
बढैयाताल गाउँपालिकाले कार्यालय प्रयोजनका लागि खरिद गरेको दुईवटा मोटरसाइकल पाँच वर्ष बित्दासमेत पालिकाको नाममा पास भएको छैन। पालिकाले कार्यालय प्रयोजनका लागि ०७६ फागुन २३ गते र ०७६ चैत २ गते खरिद गरेको दुईवटा मोटरसाइकल पाँच वर्ष बित्दासमेत पालिकाको नाममा पास भएको छैन।
पालिकाले नेपालगन्जमा रहेको अनलाइन ओभरसिजबाट लु.५८ प ३१६० र प्र २००१ प ३१५३ नम्बरको मोटरसाइकल खरिद गरेको थियो । मोटरसाइकल खरिद गर्दा कार्यालय प्रमुख अर्जुन सुवेदी रहेका थिए । सुवेदीले पालिकाको नाममा मोटरसाइकल पास नहुँदै अनलाइन ओभरसिजलाई ६ लाख ३९ हजार आठ सय रुपैयाँ भुक्तानीसमेत दिएका थिए । पालिकाको नाममा मोटरसाइकल पास नहुँदै भुक्तानी दिनु कानुनविपरीतको कार्य हो। सुवेदी दोस्रोपटक कार्यालय प्रमुख भएर आउँदासमेत आफ्नै पालामा खरिद गरेको मोटरसाइकल पालिकाको नाममा पास गराउन सकेनन्।
पालिकाका खरिदार रमेश डाँगीले पालिकाले खरिदको मोटरसाइकल अनलाइन ओभरसिजको नाममा नै रहेको भए पनि स्टोरमा दाखिला गरेका गरेको जानकारी दिए। पालिकाले खरिद गरेको मोटरसाइकल खरिद गरेदेखि हालसम्म मोटरसाइकल नवीकरण नभएको र मोटरसाइकलको बिमासमेत हुन नसकेको डाँगीले जानकारी दि ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणराज त्रिपाठीले पालिकाले ०७६ सालमा नै मोटरसाइकल खरिद गरेकाेबारे आफूले पछि मात्र थाहा पाएको बताए । उनले भने, ‘तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको पालामा मोटरसाइकल खरिद गरेर पालिकामा ल्याएर, मोटरसाइकलको भुक्तानीसमेत भएको रहेछ । म पालिकामा आएपछि मोटरसाइकल दिने व्यवसायी सम्पर्कविहीन भएको कर्मचारीबाट थाहा पाएँ। अहिलेसम्म कुनै व्यवसायी मोटरसाइकलबारे खोजी गर्न आएको छै ।’
सवारी तथा यातायात ऐन, २०४९ अनुसार सवारीसाधन पाँच वर्षभन्दा बढी समयसम्म पनि नवीकरण नभएमा स्ततः रद्द हुने व्यवस्थासमेत रहेको छ ।