१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o६:५८:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिमाल चढ्न थाले तराईका रोग 

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५८:oo
  • तराईमै सीमित मानिएका डेंगु, मलेरिया, कालाजार, स्क्रव टाइफस, जापानिज इन्सेफ्लाइटिसलगायत रोगहरू जलवायु परिवर्तन, बसाइँसराइ र यातायातका कारण पहाड मात्रै होइन हिमाली जिल्ला पनि उक्लिएका छन् 

पाँच वर्षअघिसम्म तराईको रोग भनेर परिचित डेंगु अहिले पहाड मात्रै होइन, हिमाली जिल्लामा पनि देखिन थालेको छ । सरकारी तथ्यांकअनुसार दुई वर्षअघि नै डेंगु ७७ वटै जिल्लामा देखिन थालेको थियो । यो वर्ष पनि अहिलेसम्म ७३ जिल्लामा संक्रमण देखिइसकेको छ । डोल्पा, हुम्ला, मनाङ र रसुवामा भने यो वर्ष अझै देखिएको छैन । 

गत वर्ष देशभर ४६ हजारजनामा डेंगु संक्रमण देखिएको थिए । तीमध्ये करिब १७ हजार पाँच सयजना पहाडी जिल्लाका थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखा प्रमुख डा. हेमन्त ओझाका अनुसार गत वर्ष डेंगुका कारण १५ जनाको ज्यान गएकोमा ६ जना पहाडी क्षेत्रका थिए । यो वर्ष जनवरीदेखि २ जुलाईसम्म ७३ जिल्लाका एक हजार ६७३ जनामा संक्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । 

‘पहिले डेंगुलाई तराईको रोग मानिन्थ्यो । जहाँ लामखुट्टे हुन्छ, त्यहीँ डेंगु फैलिन्छ भन्ने भनाइ थियो,’ डा. ओझाले भने, ‘तर, अहिले डेंगु पहाडमा समेत व्यापक रूपमा देखिन थालेको छ । दुई वर्षअघिदेखि नै यो रोग ७७ वटै जिल्लामा पुगेको थियो । हिमाली जिल्लासमेत अब अछुतो रहेनन् ।’ उनका अनुसार यो वर्ष १० हजारभन्दा बढीमा डेंगु संक्रमण देखिन सक्ने प्रक्षेपण गरिएको छ । यद्यपि, परीक्षणबाहिर पनि सयौँ केसहरू रहेको हुन सक्ने उनको भनाइ छ । तर, यसलाई रोक्न समुदायस्तरमा जागरुकता र डेंगु नष्ट अभियानको खाँचो रहेको डा. ओझाको भनाइ छ । 

डेंगु मात्र होइन, कुनै समय तराईका जिल्लामा मात्रै पाइने मलेरिया, कालाजार, स्क्रव टाइफस, जापानिज इन्सेफ्लाइटिसलगायत रोगहरू पहाडी जिल्लामा समेत फैलिएका छन् । वातावरणीय परिवर्तन र बसाइँसराइलगायतका कारण यी रोग पहाडतिर देखिएको चिकित्सक बताउँछन् ।

तराईमा फैलने रोगका रूपमा चिनिने मलेरिया (औलो रोग)को दायरा पनि फराकिलो भएको छ । इडिसिडीका अनुसार सन् २०१९ सम्म तराईमा मात्रै देखिएको मलेरिया त्यसयता पहाडमा जिल्लाहरूमा देखिन थालेको छ । ‘मलेरिया बढी तराईको रोग भनेर चिनिन्थ्यो । तर, यो पहाडमा पनि देखिएको छ । हावापानीमा देखिएको परिवर्तनले काम गरेको छ,’ डा. ओझाले भने । इतिहास हेर्दा धेरै वर्षअघि पहाडी जिल्लामा देखिएको मलेरिया बिचमा हराएको थियो । तर, सन् २०१९ पछि फेरि पहाडमा देखिन थालेको छ । सन् २०२४ मा नेपालमा एक हजार ४३ जनामा मलेरिया देखिएको थियो, त्यसअघि २०२३ मा ५२८ जनालाई मलेरिया भएको थियो । सन् २०२५ लागेयता डेढ सय हाराहारीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मस्तिष्क ज्वरो नै आउने खतरनाक रोग जापानिज इन्सेफ्लाइटिस पनि तराईबाट पहाड पुगेको छ । दुई वर्षअघि यो रोगले नेपालमा भयावह रूप लिएको थियो । जसका कारण ४० जनाभन्दा बढीको ज्यान गएको इडिसिडीले जनाएको छ । त्यसवेला एक हजार हाराहारीमा संक्रमण भएको थियो । यसको संक्रमणले अत्यधिक टाउको दुख्ने, कम्पन हुने, पक्षघात हुने र अन्तिममा मृत्युसमेत हुन सक्छ । 

