्य हो । चीनको सेनाले व्यापक सफाइ र आन्तरिक उथलपुथलको सामना गरिरहेका वेला सीले सत्तामा आफ्नो पकड बलियो बनाउन खोजिरहेको हुन सक्ने रिपोर्ट पनि सार्वजनिक भएका छन् । रिपोर्टअनुसार धेरै शीर्ष जनरल र रक्षा अधिकारीलाई हटाइएको वा ‘बेपत्ता’ पारिएको छ । जब राज्य मिडियाले निरन्तर कभर गर्ने एक विश्वव्यापी नेता अचानक सार्वजनिक दृष्टिकोणबाट गायब हुन्छ, यसले विश्वव्यापी ध्यान आकर्षित गर्छ र विभिन्न अड्कलबाजी गरिन्छ । बेइजिङले ब्रिक्स शिखर सम्मेलनमा सीको अनुपस्थितिको कारणको रूपमा ‘तालिकाबद्ध द्वन्द्व’ जनाएको छ । यो एक बहुपक्षीय बैठक हो, जुन बेइजिङले अमेरिकी प्रभुत्वलाई सन्तुलनमा राख्नका लागि आफ्नो प्रयासमा महत्वपूर्ण  मान्छ । प्रधानमन्त्री छियाङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।

चीनलाई सबैभन्दा ठुलो प्रतिद्वन्द्वी मान्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ब्रिक्स समूह एक समस्या बनेको छ । आइतबार ट्रम्पले ब्रिक्सको ‘अमेरिकीविरोधी नीति’लाई समर्थन गर्ने राष्ट्रमा थप १० प्रतिशत कर लगाउने धम्की दिए ।

के चीनको शीर्ष नेतृत्वमा सम्भावित शक्ति परिवर्तन भइरहेको छ ? के सीले आफ्नो पकड गुमाउँदै छन् ? सी कहाँ छन् ?  उनी किन सार्वजनिक दृष्टिकोणबाट टाढा गएका छन् ? के बेइजिङमा सबै ठिकठाक छ ? उनको अनुपस्थितिले विभिन्न प्रश्न खडा गरेको छ । सी अन्तिमपटक सार्वजनिक रूपमा देखिएको लगभग पन्ध्र दिन भइसक्यो । यो यस वर्ष उनको तेस्रो लामो अनुपस्थिति हो । अनुपस्थितिहरू अस्पष्ट थिए । यसपटक उनको अनुपस्थिति त्यस्तो समयमा आएको हो, जतिवेला चिनियाँ अर्थतन्त्र तनावग्रस्त देखिन्छ ।

सत्तामा सीको पकड कमजोर हुँदै गइरहेको हुन सक्ने विवरण सार्वजनिक भइरहेका छन् । पूर्वराष्ट्रपति हु जिन्ताओको युगसँग सम्बन्धित व्यक्तिहरू, विशेषगरी जनरल झाङ युक्सिया र टेक्नोक्रेट वाङ याङले सिपिसीमा प्रभाव बढाउँदै छन् ।
सीको रहस्यमय अनुपस्थिति किन महत्वपूर्ण ?

सार्वजनिक कार्यक्रम, राज्य मिडिया र ब्रिक्स शिखर सम्मेलनजस्ता कूटनीतिक कार्यक्रममा सी जिनपिङको लामो अनुपस्थितिलाई ‘रहस्यमय’ मात्र भन्न सकिन्छ । सन् २०१३ मा सत्तामा आएदेखि चिनियाँ राज्य मिडियाले उनलाई एक अतुलनीय नेताको रूपमा चित्रण गर्दै आएको छ ।

अंग्रेजी दैनिक द टेलिग्राफको रिपोर्टअनुसार जुन २ देखि २२ दिनसम्म मिडियामा नदेखिएपछि जुन २४ मा सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँगको भेटसँगै उनी पिपुल्स डेलीको पहिलो पृष्ठमा देखा परेका थिए । यो २०१७ देखि उनको लगभग दैनिक कभरेजबाट दुर्लभ ब्रेक थियो । उक्त अवधिमा दोस्रो तहका नेताहरू प्रधानमन्त्री ली छियाङ र उप–प्रधानमन्त्री हे लाइफेङले उच्च दायित्वका कूटनीतिक बैठक सम्हाले, जसले नेतृत्वको दृश्यतामा अस्थायी परिवर्तनको संकेत गर्छ ।

यसैबिच, सीको अनुपस्थितिमा ब्रिक्स सम्मेलन सुरु भएको छ । १२ वर्षमा पहिलोपटक बैठकमा सहभागी नभएपछि  यस वर्षको शिखर सम्मेलनको राजनीतिक रौनक घटेको विश्लेषण गरिएको छ । त्यसो त ब्रिक्समा अनुपस्थित हुने चिनियाँ नेता मात्र होइनन् । युक्रेनमा युद्ध अपराधको आरोप लागेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बैठकमा प्रत्यक्ष सहभागी भएनन् । उनले भिडियो लिंकमार्फत बैठकमा उपस्थिति जनाए ।

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता–एआई) लाई नियन्त्रण गर्ने नियमनका लागि पनि आह्वान गरेको छ । व्यावसायिक एआई क्षेत्रमा हाल अमेरिकी टेक जायन्टहरूको प्रभुत्व छ । यद्यपि चीन र अन्य राष्ट्रहरूसँग द्रुत गतिमा क्षमता विकास भइरहेको छ । आइतबार सुरु भएको शिखर सम्मेलनमा ब्रिक्स नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘अन्धाधुन्ध’ आयात शुल्क र इरानमाथि हालैका इजरायली–अमेरिकी आक्रमणलाई मूल मुद्दा बनाएका छन् ।

इन्डिया टुडेबाट