१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ असार २४ मंगलबार o९:४o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तेस्रो त्रैमासमा ४.८ प्रतिशत आर्थिक वृद्धिको अनुमान

दोस्रो त्रैमासको तुलनामा भने ०.६ प्रतिशतको मात्रै आर्थिक वृद्धि, विद्युत् र निर्माण क्षेत्रको प्रमुख योगदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार o९:४o:oo

चालू आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमास (माघ, फागुन र चैत)मा मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस्तो वृद्धिदर देखिएको हो ।

ब्याजदर सस्तिएर व्यापारमा वृद्धि भएकाले आर्थिक वृद्धिदर बढेको र वर्षैपिच्छे नयाँ जलविद्युत् आयोजना थपिएकाले पनि विद्युत् क्षेत्रमा सुधार भएको अर्थशास्त्री प्राडा पुष्कर बज्राचार्यले बताए । सरकारले पुँजीगत खर्च वृद्धिमा सुधार गर्न नसक्दा पाँच प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गर्न नसकिएको उनको बुझाइ छ । उनले भने, ‘सरकारले थोरै मिहिनेत गरेको भए पाँच प्रतिशतभन्दा माथि जान्थ्यो ।’

पाँच प्रतिशतभन्दा कम वृद्धिदरलाई सन्तोषजनक मान्न नसकिने उनको भनाइ छ । उनले भने, ‘नेपालको विगत हेर्ने हो भने सुधार भएका वेला ४.८ प्रतिशतसम्म पुग्ने, नत्र साढे चार प्रतिशतमा सीमित रहने गरेको पाइन्छ । बंगलादेशले लामो समयसम्म साढे पाँच प्रतिशतको वृद्धिदरलाई कायम राखेकाले अर्थतन्त्रमा व्यापक सुधार गरेको थियो ।’

विद्युत् उत्पादन तथा वितरण, निर्माण, वित्तीय तथा बिमा र खानी तथा खनिज पदार्थ उत्खनन क्षेत्रको योगदानले आर्थिक वृद्धिदर हुने कार्यालयको अनुमान छ । कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये सबै क्षेत्रमा सकारात्मक वृद्धिदर देखिएको छ । यद्यपि, शिक्षा, पानी तथा फोहरा व्यवस्थापन र आवास तथा भोजन क्षेत्रले भने उल्लेख्य योगदान गर्न नसकेकाले समग्र वृद्धिदर मध्यमस्तरमै सीमित रहने देखिन्छ ।

तथ्यांकअनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा कुल गार्हस्थ उत्पादन ०.६ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । समायोजित तथ्यांकमा यातायात तथा भण्डारण, वित्तीय तथा बिमा र आवास तथा भोजन क्षेत्रले ऋणात्मक वृद्धि देखाएको छ । अन्य क्षेत्रमा सामान्य वृद्धि रहे पनि समग्र वृद्धिदर न्यून देखिएको हो ।

त्यसबाहेक, विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । यसले अर्थतन्त्रमा केही हदसम्म सकारात्मक सन्देश दिएको कार्यालयको भनाइ छ ।

१८ वटै औद्योगिक क्षेत्रको वृद्धिदर सकारात्मक
चालू आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मुलुकको अर्थतन्त्रमा सबै १८ औद्योगिक क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ । केन्द्रीय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमानअनुसार सबै क्षेत्रको कुल मूल्य अभिवृद्धि दर धनात्मक रहँदा, विद्युत् उत्पादन तथा वितरण क्षेत्रमा सबैभन्दा धेरै १२.५ प्रतिशतको वृद्धि देखिएको छ ।

निर्माण क्षेत्रमा ६.९ प्रतिशत, खानी तथा खनिज पदार्थ उत्खनन र वित्तीय तथा बिमा क्षेत्रमा ६.७ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रमा ६.६ प्रतिशत, यातायात तथा भण्डारणमा ६.३ प्रतिशत, तथा औद्योगिक उत्पादन क्षेत्रमा ६.२ प्रतिशतको वृद्धिदर रहने अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिने कृषि क्षेत्रको वृद्धिदर ३.६ प्रतिशत छ । हिउँदेबाली, तरकारीबाली तथा नगदेबालीको उत्पादनमा भएको सुधारले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको कार्यालयको विश्लेषण छ ।

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापारको वृद्धिदर ५.६ प्रतिशत रहने देखिएको छ । स्वदेशी कृषि उत्पादनमा वृद्धि र आयातमा देखिएको उकालो प्रवृत्तिले व्यापार क्षेत्रलाई सकारात्मक बनाएको हो ।

औद्योगिक वस्तु उत्पादनमा पनि क्रमिक सुधार 
देखिँदै गएकाले उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ६.२ प्रतिशत रहने अनुमान गरिएको छ । यस त्रैमासिक अवधिमा शिक्षा क्षेत्रमा २.३ प्रतिशत, पानी आपूर्ति तथा फोहोर व्यवस्थापनमा २.४ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा २.५ प्रतिशतको वृद्धि रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष ०७९÷८० यता नेपाली अर्थतन्त्र क्रमिक रूपमा सुधारको दिशामा अघि बढिरहेको देखिएको तथ्यांक कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले बताए ।