यस्तैगरी, भित्री मधेशका जिल्लाहरूमा पाइने स्क्रव टाइफस अहिले ती जिल्लामा मात्रै सीमित छैन । यो देशका करिब ५५ जिल्लामा पुगिसकेको छ । त्यसमध्ये २० भन्दा बढी पहाडी जिल्लासमेत छन् । डा. ओझाका अनुसार यो रोग चार वर्षअघिदेखि नै पहाडी जिल्लामा पुगेको थियो । गत वर्ष मात्रै पहाडी जिल्लाका सयजनामा यो रोग देखिएको थियो । ‘यो तराईमा हुने भित्री मधेशमा बढी थियो, अझ चितवनबाट यो रोग देखिएको थियो, तर पछिल्ला वर्षहरूमा यसका बिरामी बढेका छन्,’ डा. ओझाले भने । 

भुसुनाको टोकाइबाट सर्ने खतरनाक रोग कालाजार (कालाज्वर) पनि पहाडतिर फैलँदो छ । यो रोग आठ वर्षअघि तराईमा मात्रै थियो भने पछिल्लो सात वर्षमा पहाडमा समेत पुगेको इडिसिडीको रेकर्डमा उल्लेख छ । परजीवीको टोकाइबाट हुने रोगमध्ये यसलाई बढी खतरनाक मानिन्छ । इडिसिडीको तथ्यांकअनुसार हरेक वर्ष सात सय हाराहारीलाई कालाजार हुन्छ । गत वर्षको तथ्यांकअनुसार यो रोग ५० भन्दा बढी जिल्लामा पुगिसकेको छ । ‘पूर्वी नेपालमा मात्रै सीमित रहेको कालाजार देशैभरि फैलँदो छ, यो अहिले कालीकोट र थुप्रै पहाडी जिल्लाहरूमा पुगेको छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ घिमालले भने, ‘जलवायु परिवर्तनका कारण तराईका अधिकांश रोगहरू पहाड र हिमालसम्म पुगेका छन् ।’ 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कालाजार (कालाज्वर) तराईबाट पहाडतिर फैलिएको पहिलो रोग मानिन्छ । ‘कालाजार पहिलोपटक पहाडतिर फैलिँदा म अचम्मित भएको थिएँ । अहिले हिमालमा पनि पुगेको छ,’ उनले भने ।

डा. पुनका अनुसार बसाइँसराइ, बढ्दो ओहोरदोहोर, यातायातका साधन, जलवायु परिवर्तनलगायतले तराईमा देखिने रोगहरू पहाडमा जाँदै छन् । ‘तराईमा देखिने रोगका किट तथा जीवाणु मानिससँगै पहाड पुगे र आफूलाई पहाडको हावापानीमा बचाउने गरी विकसित गरे,’ उनले भने, ‘सबैभन्दा मुख्य भूमिका यातायातले खेल्यो । पहिले–पहिले मानिस सीमित रूपमा हिँड्थे । तर, अचेल ओहोरदोहोर बढ्यो र त्यससँगै रोग पनि फैलिए । अधिकांश रोग पहाड पुग्नुको कारण यही हो ।’ 

