१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १o:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठेखोलाको प्रशासकीय भवन बनाउने स्थानको टुंगो लाग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४८:oo

पटकपटक सहमति हुन नसकेको जिल्लाको काठेखोला गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानको टुंगो लागेको छ। गाउँपालिकाको १७औँ अधिवेशनको तेस्रो बैठकले प्रशासकीय भवन गाउँपालिकाको वडा नं. ६ बिहुँ सुल्डाँडाको आम्पाटामा निर्माण गर्ने गरी टुंगो लगाएको छ । 

गाउँपालिकाको प्रशासकीय भवन वडा नं. २ को अक्षेते बजारमा निर्माण गर्ने कि वडा नं. ६ को सुल्डाँडामा निर्माण गर्ने भन्ने विषयमा स्थानीय र जनप्रतिनिधिकै मत बाझिँदा हालसम्म स्थानको टुंगो लाग्न सकेको थिएन। बिहीबारको बैठकले भने सर्वसम्मत टुंगो लगाएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । थापाका अनुसार प्रशासकीय भवन निर्माणको स्थानका लागि पटकपटक छलफल भए तापनि कठिनाइ भएको थियो । बुधबार गाउँपालिकाभित्रका सर्वदलीय संयन्त्रसँगको छलफलपश्चात् बिहीबार सर्वसम्मत स्थानको टुंगो लागेको हो। 

‘गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि पटकपटक छलफल भयो, अघिल्लोपटकका जनप्रतिनिधिले पनि धेरै प्रयास गर्नुभएको रहेछ,’ गाउँपालिका अध्यक्ष थापाले भने, ‘यसपटक पनि हामी कहाँ बनाउने भनेर गत असार १० गते बजेट ल्याएपछि गोप्य मतदान नै गरियो । त्यसमा पनि दुईतिहाइ नआएपछि रोकिएको थियो, गाउँपालिकाभित्रका सबै राजनीतिक दललाई एकै ठाउँमा राखेर छलफल गरेपश्चात् यसको निचोड निस्केर गाउँसभाबाट निर्णय भएको छ ।’ सभाले वडा नं. २ को अक्षेते बजार क्षेत्र र वडा नं. ६ को सुल्डाँडा क्षेत्रलाई गाउँपालिकाको प्रशासनिक केन्द्र मान्ने गरेर निर्णय भएको थापाले बताए। 

गाउँपालिकाको भवन कहाँ बनाउने भनेर असार १० गतेको दोस्रो बैठकमा गोप्य मतदानसमेत भएको थियो। सो दिन ४३ जना गाउँसभा सदस्यमध्ये ४० जना मात्र मतदानमा सहभागी थिए । जसमध्ये २५ जनाले सुल्डाँडा र १९ जनाले अक्षेते बजारका लागि मतदान गरेका थिए। उक्त दिन दुईतिहाइ बहुमत पुग्न नसकेपछि सभा रोकिएर बिहीबारका लागि तोकिएको थियो । गाउँपालिका स्थापनाकालदेखि नै प्रशासीय भवन निर्माणका लागि हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा विनियोजन भए तापनि जग्गा व्यस्थापन र स्थानको टुंगो लाग्न नसक्दा भवन निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । 

गाउँपालिकाको प्रशासनिक भवनको केन्द्रका लागि वडा नं. १ देखि ४ सम्म पाला, भीमपोखरा, तंग्राम र धम्जाले अक्षेते बजार क्षेत्रलाई पहल गरेको थियो ।  वडा नं. ५ देखि ८, माथिल्लो बिहुँ, तल्लो बिहुँ, रेश र लेखानीले सुल्डाँडाका लागि पहल थालेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुल्डाँडामै भवन निर्माण गर्ने माहोल निर्माण गरेका थिए । गाउँपालिकाको सेवा प्रवाहका लागि अति महत्त्वपूर्ण रहेको प्रशासनिक भवनकै विवाद अल्झिँदा धेरै काममा बाधा पर्ने भएकाले दलले सहजीकरण गरेको छलफलमा सहभागी नेपाली कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले बताए ।

दुईवटा स्थानमा छलफल भएको र सहमति हुन नसक्दा लामो समयदेखि टुंगो लाग्न सकेको थिएन । गाउँपालिकाभित्रका सबै राजनीतिक दल र आमनागरिकसँगको छलफलपश्चात् अक्षेते र सुल्डाँडा दुवै क्षेत्रलाई प्रशासनिक केन्द्र मान्ने गरी टुंगो लागेको वडा नं. १ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक खड्बहादुर थापाले बताए । 

स्थानको ठुंगो लागेसँगै अब गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको काम अगाडि बढाउनेछ ।  भवन निर्माणका लागि ६ रोपनी जग्गा व्यवस्थापनको काम अगाडि बढेको छ। प्रतिरोपनी सात लाख रुपैयाँका दरले स्थानीयले आफ्नै पहलमा जग्गा व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ।  भवन निर्माणका लागि जग्गाको विषयमा विवाद हुँदा पालिकाले आफ्नो स्थापना कालदेखि मासिक ७० हजारमा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।