१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २० शुक्रबार
  • Friday, 04 July, 2025
२o८२ असार २० शुक्रबार १५:११:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एसइईमा ४ जिपिए ल्याउने नीलकण्ठका विद्यार्थीलाई नगदसहित सम्मान

चार विद्यालय ४ लाखसहित पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २० शुक्रबार १५:११:oo

धादिङको नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान गरेको छ।

नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयबाट एसइईमा ४ जिपिए ल्याएका पाँचजना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ तथा शतप्रतिशत नतिजा ल्याउन सफल चार विद्यालयलाई नगदसहित सम्मान गरेको हो।

नगरपालिकाले बिहीबार एक समारोहबिच नीलकण्ठ बालमन्दिर माविकी सन्ध्या तिमल्सिना, सुनौलो भैरवी माविकी प्रशंसा श्रेष्ठ, चिल्ड्रेनपार्क आवासीय माविकी प्रिसिला तामाङ तथा न्यु किबो आवासीय बोर्डिङका समीर भण्डारी र आयुष शर्मालाई सम्मान गरेकाे हाे ।

त्यस्तै, शतप्रतिशत नतिजा ल्याउन सफल प्रकाश मावि, लामागुरु महादेव मावि, महेन्द्र मावि र भैरवी माविलाई पनि सम्मान गरिएको छ। यी चार विद्यालयले चार–चार लाख रुपैयाँ प्राप्त गरेका छन्। पुरस्कार प्राप्त रकम शैक्षिक उन्नयनमा खर्च गर्न पाइने बताइएको छ।

जिल्लाभर आठ विद्यार्थीहरूले ४ जिपिए ल्याएकोमा पाँचजना नीलकण्ठ नगरपालिकाभित्रका रहेका छन्। यस उपलब्धिलाई शैक्षिक सुधारको संकेतका रूपमा लिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले शतप्रतिशत नतिजा ल्याउने हो भने जति आवश्यक परे पनि बजेट विनियोजन गर्ने बताए।

नगरपालिकाले विशेष योजना बनाएर काम गरिरहेको नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय रहेको बताए।