१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o८:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिभरपुलका फुटबलर जोटाको कार दुर्घटनामा निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४o:oo

जोटाले गत महिना मात्रै पोर्चुगलबाट युइएफए नेसन्स कप र लिभरपुलका लागि इंग्लिस प्रिमियर लिग उपाधि जितेका थिए, जुन उनको करिअरको अन्तिम दुई उपाधि बन्न पुग्यो ।

लिभरपुल तथा पोर्चुगिज खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको बिहीबार स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ । उनीहरू चढेको लाम्बोर्गिनी गाडी अर्को गाडीलाई ओभरटेक गर्नेक्रममा अनियन्त्रित भएर सडकबाट बाहिर जाँदा आगो लागेको थियो । आगजनीमै जोटा र सिल्भाको निधन भएको स्पेनिस मिडियाले जनाएका छन् । २८ वर्षीय जोटा र उनका २५ वर्षीय भाइ सिल्भा स्पेनको उत्तर–पश्चिमी सहर समोरानजिक मृत फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा गाडीले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा टायर पड्किएको आशंका गरिएको छ । ‘गाडी पूरै जलेको अवस्थामा थियो । गाडीमा सवार दुवैजनाको जलेर मृत्यु भएको छ,’ स्पेनिस प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा भनिएको छ । जोटाले ११ दिनअघि मात्र प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । जोटाका भाई सिल्भा पोर्चुगलको तल्लो डिभिजन क्लब पेनापिÞmएलबाट खेल्थे ।

प्रिमियर र नेसन्स कप विजेता थिए जोटा
गत सिजनमा जोटा उत्कृष्ट लयमा थिए । उनले दुई महत्वपूर्ण उपाधिसमेत हात पारेका थिए । उनीआबद्ध लिभरपुलले इंग्लिस प्रिमियर लिग जितेको थियो । गत महिना नै पोर्चुगलले दोस्रोपटक नेसन्स कप उपाधि हात पारेको छ । लिभरपुल र पोर्चुगलले उपाधि जित्दा जोटाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लिभरपुलले आफ्नो प्रमुख खेलाडीको कार दुघर्टनामा भएको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । ‘हामीले टोलीका महत्वपूर्ण सदस्य तथा खेलाडी गुमाएका छौँ,’ लिभरपुलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोटा सवार कार दुघर्टनाको खबर पाउँदा स्तब्ध भयौँ ।’  

जोटा सन् २०२० मा उल्भ्सबाट लिभरपुलमा आबद्ध भएका थिए । यसक्रममा उनले लिभरपुललाई तीन प्रमुख उपाधि दिलाए । यसैगरी, पोर्चुगल फुटबल महासंघले पनि जोटा र उनका भाइको निधनप्रति शोक व्यक्त गरेको छ । महासंघका अध्यक्ष पेड्रो प्रोएन्साले भने, ‘हामीले दुई च्याम्पियन गुमायौँ । जोटा राष्ट्रिय टोलीका एक उत्कृष्ट खेलाडी मात्र नभएर प्रेरणादायी व्यक्ति पनि थिए । उनका सहकर्मी र प्रतिस्पर्धीले उनीप्रति सम्मान गर्थे ।’  पाँच वर्षअघि लिभरपुलमा आबद्ध सन् २०२० मा लिभरपुलले जोटा भित्र्याउन ४१ मिलियन पाउन्ड खर्च गरेको थियो । अहिलेसम्म लिभरपुलबाट सबैखाले प्रतियोगितामा गरी उनले १८२ खेलमा ६५ गोल गरेका छन् । उनले अहिलेसम्म एफए कप, लिग कप तथा प्रिमियर लिग उपाधि जिते । सन् २०१७ मा उनी स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट उल्भ्समा आबद्ध भएका थिए । उल्भ्सबाट उनले १३१ खेलमा ४४ गोल गरेका थिए । उल्भ्सले पनि आफ्ना पूर्वखेलाडीको निधनप्रति शोक प्रकट गरेको छ । ‘यो समाचार मुटु नै छियाछिया पर्ने किसिमको हो,’ उल्भ्सले बताएको छ, ‘जोटा क्लबमा रहँदा एक किसिमको माहोल थियो, सबैसँग राम्रो व्यवहार गर्ने खेलाडी थिए ।’ 

सन् २०१९ मा पोर्चुगलबाट डेब्यु
जोटाले सन् २०१९ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । गत ८ जुनमा पोर्चुगलले नेसन्स कप जितेको थियो । जोटाले पोर्चुगलबाट ४९ खेलमा १४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । पोर्चुगल फुटबल महासंघले जोटाको निधनबाट टोलीमा एक प्रमुख खेलाडीको अभाव हुने जनाएको छ । ‘अब जोटाले खेल्ने स्थान अरू खेलाडीले लिन सक्देनन्,’ महासंघले भनेको छ, ‘नेसन्स कप जित्दा प्रमुख खेलाडी अब स्मरणमा मात्र हुनेछ ।’ पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जोटाको निधनको समाचार पत्याउन नसकेको बताए ।