
नेपाल र उज्वेकिस्तानले शनिबार एएफसी महिला एसियन कपअन्तर्गत समूह ‘एफ’ छनोटको निर्णायक भिडन्तमा प्रतिस्पर्धा गर्दै छन् । यस खेलको विजताले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछन् । दुवैले समान दुई खेलबाट ६ अंक जोडेका छन् । रोचक पक्ष के छ भने दुवैले विपक्षीको पोस्टमा समान १७ गोल लगाएका छन् । नेपाल विजयी हुँदा पहिलोपटक छनोट चरण पार गरी एसिया कपमा स्थान बनाउनेछन् ।
नेपालले सन् १९९९ मा अन्तिमपटक एसिया कप खेलेको थियो । त्यसवेला नेपालले सीधै प्रतियोगितामा सहभागिता जनाएको थियो । सन् १९९९ पछि नेपालले कुनै पनि अवसरमा छनोट चरण पार गर्न सकेन । यसपटक उज्वेकिस्तानमा नेपालले इतिहास रची एसिया कपमा स्थान बनाउने लक्ष्य राखेको छ । उज्वेकिस्तान भने नेपाललाई स्तब्ध पार्दै पहिलोपटक एसिया कप खेल्ने योजनामा छ । नेपालको कप्तानी सावित्रा भण्डारीले गर्नेछिन ।
मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डलाई पनि एउटा इतिहास बनाउने अवसर छ । नेपाली महिला फुटबलले पहिलोपटक प्रो लाइसेन्स प्रशिक्षक पाएको हो ।
नेपालले अहिलेसम्म चार दशकको अन्तर्राष्ट्रिय यात्रामा १२ फाइनल खेलेको छ । तर, कुनै पनि फाइनल नेपालले आफ्नो नाममा राख्न सकेन । उज्वेकिस्तानलाई हराए नेपाल फिफा विश्वकपमा समेत नजिक पुग्नेछ । एसिया कपको सेमिफाइन लिस्टले सन् २०२७ ब्राजिलमा हुने विश्वकपमा स्थान पक्का गर्नेछ । त्यसैले नेपालका लागि उज्वेकिस्तानविरुद्ध जित्नैपर्ने दबाब छ । यो दुई वर्षदेखि महिला टोलीको अन्तर्राष्ट्रिय चर्चा ह्वात्तै बढेको छ ।
अन्तिम निर्णय पेनाल्टीबाट हुने
नेपाल र उज्वेकिस्तानले समूह ‘एफ’मा कमजोर प्रतिद्वन्द्वी लाओस र श्रीलंकाविरुद्ध समान १७ गोल गरेका छन् । दुवैले एक गोल पनि व्यहोरेका छैनन् । बराबरी नतिजाले दुवै टोली छनोट हुन सक्दैनन् । यसै कारण नेपाल र उज्वेकिस्तानलाई जितबाहेक अरू विकल्प छैन । खेल ९० मिनेट र अतिरिक्त समयमा बराबरी भए यसको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले नै पराजित गर्यो । नेपालको जितमा कप्तान सावित्राले दुईवटै खेलमा ह्याट्रिक गरिन् । उज्वेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० र दोस्रो खेलमा लाओसलाई ७–० ले हराएको थियो । उज्वेकिस्तानकी निलुफरले ६ गोल गरेकी छिन् ।
चौथोपटकको प्रयास
नेपाली महिला टोलीले सन् १९८६ मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको थियो । त्यसपछि १९८९ र १९९९ को एसिया कपको संस्करण खेल्यो ।
एएफसीले सन् २००६ देखि एसिया कपमा छनोट चरण फर्म्याट बनाएको हो । यो फर्म्याट लागू भएयता नेपाल असफल हुँदै आएको छ । गत संस्करणमा नेपाल फिलिपिन्ससँग पराजित हुँदा यो अवसरबाट चुकेको थियो ।