
माओवादीका उपमहासचिव तथा माओवादी प्रदेश–१ का इन्चार्ज हरिबोल गजुरेलले माओवादी पार्टी र विचार निर्माणको प्रक्रियामा रहेको बताएका छन् । शनिबार एकीकृत अखिल शिक्षक संगठन कटारी नगरपालिकाको दोस्रो नगर परिषद् कार्यक्रममा बेतेनीमा यस्तो बताएका हुन् ।
गजुरेलले भने, ‘कहिलेकाहीँ मान्छे बिरामी हुन्छ, फेरि स्वास्थ्य हुन्छ । कहिल्यै बिरामी नहुने त हुँदैन होला ? पार्टीमा पनि त्यस्तै हुन्छ । पार्टी जीवनमा उत्तारचढाव हुन्छ ।’
उनले अहिले माओवादीमा क्रान्तिको बाटो कोर्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘यहाँ कसैले पनि माओवादीको लागि बाटो कोरदिनेवाला छैनन् । हिजोको क्रान्तिको मोडेलले काम दिँदैन । हिजोको चीन र रुसको मोडल यहाँ बनाएर हुँदैन । अहिलेको २१औँ शताब्दीको विशेषताअनुसारको पार्टी, विचार चाहिन्छ । त्यसको लागि क्रान्तिको गोरेटो कोर्दै हिँड्नुपर्ने अवस्था छ । अरूले बनाइदिएको बाटोमा छिटो पुगिन्छ । आफूले बनाउँदै हिँडेको बाटोमा ढिलो पुगिन्छ ।’
माओवादीमा अहिले पार्टी र विचार निर्माण गर्ने काम सुरु भएको उद्घोष गरेका छन् । ‘हिजो युद्ध गरेका पार्टीहरू युद्ध गर्दागर्दै सिद्धिएका छन् । कोही शान्ति प्रक्रियामा आएर बिना उपलब्धि सिद्धिएका छन् । माओवादीले युद्ध पनि लड्यो । शान्ति प्रक्रियामा पनि आयो । केही उपलब्धि पनि हासिल गरेको छ,’ उनले भने, ‘कुन राम्रो त ? युद्ध लडेको सिद्धिनु कि ? उपलब्धिसँगै शान्ति प्रक्रियामा आउनु ?’
उनले माओवादी अहिले पनि नेपाली राजनीतिकको केन्द्र भागमा रहेको बताउँदै माओवादीकै एजेन्डामा संविधान बनेको दाबी गरे । उनले भने, ‘यसलाई हामीले गर्व गर्नुपर्छ । तर, हामीले गरेकै काम जनताको बिचमा पूरा भएका छैनन् । हिजो हामीले जनताको बिचमा जे जे कुरा गरेका थियौँ। अहिले माओवादीले त्यही त्यही कुरा गरेको छ ।’
उनले थपे, ‘हिजो हामीले सुख सुविधाका कुरा, नातावाद, कृपावादका, भ्रष्टाचार, अनियमितताका कुराको विरोध गर्यौँ । आज जनताले माओवादीलाई यही आरोप लगाउँदै छन् । यहीँबाट ठुलो घाटा माओवादीलाई छ । माओवादी भएर यस्तो गर्ने ? हिजो विरोध गर्ने ? आज आफू त्यस्तै हुने भन्ने कुरा गर्दै छन् । यो व्यावहारिक कुरा हो । यो व्यावहारिक कुरा जनताले विचार र राजनीतिसँग जोडर बुझ्दैनन् । त्यसको लागि अहिले माओवादी विचार पार्टी निर्माण गर्ने र नयाँ क्रान्तिको बाटो कोर्ने अभियानमा छ ।’
उक्त कार्यक्रममा माओवादीका कन्द्रीय सदस्य मोहनबहादुर खत्री, केपी बराल, माओवादी उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवसलगायतको उपस्थिति थियो।