१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिसी यू–१६ इस्ट जोन कप : उपाधि रक्षाका लागि भोलि  सिंगापुरसँग भिड्दै नेपाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२६:oo

साबिक विजेता नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार भएको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको सानदार जित निकाल्दै लगातार दोस्रोपटक फाइनल स्थान पक्का गरेको हो । सिंगापुरले पहिलोपटक हङकङविरुद्ध चार विकेटको जित निकाली नेपालसँगको भेट पक्का गर्‍यो । एसिसी यू–१६ इस्ट जोनमा नेपाल र सिंगापुरबिच दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो । 

यसअघि समूह चरणमा नेपालले सिंगापुरमाथि पाँच विकेटको जित निकालेको थियो । कप्तान विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित छ । नेपालले फाइनल यात्राका क्रममा समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानलाई हराएको थियो । सन् २०२३ को फाइनलमा नेपालले मलेसियालाई हराएको थियो । 

नेपाल बलिङ र ब्याटिङमा उत्कृष्ट
नेपालले मलेसियाविरुद्ध ब्याटिङ र बलिङमा पुन: एकपटक उत्कृष्ट प्रदर्शन गर्‍यो । पहिलो ब्याटिङ गरेको मलेसिया पूरै ५० ओभर टिक्न सकेन । मलेसिया ४३.१ ओभरमा ९० रनमै अलआउट भयो । सहज लक्ष्य पछ्याएको नेपालले केवल ११.४ ओभरमा एक विकेटको क्षतिमा ९२ रन जोड्दै सानदार जित निकाल्यो । उमेर समूहमा नेपाल र मलेसिया एकआपसका चिरपरिचित प्रतिद्वन्द्वी हुन् । सन् २०११ मा एसिसी इलाइट यू–१६ कपको फाइनलबाहेक मलेसियाले नेपालमाथि जित निकाल्न सकेको छैन । 

मलेसियामाथि हावी भइरहेको नेपालले प्रतिओभर ७.८ मा रनरेटमा ब्याटिङ गरेको थियो । मलेसियाविरुद्ध अभय यादव र सुभम खनालले कसिलो बलिङ गरेका थिए । अभयले १० ओभरमा १५ रन खर्चेर चार विकेट लिए । सुभमले १० ओभरमा चार मेडन राखी १२ रन खर्चंदै तीन विकेट हात पारे । कप्तान विपिनप्रसाद र सचिन भट्टले समान एक विकेट हात पारे । 

परिमार्जनको आक्रामक अर्धशतक
सहज लक्ष्य पछ्याएको इनिङ्समा नेपालका लागि ओपनर परिमार्जन यादवले आक्रामक ब्याटिङ गरेका थिए । इनिङ्सको ४.३ ओभरमा नेपालले दोस्रो ओपनर प्रसिद्ध जैसीलाई दुई रनमा गुमाएको थियो । त्यसपछि परिमार्जन र विकेटकिपर श्रीवांश बजगाईंले अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई फाइनलमा पुर्‍याए । परिमार्जनले ३५ बलमा समान पाँच चौका र छक्का प्रहार गरी ५९ रनको योगदान दिए । बजगाईंले २२ बलमा पाँच चौका प्रहार गर्दै २३ रन बटुले । 

नेपालले आठ अतिरिक्त रन पाएको थियो । मलेसियाको बलिङमा एक मात्र विकेट नागेस्वरनले लिए । मोहमद अमिरुल प्रतिओभर १४ रन खर्चिंदा पनि विकेटविहीन भए । बजगाईंले मोहमदको ओभरमा फाइन लेगमा विजयी चौका प्रहार गरेका थिए । 

नेपाली बलरसामु मलेसिया निरीह
घरेलु मैदान तथा समर्थकबिच पहिलो ब्याटिङ गरेको मलेसियाले नेपालविरुद्ध सोचेजस्तो ब्याटिङ गर्न सकेन । समूह ‘बी’ उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको मलेसियाका लागि मोहमद मुनले मात्र सर्वाधिक ३८ रनको योगदान दिए । मलेसियाको ब्याटिङमा उनी नै अन्तिम विकेटका रूपम आउट भएका थिए । मोहमदले ३८ रन बनाउन ७१ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिन सकेनन् । 

मलेसियाका तीन खेलाडी शून्यमा आउट भए । मलेसियाका ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मोहमदबाहेक अहमेद फलिकले मात्र चौका प्रहार गरे । इनिङ्सको २.४ ओभरमा मलेसियाले पहिलो विकेटका रूपमा अजिब वाजलाई गुमाएको थियो । सोही ओभरको अन्तिम बलमा मोहमद अहनफले आफ्नो विकेट गुमाए । इनिङ्सको एक समय मलेसिया २३–३ को स्थितिमा थियो । 

नेपाली बलरले कसिलो बलिङ गर्दा मलेसियाले २६.६ ओभरमा ७ विकेट गुमाएर ४६ रन बनाएको थियो । इनिङ्सको २७औँ ओभरसम्म मलेसियाको रनरेट २ भन्दा तलै थियो । डिआज पाट्रो र मोहमद नुर एडमले चौथो विकेटका लागि ४७ बलमा १९ रन जोडे । अजाम डानियल र नागेस्वरनले ४५ बलमा सात रनको साझेदारी गरेका थिए । 

सिंगापुर चार विकेटले विजयी
दोस्रो सेमिफाइनलमा सिंगापुरले पहिलोपटक हङकङमाथि चार विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । प्रत्युत्तरमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको नोक्सानीमा १७३ रन बनायो । सिंगापुरको जितमा स्वरित ठाकुरले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ७५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । ओपनर तथा विकेटकिपर राहन अस्टिनले ४३ बलमा २५ रन बनाए । हङकङको ब्याटिङमा रेयांस शर्माले ४६ तथा प्रितकिशोर कुमारले ६२ बलमा ४२ रनको योगदान दिए । सिंगापुरका युभान पाण्डेले नौ ओभरमा ३६ रन खर्चेर चार विकेट लिए ।