
कांग्रेस केन्द्रीय सदस्यहरूले ०८३ मंसिरअगावै आयोजना गर्ने गरी महाधिवेशनको मिति तोकिएको कार्यतालिका बनाउन दबाब दिएका छन् । केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले महाधिवेशनको स्पष्ट कार्यतालिकासहित मिति तोेक्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाएका हुन् ।
संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आगामी मंसिरभित्र महाधिवेशन आयोजना गर्न सभापति शेरबहादुर देउवाले आलटाल गरेको आशंका गर्दै हुन नसक्ने हो भने पदाधिकारीले कारण र औचित्य पुष्टि गर्न बैठकको पहिलो दिनमै जवाफ माग गरेका थिए । तर, मंगलबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले भने आगामी मंसिरभित्र क्रियाशील सदस्यताको अन्तिम टुंगो नै नलागेकाले व्यावहारिक हिसाबले असम्भव देखिए पनि अहिल्यै मिति तोकेर जान उपयुक्त हुने धारणा राखेका थिए ।
‘क्रियाशील सदस्यता टुंगो लगाउने काममा ढिलाइ भएका कारण अब आउने मंसिरभित्र व्यावहारिक हिसाबले पनि महाधिवेशन आयोजना सम्भव छैन, तर अहिल्यै ०८३ मंसिरभित्र महाधिवेशन आयोजना गर्ने गरी यही बैठकबाट मितिको निर्णय गरौँ,’ केन्द्रीय सदस्य जिपछिरिङ लामाले बैठकमा भने, ‘एक वर्ष थप्न पाइने विधानकै व्यवस्था छ, थप्न सकिन्छ, तर यहीबिचमा पुराना सदस्यता नवीकरणको काम टुंगो लगाएर महाधिवेशनको तयारी गरौँ ।’
बैठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौला र मीन विश्वकर्माले पनि ०८३ मंसिरभित्र आयोजना हुने गरी केन्द्रीय समिति बैठकले साझा धारणा बनाएर जानुपर्ने विचार राखेका थिए । संग्रौलाले महाधिवेशनको स्पष्ट कार्यतालिकासहित मिति तोक्नुपर्ने विचार राखिन् । प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले अबको मंसिरभित्र सम्भव नभए पनि ०८३ मंसिर अन्तिम समयसीमा भएकाले महाधिवेशन कसैले टारेर पनि टार्न नसक्ने बताए । ‘शेखर दाइले अलिक भावुक भएर पनि नेतृत्वलाई लक्षित गरेर पनि प्रश्नहरू उठाएर जवाफ माग्नुभएको छ, तर ०८३ मंसिरउता महाधिवेशन टर्दैन, त्यसअगावै हुन्छ,’ उनले भने ।
कोइरालाले ०८२ मंसिरमै महाधिवेशन हुनुपर्ने धारणा राखेका थिए । ‘हामी अहिले महाधिवेशनको वर्षमा छौँ । ०८२ को मंसिर महिनामै १५औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुपर्यो । पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ,’ कोइरालाले सोमबार सभापति देउवासँग जवाफ माग्दै प्रश्न गरेका थिए ।
नेता कोइरालाले आफूले १४औँ महाधिवेशनमा पराजित भएलगत्तै भागबन्डाको राजनीति गर्दिनँ भनेर अडिए पनि त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानिएको बैठकमा सुनाएका थिए । ‘मैले आज बाध्य भएर भनिरहेको छु । पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४औँ महाधिवेशनमा पराजित भएलगत्तै म भागबन्डाको राजनीति गर्दिनँ भनेर भनेको थिएँ । सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ । मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो,’ उनको भनाइ थियो । उनले तरुण दल, नेविसंघ, महिला संघजस्ता भ्रातृ संगठनमा महाधिवेशन गराउन ढिलाइ भएको भन्दै कोइरालाले ध्यानाकर्षण गराए ।
बैठकमा गृहमन्त्रीसमेत रहेका रमेश लेखकले एमालेसँगको अहिलेको गठबन्धन तोड्ने कुरा कांग्रेसको हितविपरीत हुने धारणा राखे । सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै कतिपय केन्द्रीय सदस्यले असन्तुष्टि पोखेपछि जवाफ दिँदै लेखकले अहिलेको गठबन्धनको विकल्प खोज्नु उपयुक्त नहुने धारणा राखेका थिए । ‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौँ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन ।’ प्रचार विभाग प्रमुख मिन विश्वकर्माले सरकारको कामबारे असन्तुष्टि व्यक्त भए पनि आलोपालोबाटै केही समयभित्र कांग्रेसले नेतृत्व पाउन लागेका वेला अर्कैतिर गठबन्धन गर्ने दिशामा लाग्नु मुलुक र कांग्रेस दुवैका लागि घातक हुने विचार धेरैले प्रकट गरेको जानकारी दिए । ‘सांसदहरूले पनि सरकारविरुद्ध जथाभावी बोल्ने काम बन्द गर्नुपर्छ, संसदीय दलको ह्विप र नीतिबाहिर गएर बोल्न पाइँदैन, अबदेखि लगाम लगाउनुपर्छ भन्ने धेरैको धारणा आएको छ,’ उनले भने, ‘कांग्रेसले पहिला आफूलाई सुधार गरे मात्र सरकारले पनि ठिक ढंगले काम गर्न सक्छ भन्ने नै बैठकको साझा निष्कर्ष हो,’ उनले भने ।
मंगलबारको बैठकमा लामा, विश्वकर्मा, संग्रौलासहित रमेश रिजाल, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, देवेन्द्रराज कँडेल, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपालीले धारणा राखेका थिए । त्यस्तै, उदयशमशेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोद चौधरी, गुरु बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले पनि धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । अधिकांश केन्द्रीय सदस्यले नेविसंघ, तरुण दलसहित भ्रातृ संगठनहरूको महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् । विघटन गरेर तदर्थ समिति बनाउनुको सट्टा महाधिवेशन गर्न नदिइनु गल्ती भएको कतिपयको धारणा थियो ।
शेखरको आरोपमा चौधरीको प्रतिवाद
सांसद विनोद चौधरीले केन्द्रीय सदस्य बन्ने आफ्नो योग्यताबारे डा. शेखर कोइरालाले सोमबार उठाएको प्रश्नको प्रतिवाद गरे । ‘कांग्रेसमा निजी क्षेत्रका हामीजस्ता मान्छेको भूमिका के हो ? सम्पन्न नेपाल बनाउने एजेन्डा दुनियाँका अगाडि पस्किने क्रममा यस्ता व्यक्तिहरूलाई भित्र्याउने हो कि रोक्ने हो ? गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्ने, हृदयेश त्रिपाठीका लागि बुथबुथमा मान्छे राखेर कांग्रेसका शीर्ष नेतालाई तथानाम गाली गरेर हराउन हरप्रकारको तिकडम गर्ने लुम्बिनीका महामन्त्री विक्रम खनालजस्तालाई बोक्ने नेताले भोलिको कांग्रेसको नेतृत्व कसरी गर्छ ?’ शेखरलाई लक्षित गर्दै चौधरीले भने ।