
राजनीतिक नेतृत्वले त्रिविजस्ता प्राज्ञिक संस्थामाथि किन बारम्बार हस्तक्षेप गर्छन् ?
विश्वविद्यालयहरूलाई राजनीतिबाट टाढै राख्नुपर्ने हो । अनुसन्धान र ज्ञानको अध्ययन, अध्यापन हुने प्राज्ञिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु विडम्बना हो । कुनै वेला युरोपका विश्वविद्यालयमा चर्चको हस्तक्षेप हुन्थ्यो । तर, पछि त्यसलाई रोकेर विश्वविद्यालयहरूलाई चर्च र राजनीतिको पहुँचबाट टाढा लगेपछि अहिले नोबेल पुरस्कार जित्ने वैज्ञानिकमध्ये अधिकांश युरोप र अमेरिकाका विश्वविद्यालयका प्रोफेसरहरू हुने गरेका छन् । हामीकहाँ चाहिँ राजनीतिको छायाबाट विश्वविद्यालयलाई टाढा राख्नुपर्नेमा पञ्चायतकालमा भन्दा पनि नजिक ल्याइयो । विश्वविद्यालयहरूलाई सरकारको अंगजस्तो बनाइयो । विश्वविद्यालय सरकारको मन्त्रालय या विभाग होइनन् । तिनलाई स्वतन्त्र रूपमा प्राज्ञिक गतिविधि सञ्चालन गर्न दिनुपर्छ । यस्ता संस्थालाई राजनीतिक हस्तक्षेप गरेर दूषित बनाउनु हुँदैन ।
लामो समयसम्म त्रिवि निमित्तका भरमा चल्दा त्यसको कस्तो असर पर्छ ?
‘याक्टिङ लिडर’ले कुनै पनि संस्थालाई नेतृत्व दिन सक्दैन । उसले कुनै पनि संस्थालाई हाँक्न या गति दिन सक्दैन । त्रिवि देशकै ठुलो शैक्षिक संस्था हो । यसरी नेतृत्वविहीन राखियो भने त्रिवि दिशाहीन बन्न पुग्छ । विश्वविद्यालयहरू खेलकुद क्लब होइनन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव, जर्साब, आइजिपीलगायत सबै उच्चपदस्थ व्यक्तित्वहरू त्रिविबाटै आउनुभएको होइन र ? अनि, त्यस्तो महŒवपूर्ण संस्थालाई यसरी निमित्तका भरमा अल्झाएर गतिहीन बनाउन कसरी मिल्छ ?
विश्वविद्यालयहरूलाई राजनीतिक नेतृत्वको छायाबाट मुक्त राख्न सकिन्न ?
सेनाबाहेक राजनीतिको छाया परेको क्षेत्र हामीकहाँ कुन छ र ? विश्वविद्यालयमा शिक्षक, विद्यार्थी, कर्मचारीको संगठन आवश्यक भए पनि दलका भ्रातृ संस्थाका संगठन खोल्न दिनु हुँदैन । राजनीति घुसेको संस्था कमजोर हुन्छ र कमजोर संस्थाले राष्ट्रियतालाई बलियो बनाउन सक्दैन । विश्वविद्यालयको नेतृत्वमा दलका कार्यकर्ता होइन, सबैभन्दा योग्य व्यक्ति छनोट गर्ने प्रणालीको विकास गर्नुपर्छ । राजनीतिक नेतृत्वले प्राज्ञिक संस्थाको पदीय हैसियतमा नेतृत्व गर्ने प्रथा अन्त्य गर्नुपर्छ ।