
मंगलबार बिहान रसुवाको भोटेकोशी नदी (ल्हेन्दे)मा आएको बाढीमा तीन प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्। जसमा ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार तीन प्रहरी, नौ अन्य नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् । असइ लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएका हुन्। एक्कासि ठुलो बाढी आउँदा भन्सार र्याडमा रहेकाहरूलाई बगाएको हो।
उद्धारका लागि ९४ जना प्रहरी खटिएको रसुवाका डिएसपी हेमबहादुर शाहीले बताए। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। त्यस्तै, ड्राइपोर्टमा रहेका गाडीहरूमा पनि ठुलो क्षति पुगेको छ।
बाढीले सडकमा पनि क्षति पुगेकाले धुन्चेदेखि टिमुरेसम्मको सडक पनि अवरुद्ध हुन पुगेको छ।
चीनतर्फ भीषण वर्षाका कारण सो बाढी आएको हो।