डा. ओझाले पनि तापक्रम बढेपछि तराईका जटिल रोग पहाडमा पुग्न थालेको र पहाडमा समेत अनेकौँ रोगको जोखिम बढेको बताए । ‘कुनै समय धेरै प्रकारका रोग तराई तथा भित्री मधेशमा सीमित थिए । तर, अहिले पहाडमा पनि ती रोगहरू फैलन थाले,’ डा. ओझाले भने, ‘कुनै समय पहाड रोगको हिसाबले पनि सुरक्षित थियो । तर, जलवायु परिवर्तन, मानिसको लापरबाही, बसाइँसराइ र सरसफाइमा ध्यान नदिँदा तराईका रोग पहाडमा सरेका हुन् ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का उपेक्षित उष्णप्रदेशीय रोग विशेषज्ञ डा. प्रकाश शाक्यले जलवायु परिवर्तनका कारण तराई क्षेत्रका रोगसमेत पहाडी जिल्लातिर फैलँदो रहेको बताए । ‘पछिल्लो समय नेपालमा तापक्रम बढ्दो छ । डेंगु र अन्य रोगको संक्रमण पनि यही कारण बढेको हो । एक ठाउँमा पाइने रोग पछिल्लो समय अर्को ठाउँमा समेत फैलिएको पाइन्छ । यो मौसमी प्रभाव पनि हो । डेंगु त विश्वमा दु्रत गतिमा फैलिएको संक्रमण हो,’ उनले भने । 

डा. पुनका अनुसार कीटजन्य रोगमा अध्ययन–अनुसन्धान र टेस्ट पुगेको छैन । भविष्यमा हुने संक्रमण रोक्न अध्ययन–अनुसन्धान जरुरी छ । नेपालमा रोग तथा स्वास्थ्य जटिलताबारे अध्ययन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)भए पनि जटिल रोगबारे अनुसन्धान र अध्ययन प्रभावकारी हुन सकेको छैन । एनएचआरसीका सदस्यसचिव डा. प्रमोद जोशीले पछिल्ला वर्षहरूमा तराईका रोग पहाडमा मात्रै नभएर पूर्वका रोग पश्चिम र पश्चिमका रोग पूर्वमा पुगेको बताए । उनका अनुसार रोग सार्ने जीवाणु तथा भाइरस जहाँ पुग्छ त्यहाँ एन्टिबडी बनाउनेसमेत गरेको छ । ‘हामीले तराईका रोग कसरी पहाड पुगे र रोग कसरी पूर्व–पश्चिम भए भन्नेबारे ल्याब परीक्षण पनि गरिरहेका छौँ, यसबारे अध्ययन पनि भइरहेको छ,’ उनले भने, ‘तराईमा ४०–४५ डिग्रीमा आनन्दसँग बस्ने र बाँच्ने डेंगुले पहाडको २०–२५ डिग्रीमा पनि बाँच्न सक्ने गरी आफूलाई विकास गरेको छ, अन्य थ्रुपै रोगका जीवाणुहरू ठाउँ परिवर्तन भए पनि आफूलाई अनुकूल बनाइरहेका छन्, यो निकै चुनौती र जोखिम हो ।’ 

नेपालमा सन् २०१३ मा चिकनगुनिया भाइरस पनि देखिएको थियो । उनका अनुसार सुरुमा तीनवटा केस देखिएका थिए । ती केस काठमाडौंमै देखिएका थिए । तर, लामखुट्टेको टोकाइबाट हुने यो संक्रमण तराईका जिल्लामा झन् व्यापक अनुमान गरिए पनि अध्ययन र अनुसन्धान भने हुन सकेन । ‘पहिलोपटक यो २०१३ तिर देखिएको थियो, मैले नै पत्ता लगाएको थिएँ, तर पछि त्यो रोग छ–छैन भन्नेबारे सरकारले अध्ययन गरेन,’ डा. पुनले भने, ‘केही वर्षदेखि नियमित परीक्षण गरिएकै छैन, टेकुमा पनि यसको परीक्षण छैन, तर यो रोग सुरुमा तराईमा थियो र पहाडतिरसमेत पुगेको थियो, तर यो अझै पनि भित्रभित्रै फैलिएको हुन सक्ने भए पनि टेस्ट नै गरिएको छैन ।’ उनका अनुसार यो रोग विदेशी मुलुकबाट नेपालसम्म आएको र सुरुमा तराईका जिल्ला हुँदै पहाडसम्म पुगेको अनुमान गरिन्छ । 

