
एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि सिंगापुरले नेपाललाई ११४ रनको समान्य लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो ।
सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए । त्यसबाहेक सिंगापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सिंगापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन/तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए । त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।
नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको थियो । नेपालले मलेसियालाई हराउदै सेमिफाइन यात्रा तय गरेको थियो भने सिंगापुरले हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।