
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट प्रहरी एक युवालाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना ४ ख ६३१८ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ७ केजी गाँजासहित एक युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवामा धनकुटाको पाख्रीवास नगरपालिका–८ का ४६ वर्षीय भीमबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए।
राईले आफू बसेको गाडीको सिटमुनि जेब्रा झोलामा गाँजा लुकाएर लैजाँदै थिए। सात केजी गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ। पछिल्लो समय दैनिकजसो सवारीसाधनबाट लागुऔषधसहित मानिसलाई प्रहरीले पक्राउ गर्दै आएको छ।