यस्तै, डेंगु गराउने एसिड जातको लामखुट्टेको टोकाइबाट हुने जिका भाइरसबारे पनि पछिल्लो समय अध्ययन र अनुसन्धान छैन । अस्पतालहरूमा यसको जाँच पनि हुँदैन । यो संक्रमणका कारण कुनै समय ब्राजिलमा टाउको साना भएका बच्चाहरू जन्मिएका थिए । तर, नेपालमा पनि यो रोग हुन सक्ने अनुमान चिकित्सकले गरे पनि यसको परीक्षण र अध्ययन भएको छैन । डा. पुनका अनुसार यो संक्रमण पनि भित्रभित्रै हुन सक्ने अनुमान गरिए पनि यसको अध्ययन भएको छैन । 

डा. पुनका अनुसार नेपालमा अर्को सरुवा रोग वेस्ट नायल भाइरस पनि छ । तर, यसमा अध्ययन भने हुन सकेको छैन । यो विदेशी भाइरस भएका कारण यसको नाम पनि विदेशी भाषामै छ । कुनै समय यो युरोप र अमेरिकामा व्यापक फैलिएको थियो । तर, नेपालीहरू पनि देश–विदेश गरिरहेका कारण यो रोग पनि नेपाल भित्रिएको अनुमान गरिए पनि यसबारेमा परीक्षण र अध्ययन भएको छैन । 

तराईका विषालु सर्प पहाडतिर 
तराईमा पाइने करेत, गोमन, बाघे र रसेल भाइपर प्रजातिका सर्प निकै खतरनाक मानिन्छन् । यी सर्पहरूको टोकाइपछि तत्काल उपचार हुन नसके पक्षघात तथा मृत्यु नै हुन्छ । तर, यी सर्प अहिले तराईमा सीमित छैनन् । पहाडमा समेत पुगिसकेका छन् । पछिल्लो समय यस्ता विषालु सर्प पहाडतिरसमेत उक्लिन थालेकाले सचेत हुनुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । उनका अनुसार पहाडी क्षेत्रमा समेत गर्मी बढ्न थालेपछि तराईका गोमन, करेत, बाघेजस्ता सर्प पहाड चढ्न थालेका छन् । 

संक्रामक रोगको उन्मूलन कठिन
नेपालमा नसर्ने रोगको तुलनाका संक्रामक रोगको भार/क्षति कम छ । तर, दीर्घकालीन रूपमा यस्ता रोग उन्मूलन गर्न र निर्मूल पार्न भने चुनौती छ । परिषद्का वरिष्ठ अनुसन्धान अधिकारी डा. धिमालका अनुसार नेपालमा कुनै एउटा सिजनमा संक्रामण रोगले सताएपछि त्यो केही समयमै घट्ने र नियन्त्रणमा आउने अवस्था छ, तर यहाँ नसर्ने रोग ह्वात्तै बढेको छ । सबै प्रकारका रोगको तथ्यांक र मृत्यु हेर्दा नेपालमा नसर्ने रोगका कारण ७३ प्रतिशतको ज्यान जान्छ । ‘नसर्ने रोगका कारण सबैभन्दा बढी सहरी जनसंख्या प्रभावित छ, सहरी क्षेत्रका मानिसमा शारीरिक अभ्यास र शरीरलाई स्वस्थ राख्न ध्यान दिइएको पाइँदैन,’ उनले भने, ‘कुनै समय संक्रामक रोग तराईमा बढी थियो, तर जलवायु परिवर्तनका कारण पहाडतिर सर्‍यो, पछिल्ला वर्षहरूमा उच्च भूभागमा पनि डेंगु र मलेरिया बढेको देखियो ।’