१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २४ मंगलबार o९:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कप्तान सावित्रा भण्डारी भन्छिन्–महिला फुटबलमा विवाद नआओस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार o९:१७:oo

नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आगामी दिनमा महिला फुटबलमा कुनै किसिमको विवाद आउन नहुने बताएकी छिन् । एएफसी महिला एसियन कप छनोट खेलेर सोमबार नेपाल फर्केपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सावित्राले उज्वेकिस्तानमा एकजुट भएर खेल्दा नतिजा आएको बताइन् । ‘यो हाम्रो टोलीभित्रको कुरा हो । संगठित भएर खेलेका कारण नै हामीले सोचेभन्दा राम्रो नतिजा निकालेका हौँ,’ उनले भनिन्, मलाई लाग्छ सामान्य विषयलाई लिएर भविष्यमा यस्तो खालको विवाद नहोस् ।’

एसिया कप छनोट खेल्न उज्वेकिस्तान प्रस्थान गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कप्तानविना नै टोलीको बिदाइ गरेको थियो । अन्तर्राष्ट्रिय नियमअनुसार प्रतियोगितामा सहभागी हुनुअगावै कप्तान र उपकप्तान घोषणा गर्ने चलन छ । तर, एन्फाले पहिलोपटक कप्तान चयन नगरी महिला टोलीलाई सहभागी गराउन पठाइयो ।

महिला राष्ट्रिय टोलीमा नयाँ कप्तान चयन हुने अनुमान थियो । लाओससँगको प्रतिस्पर्धा गर्नुअघि रेनुका नगरकोटेलाई कप्तानी जिम्मेवारी दिइएको थियो । तर, मैदानमा उत्रँदा नेपाली टोलीको कप्तानी जिम्मेवारी सावित्राको काँधमा पुगेको थियो । कप्तान चयन गर्ने क्रममा टिम अफिसियल तथा मुख्य प्रशिक्षक विल्डबिच विवाद भएको थियो । सावित्राले पनि टोलीको व्यवस्थापन र प्रशिक्षकबिच देखिएको विवादको प्रसंग उठाएकी हुन् । उनले मैदानबाहिर बस्ने सबै खेलाडी कप्तान नै भएको जिकिर गरेकी छिन् । ‘बाहिर बसेर फुटबल हेर्ने उहाँहरू पनि हाम्रा लागि कप्तान बराबर हुनुहुन्छ । टोलीमा स्थान बनाउने सबै खेलाडी कप्तानसरह नै हुनुहुन्छ,’ उनले थपिन् ।

कप्तानीको जिम्मेवारी चुनौतीपूर्ण
समूह ‘एफ’को छनोट प्रतियोगितामा तीन खेलमा उनले नौ गोल गरिन् । जसमध्ये उज्वेकिस्तानसँगको निर्णायक खेलमा उनले ह्याट्रिक गर्दा ३–३ को बराबरी भएको थियो । टाइब्रेकरमा उज्वेकिस्तानसँग स्तब्ध हुँदा अर्को वर्ष अस्ट्रेलियाले आयोजना गर्ने एसिया कपमा नेपाल छनोट हुन असफल भयो । कप्तानीको भूमिका पाउँदा सुरुमा केही चुनौती भएको उनले बताइन् । ‘सुरुमा चुनौतीसँगै थोरै विवाद आइरहेको थियो । जसका कारण म तीनवटै खेल हुनुअघिको राति राम्रोसँग निदाउन पाइनँ,’ उनले भनिन्, ‘त्यो एक किसिमको छुट्टै दबाब थियो ।’

निरन्तर एक दशक बढी राष्ट्रिय टोलीबाट खेलिरहँदा महत्वपूर्ण जिम्मेवार पाउँदा खुसी भएको सावित्राको भनाई छ । ‘एउटा जिम्मेवारी पाउँदा खुशी भएकी थिएँ, मैले देखाउनु पर्ने छुट्टै किसिमको एउटा भूमिका थियो । त्यसले अलि प्रेसरमा पनि थियो,’ उनले भनिन् । छनोट खेलमा नेपालले लाओसलाई ९–० तथा श्रीलंकालाई ८–० ले हराएको थियो । 

खेलाडीले एक्सपोजरको अनुभव लिए
एसिया कप छनोटले खेलाडीले माथिल्लो लेभलमा एक्सपोजर पाएको सावित्राले बताइन् । ‘समग्रमा हामीले माथिलो लेभलको टिमसँग खेल्न पायौँ । धेरै कुरा सिक्ने अवसर पनि मिल्यो,’ उनले भनिन्, ‘हामीले पाएको अवसरलाई सदुपयोग ग¥यौँ ।’ यसैगरी, प्रोलाइसेन्सप्राप्त विदेशी प्रशिक्षकसँग खेल्दा रमाइलो लागेको उनको अनुभव छ । ‘तीन हप्ताको प्रशिक्षणले यो नतिजा आउँछ । हामीले आक्रामक फुटबल खेल्नुपर्छ । यसले जस्तोसुकै टोलीलाई चुनौती दिन मानसिकता विकास भएको छ ।’ एन्फाले राम्रो तरिकाले संरक्षण गरेर योजना बनाउँदा नेपाली महिला फुटबलको भविष्य अझै राम्रो हुने उनले बताइन् ।